काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) गर्न प्राविधिकहरु नेपाल आइपुगेका छन् । क्यालिब्रेशन फ्लाइटको अनुमति पाएको थाइल्याण्डको एरो थाईका प्रतिनिधिहरु आइतबार नेपाल आइपुगेका हुन् ।
एरो थाईका प्रतिनिधसँगको छलफपछि क्यालिब्रेशन फ्लाइटको मिति तय गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छ ।
क्यालिब्रेशन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने प्रक्रिया हो । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्नुपर्छ ।
एरो थाई थाइल्याण्डको प्रतिष्ठित हवाई कम्पनी हो । थाई एयरवेजका लागि एटीसीलगायत प्राविधिक जनशक्ति एरो थाइले उपलब्ध गराउने गरेको बताइन्छ ।
कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष नै उद्घाटन गर्ने भनिएको उक्त आयोजना केही बिलम्ब भएको थियो । परीक्षण उडान गरेपछि अन्तर्राष्ट्रिय वायुसेवालाई नियमित उडानका लागि आह्वान गरिने प्राधिकरणको भनाइ छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने जनाइएको छ ।
गौतमबुद्ध विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को सुरूआतबाट सञ्चालनमा ल्याइने जनाइएको थियो । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरूपमा प्रगति भयो ।
पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो । प्राविधिक कारण ढिलाइ भएको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब बनाएको हो ।
विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको उक्त आयोजनाका लागि दुवै चरणमा गरी ७ अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ ।
कुल ४५ मिटर चौडाइ र ३ हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।