पुर्ख्यौली बिँडो थाम्दै अघि बढेका प्रथमराज, जसले बनाउँछन् ७५ लाखसम्म पर्ने काठको मूर्ति

काठमाडौं । सामान्तया हाम्रो समाजमा पूर्खाले गरेको पेसा भावि पुस्ताले गर्न हुँदैन भन्ने मान्यता छ । बाबुआमाले आफू जे गर्छन, त्यो आफ्ना छोराछोरीले नगरे हुन्थ्यो भन्ने सबैको चाहना देखिन्छ ।

 

तर, समाजमा केही यस्ता व्यक्ति पनि हुन्छन्, जसले पुर्ख्यौली पेसालाई नै आफ्नो मुख्य पेसा बनाएका छन् । त्यस्तैमध्येका एक हुन्  काठमाडौंको  धुम्बाराहीका प्रथमराज बज्रचार्य ।

 

बज्रचार्य यस्ता व्यक्ति हुन, जो आफ्नो हजुरबुवाको पालादेखि सुरु हुँदै आएको व्यवसायलाई निरन्तरता दिँदै आएका छन् । उनको तीन पुस्तादेखि मूर्तिकला (हजुरबुबा धातूका मूर्ति, बुबा र उनी काठका मूर्ति) लाई नै आफ्नो मुख्य पेसा बनाउँदै आएका छन् ।

 

उनको परिवार तीनपुस्तादेखि मूर्तिकलामा रमाउँदै आएका छन् । आफू पनि मूर्तिकलामा रमाउन नै जन्मिएको उनी बताउँछन् । ‘मेरो हजुरबुबाले गर्नुभएको काम बुबा हुँदै अहिले मसम्म आइपुगेको पुर्खाले सुरु गरेको कामलाई निरन्तरता दिन सक्नु पनि ठूलो कुरा हो, म त काष्ठकलामा नै रमाउँन जन्मेको जस्तो लाग्छ,’ उनी भन्छन् ।

४१ वर्षीय प्रथमराज आफू जन्मेको २ वर्षदेखि काष्ठकलामा रमाउँदै आएको बताउँछन् । ‘म २ वर्षको हुँदादेखि बुबा काम गर्ने ठाउँमै खेल्थें रे । बुबाले काम गर्ने औजार चलाउँथें रे । ठूलो हुँदै जाँदा त्यसमै मेरो मन लोभियो,’ उनले भने ‘ काठसँग मेरो माया यति गहिरियो कि अब त काष्ठकला छोडेर अरु पेसामा रमाउनै सक्दिन ।’

 

उनी हजुरबुबाले काम गरेको देखेर बुबाले सिक्नुभएको र बुबाबाट आफूले सिकेको उनी बताउँछन् । ‘मेरो हजुरबुबाले गर्नुभएको काम मेरो बुबाले गर्नुभयो, अहिले त्यो काम म गर्दै आएको छु । आफ्ना अभिभावकले गरेको काम हामी आफूले गर्नुपर्छ । अभिभावकले गरेको काम छोराछोरीले गर्नुहुँदैन भन्नु हुँदैन,’ बज्राचार्यले भने ।

 

एउटै मूर्ति बनाउन ७ वर्ष लाग्यो

 

विगत २३ वर्षदेखि काष्ठकलामा रमाउँदै आएका बज्राचार्य काष्ठकला सिक्न तथा मूर्ति बनाउन धैर्यता चाहिने बताउँछन् । आफूले (फस्कामिनी)को एउटा मूर्ति बनाउन ७ वर्षसम्म लागेको अनुभव सुनाउँदै बज्राचार्य भन्छन्, ‘धैर्य नभई मूर्ति बनाउन सकिँदैन ।’

उनका अनुसार सामान्यतया एउटा मूर्ति बनाउन कम्तीमा एकहप्तादेखि वर्षौंसम्म लाग्ने गरेको छ । ५ वर्षअघि वर्ल्ड उड डेमा प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले बनाएको झाँक्रीको मूर्ति उनले अहिलेसम्मकै छोटो समयमा बनाएको मूर्ति हो रे । त्यो मूर्ति उनले जम्मा चार दिनमा बनाएका थिए । त्यसैगरी, तीन वर्षअघि देवदहमा राष्ट्रिय मूर्तिकला कार्यशालामा १० दिनमै स्टारभिङ्ग बुद्धको अर्धकट्टी, मूर्ति बनाएका थिए । यी बाहेक सबै मूर्ति निर्माणको लागि लामो समय लाग्ने गरेको उनले बताए ।

 

८ वर्षकै उमरदेखि आफूले मूर्ति बनाउन सुरु गरेको बज्रचार्य बताउँछन् । ‘मैलै ८ वर्षको उमेरमै मूर्ति बनाएको थिएँ । सोबेला बुबालाई कर गरेर सिकाउन लगाएर बुद्धको मूर्ति बनाएको थिएँ । सो नै मेरो जीवनको पहिलो मूर्ति हो,’ उनी भन्छन् ।

 

हालसम्म उनले गणेश, तारा, बुद्ध, मञ्जुश्री, महाकाली लगायतका मूर्ति बनाएका छन् । साथै, झ्याल, ढोका लगायतको फ्रेममा पनि बुट्टा भर्दै आएका छन् ।

 

‘आम्दानी राम्रो छ, छोराछोरीलाई पनि यही सिकाउँछु’

 

