खप्तडभित्रै ओझेलमा परेको मिनी खप्तड ‘खोल्लेक’ (फोटोफिचर)

बझाङ । सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा अवस्थित बझाङ प्राकृतिक सौन्दर्यता तथा धार्मिक महत्वले भरिपूर्ण पर्यटकीय जिल्ला हो । यहाँ दर्जन बढी पर्यटकीय गन्तव्यहरु छन् । ती मध्येकै एक हो बुङगल नगरपालिका–३ स्थित खोल्लेक ।  यो गन्तव्य मिनी खप्तडका रूपमा समेत चिनिन्छ ।

 

सुदूरका बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगम स्थलमा रहेको खप्तडलाई सुन्दरताको प्रतिमूर्ति मानिन्छ । समुद्र सतहबाट ३ हजार ५ सय मिटरसम्म उचाइमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज २२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

 

खस्रेभ्यागुता र बझांगे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर, बाघबुट्टे निगांलो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो खप्तड । सोही बनावट र भौगोलिक संरचना भएकाले यस खोल्लेक क्षेत्रलाई पनि मिनि खप्तडको रूपमा बताइन्छ ।

सुन्दर चउर,ताल र सल्लाघारीले सजिएको छ खोल्लेक । सो क्षेत्रमा हिउँद याममा जाडो र सुख्खा हुने गरेको छ । एउटा किनारामा सल्लाघारीले झपक्क ढाकेको छ । सोही सुन्दर विरुवाहरुको छेउमा सुन्दर ताल बनेको छ । यस ताललाई धार्मिक ऐतिहासिक महत्वका साथ हेरिन्छ । आकाशको पानी जम्मा भएर सो ताल बनेको छ ।

 

चौरको बीच भागमा एउटा मन्दिर बनाइएको छ । नयाँ वर्ष अर्थात् वैशाख १ गते सो मन्दिरमा पूजापाठ गरेर जात्रा मनाइन्छ । मैदानको छेउछाउमा बस्तीहरु रहेका छन् । नगरपालिकाको केन्द्रबाट करिब ४ किलोमिटर टाढा रहेको यस गन्तव्यबाट चारैतिर सुन्दर डाँडाकाडा र हिमचूली नियाल्न सकिन्छ । विविध भौगोेलिक संरचनाका कारण आकर्षक पर्यटकीय स्थल बनेको छ । सो ठाउँमा कच्च सडक पुगेको छ । मैदानको वरपर पालिकाले रिङरोड बनाएको छ ।

बझाङको जिल्ला सदरमुकाम नपुग्दै बाग्थलाबाट १६ किलोमिटर टाढा रहेको छ बुङगल नगरपालिकाको केन्द्र । सेती नदीका सहायक दुइ नदी कालंगा र सानी नदीको किनारा हुँदै केन्द्र विजगडा पुगिन्छ । सोही बेंसी क्षेत्रबाट डाँडा सुरु हुन्छ । जसको टुप्प्पोमा रहेको छ मिनी खप्तड खोल्लेक । जहाँबाट पैतल हिँडेर पनि जान सकिन्छ । विजगडाबाट हिडेर यस ठाउँ पुग्न डेढ घण्टा लाग्छ । पछिल्लो समय नगपालिकाले मैदानको वरीपरी तारजाली लगाएर वृक्षा रोपण गरेको छ ।

 

पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न नगरपालिकाले खोल्लेकलाई मुख्य आकर्षक क्षेत्रको रूपमा राखेको छ । उत्तरी भागमा अवस्थित प्रशिद्ध धार्मिक स्थल बड्डी ज्यावन, सुन्दर गन्तव्य थानपाटन, गुराँस पर्वत अन्तर्गत पर्ने शृंखला जेठीबैरानीको डाँडा र हिम्चूली समेत सोही क्षेत्रबाट देखिन्छन् । पश्चिमी भेगमा दाचुर्ला हुँदै चीन जोड्ने नाका बनिरहेको छ उक्त स्थान गनैलेक पनि स्पष्ट देखिन्छ यस क्षेत्रबाट ।

बझाङ सदरमुकाम चैनपुरबाट धेरै टाढा कच्ची सडक र दूर्गम भेग भएका कारण उल्लेख्य रूपमा वाह्य पर्यटकहरुको आकर्षण देखिँदैन । प्राकृतिक सौन्दर्यले भरिपूर्ण खोल्लेकलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न प्रदेश र केन्द्र सरकारले ध्यान दिएको देखिँदैन । यद्यपि, स्थानीय सरकारले खोल्लेकलाई पर्यटकीय गन्तव्य बनाउन लागि परे पनि त्यो प्रभावकारी हुन सकेको छैन ।

 

प्राचिनदेखि नै सो क्षेत्रको भौगोलिक संरचना हालसम्म कायम रहेको स्थानीयहरु बताउँछन् । यस क्षेत्रको स्वच्छ र सुन्दर वातावरणले प्राकृतिक अनुपमताको प्रत्याभूत गराउँछ । छेउमा रहेको सल्लाघारी चराचुरुङगीहरुको मुख्य बासस्थानको रूपमा रहेको छ । यसरी सैन्दर्यता, धार्मिक तथा ऐतिहासिक रुपले भरिपूर्ण मानिएको गन्तव्य व्यवस्थित सडक र प्रचाप्रसार नहुाँदा ओझेलममा परेको छ । व्यस्थित सडक निमार्ण गरेर बाह्य पर्यटकको आवागमन बढाउन सके थुप्रै स्थानीयको जीवनस्तरमा परिवर्तन आउने र ओझेलमा परेको खोल्लेक मिनी खप्तडकै रूपमा विकसित बन्ने देखिन्छ ।

मनकामना केबलकार चढ्नेको घुँइचो, एकैदिन झन्डै ७ हजारले चढे Read Previous

मनकामना केबलकार चढ्नेको घुँइचो, एकैदिन झन्डै ७ हजारले चढे

सञ्चय कोषद्वारा जग्गा किन्न ५० लाख दिन सुरू, क-कसले पाउँछन् यस्तो सुविधा ? Read Next

सञ्चय कोषद्वारा जग्गा किन्न ५० लाख दिन सुरू, क-कसले पाउँछन् यस्तो सुविधा ?