काठमाडौं । अब थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरुले आवधिक ऋणपत्र जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘घ वर्गका इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका अनुसार निश्चित शर्त पुगेका थोक लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत रकम बराबरको ऋणपत्र जारी गर्न पाउने छन् ।
सञ्चित नोक्सानी बाँकी नरहेका थोक कारोबार गर्ने लघुवित्तहरुले ऋणपत्र जारी गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार ४ वटा थोक कारोबर गर्ने लघुवित्तले ऋणपत्र जारी गर्न पाउने भएका हुन् ।
हाल संचालनमा रहेका ७१ लघुवित्तमध्ये आरमएडीसी, आरएसडीसी, फर्स्ट माइक्रोफाइनान्स र सानाकिसान लघुवित्तले मात्रै थोक कारोबार गर्दै आएका छन् ।
ऋणपत्र जारी गर्ने स्वीकृतिका लागि लघुवित्तहरुले राष्ट्र बैंकमा निवेदन पेश गर्नुपर्ने छ । ऋणपत्रको अवधि, ऋणपत्रमा प्रदान गरिने वार्षिक ब्याजदर र ब्याज भुक्तानी गर्ने अवधि तोकिएको हुनुपर्ने राष्ट्र बैंकको शर्त छ ।