ती पुस्तादेखि काष्ठकला व्यवसाय गर्दै आएका बज्रचार्य यो पेसामा आम्दानी राम्रो रहेको बताउँछन् । ‘मूर्ति बनाउने काम नै हाम्रो परिवारको मुख्य आम्दानीको स्रोत हो । बुवाले हाम्रो परिवार यही मूर्ति बनाएर पाल्नुभयो,’ उनी भन्छन्, ‘मूर्ति बनाउन जान्ने कालीगढको कमाइ राम्रो हुन्छ । आम्दानीसँगै आफ्नो कला देशविदेश पुग्छ । यसले मनमा खुशी र आनन्द दिन्छ ।’

आफूले बनाएको मूर्ति ७०० रुपैयाँदेखि ७५ लाख मूल्य बराबरको सम्मको भएको बताउँछन् । ‘मैलै सबैभन्दा पहिला बनाएको मूर्ति ७०० रुपैयाँमा बेचेको थिएँ । अहिले ७५ लाखसम्म पर्ने मूर्ति बनाउँछु,’ उनले भने ।

 

कोभिडको समयमा मासिक १ लाखसम्मको काष्ठकलाको व्यापार भएको बताउने उनी कोभिडभन्दा अगाडि मासिक २ लाखसम्म आम्दानी गर्ने गरेको उनी बताउँछन् । कोभिडभन्दा अगाडि ठमेलमा ग्यालरीमा उनले आफ्नो कलाको व्यापार गर्दै आएका थिए भने हाल घरबाटै व्यापार गर्दै आएका छन् ।

 

आम्दानी राम्रो हुने भएकाले यस क्षेत्रमा नयाँ पुस्ता लाग्नुपर्ने उनको भनाइ छ । ‘यस पेसामा कमाइ राम्रो छ । अहिले मासिक २० हजार कमाउन लाखौं युवा विदेशिएका छन् । राम्रोसँग सीप सिकेर काम गर्ने हो भने यहीँ बसेर पनि आकर्षक कमाइ गर्न सकिन्छ,’ उनी भन्छन् ।

एउटा मूर्ति बनाउन ७ वर्ष सम्म लागेको अनुभव सुनाउने बज्राचार्य एउटा मूर्ति बनाउँन कति खर्च लाग्छ भन्दा पनि मेहनत र धैर्यता कति चाहिन्छ भन्नेमा जोड दिन्छन् । ‘हल्लाखल्लामा काम गर्न सकिँदैन, दिमाग शान्त हुनुपर्यो, एउटै काम पूरा गर्न वर्षौ लाग्न सक्छ, त्यसको आधारमा मूर्ति बनाउन कति खर्च लाग्छ भन्ने कुरा गौण हुन्छ,’ उनी भन्छन्, ‘तर सन्तुष्टि सबैभन्दा ठूलो कुरा हो, म यो पेसामा सन्तुष्ट छु ।’

 

आफू यही पेसाको लागि जन्मिएको बताउने उनी बाटोमा हिँड्दा, घरमा बस्दा जहाँ भए पनि सिक्नेक्रम जारी रहेको बताउँछन् । २३ वर्षको मूर्ति कलाको अनुभव लिएका उनी काष्ठकलाको काम हेर्दा सामान्य देखिए पनि काम भने कछुवाको गतिमा निरन्तर गर्नुपर्ने बताउँछन् । हालसम्म आफूले कति मूर्ति बनाए भन्ने लेखाजोखा नै नभएको उनले बताए ।

 

आफ्ना सन्तानलाई समेत यही पेसा सिकाउने उनको रहर छ । ‘बाजेले अपनाएको पेसा बुबाहुँदै मसम्म आइपुग्यो, मेरा नि छोराछोरी छन् तिनीनहरुलाई पनि यही पेसा नै सिकाउँछु,’ उनी भन्छन् ।

विशेषतः काष्ठकलाको लागि प्रदर्शनीको अभाव सँगै काठको अभाव हुने गरेको बज्रचार्य बताउँछन् । ‘मूर्तिको आकार अनुसार काठको साइज पनि ठूलो हुन्छ । आवश्यकता अनुसार काठ समयमै उपलब्ध हुन नसक्दा ब्ल्याकमा महँगोमा समेत किन्न बाध्य हुनुपर्छ,’ उनी भन्छन् ।

 

भावि योजना

 

लामो समयदेखि काष्ठकलामा रमाउँदै आएका बज्राचार्य आफ्नो व्यवसायलाई अझ फैलाउँदै लाने सोचमा छन् । योसँगै जेष्ठ कालिगढ पहिचान गरी सम्मान गर्ने सोचमा छन् ।

 

‘हामीले पुरानालाई सम्मान गरे मात्र नयाँ पुस्तालाई प्रोत्साहन गर्न सक्छौं । नयाँ पुस्तालाई काष्ठकलामा आकर्षित गर्न जेष्ठ कालिगढको सम्मान गर्नैपर्छ,’ उनी भन्छन् ।

 

नयाँनयाँ र जोखिमपूर्ण मूर्ति बनाउन इच्छुक बज्राचार्य नयाँ र चुनौतिपूर्ण काम गर्दै जाने सोचमा छन् उनी । एउटै प्रकृतिकोभन्दा फरकफरक कला प्रस्तुत गर्न मनपर्ने उनी बताउँछन् ।

८२८ मेगावाटको उत्तरगङ्गा जलाशययुक्त जलविद्युतको डीपीआर बनाउन सुरू Read Previous

८२८ मेगावाटको उत्तरगङ्गा जलाशययुक्त जलविद्युतको डीपीआर बनाउन सुरू

चितवन माछामा आत्मनिर्भर, वार्षिक ६ हजार मेट्रिकटन उत्पादन गर्ने लक्ष्य Read Next

चितवन माछामा आत्मनिर्भर, वार्षिक ६ हजार मेट्रिकटन उत्पादन गर्ने लक्ष्य