तीनकुने आर्क ब्रिजको ठेक्का प्रक्रियामा ढिलाइ, ३ महिनामा पनि विभागमा पुगेन फाइल

काठमाडौंको बिजुलीबजारस्थि धोवीखोलामा निर्मित आर्क ब्रिज ।

काठमाडौं । तीनकुनेस्थित वाग्मतीमा निर्माण गरिने आर्क ब्रिजको ठेक्का प्रक्रियामा ढिलाइ भएको छ । बोलपत्र बन्द भएको करिब ३ महिना बित्न लागे पनि अझै ठेक्का प्रक्रिया पूरा हुन नसकेको हो ।

 

उपत्यका सडक विस्तार आयोजनाले आवेदन दिएका कम्पनीहरुको मूल्यांकन सकेर सडक विभागमा पठाउन नसक्दा ठेक्का प्रक्रियामा ढिलाइ भएको हो । सडक विस्तार आयोजनाले अझै आवेदहकरुको फाइल मूल्यांकनकै क्रममा रहेको जनाएको छ ।

 

आयोजनाले मूल्यांकन फाइल सडक विभागमा स्वीकृतिका लागि पठाउनु पर्नेछ । विभागबाट सोको स्वीकृत भएर आएपछि मात्र ठेक्का सम्झौता तथा हस्तान्तरणको काम अघि बढ्ने छ ।

 

आयोजनाका अनुसार हाल ठेक्का प्रक्रिया प्राविधिक मूल्यांकनको चरणमा रहेको छ । प्राविधिक मूल्यांकनबाट केही राम्रा कम्पनीहरुलाई छनोट गरिनेछ । उक्त छनोटमा परेका कम्पनीहरुको आर्थिक मूल्यांकन सकेपछि सबैभन्दा कम लागतमा बनाउने कम्पनीलाई ठेक्का दिइने छ ।

 

आयोजनाकी इन्जिनीयर सुनिता दाहालले हाल ठेक्का प्रक्रिया मूल्यांकनको फाइल महानिर्देशकको टेबलमा पुगेको बताइन् । ‘ हालै नयाँ निर्देशक आउनु भएको छ । बल्ल आयोजनाको निर्देशकको डेक्समा फाइल पुगेको छ । त्यो विभाग पुगेर स्वीकृत भएर आएपछि मात्र ठेक्का लाग्ने छ,’ उनले चाणक्य पोष्टसँग भनिन् ‘फाइल स्वीकृत भएर आएको १ हप्तामा ठेक्का टुंगो लाग्छ ।’

 

तीनकुने आर्क ब्रीज बनाउनका लागि ७ कम्पनीले आवेदन दिएका छन् । निर्माणका लागि लुम्बिनी कोटेक जाय जेभी, सपना निर्माण सेवा, लामा जेजीएसएचसी जेभी, वाइपी किँरातेश्वर जेभी, हिमसगरमाथा, मृत, सन्जीवनी र हिमढुङ्गा ठोक्कर गोल्डेन गुण जेभीले आवेदन दिएका छन् ।

 

विभागले गत साउनमा भदौ १३ गतेसम्म आवेदन दिने मिति राखेर बोलपत्र खुलाएको थियो । निर्माण कम्पनीले आवेदन दिएको तीन महिना बित्न लागे पनि अझै ठेक्का टुंगो लाग्न सकेको छैन । ठेक्का पाउने कम्पनीले पुलको डिजाइन समेत आफै गर्नुपर्ने छ ।

 

निर्माण व्यवसायीको लापरवाहीले ६ वर्षदेखि अलपत्र

 

निर्माण व्यवसायीको लापरवाही कारण सो पुल ६ वर्षदेखि अलपत्र बनेको छ । यसअघि निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्शन प्रालिसँगको ठेक्का सम्झौता अन्त्य गरेसँगै नयाँ प्रक्रियाबाट निर्माण गर्न तयारी गरिएको हो ।

 

पप्पुसँग २०७१ पुष ४ गते आर्क ब्रिज निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सो सम्झौता अनुसार २०७५ असार ५ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । म्याद भित्र काम सम्पन्न गर्न नसकेको पप्पुले म्याद थपको माग गरेको थियो भने २०७६ सालमा पप्पुले केही काम अघि नबढाउँदा कालो सूचीमा राखिएको थियो । बारम्बार काम गर्न भनेर निर्देशन दिँदा समेत पप्पुले अटेर गरेपछि उससँगको ठेक्का अन्त्य गर्न आयोजना बाध्य भएको थियो ।

 

पप्पुले गरेको काममा त्रुटी पाइएपछि उसलाई नयाँ डिजाइन बनाउन निर्देशन दिइएको थियो । पप्पुले त्यसमा आफ्नै खर्च बढ्ने भएपछि काम गरेको थिएन । २५ प्रतिशतभन्दा बढी काम गर्न नसकेको पप्पुसँग ठेक्का तोडी उसलाई कालोसूचीमा राखिएको छ ।

 

आयोजनाले पप्पुसँग ‘एड्भान्स पेमेन्ट ग्यारेन्टी’ (एपीजी) समेत फिर्ता लिइसकेको छ । काम सुरु गर्दा ‘मोबीलाइजेसन’का लागि दिइने सो रकम आयोजनाले पप्पुबाट फिर्ता लिएको हो । आयोजनाले २ करोड ७७ लाख रुपैयाँ एपीजी फिर्ता लिएको हो ।२१ करोड लगानीमा बनाउन लागिएको सो पुलका लागि सरकारले ६ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरिसकेको थियो ।

 

पुलको अवस्था

 

पप्पुले बनाएका पुलका १६ वटा पायलमध्ये २ वटा पायल जमिनमा भासिएको देखिएको छ । सरकारले यो समस्यालाई समाधान गरेर निर्माण गर्ने भनेर पप्पुलाई पत्र दिएको थियो । तर, पप्पुले त्यसै माथि क्याब लगाउने र सब स्ट्रक्चर समेत बनाएको छ । त्यसपछि सो पुल निर्माण गर्दा जोखिम बढ्ने हुँदा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले त्यो फेरि भत्काएर बनाउन निर्देशन दिएको थियो ।

 

पप्पुले सो निर्देशन पालना नगरेपछि उक्त पुलको काम अघि बढ्न सकेको थिएन । आयोजनाले बारम्बार पप्पुलाई निर्माण तोडेर नयाँ डिजाइनमा पुल बनाउन भने पनि पप्पुले अटेरी गरेको हो । पप्पुले फाउन्डेसन नमिलाई त्यस माथिनै थप काम गरेको थियो ।

 

नेपालमै पहिलोपटक घरजग्गाको मूल्य मापन गर्ने सूचकांक तयार, कति बढ्यो घरजग्गाको भाउ ? Read Previous

नेपालमै पहिलोपटक घरजग्गाको मूल्य मापन गर्ने सूचकांक तयार, कति बढ्यो घरजग्गाको भाउ ?

नारायणी विकास बैंकले पायो हकप्रद जारी गर्न अनुमति Read Next

नारायणी विकास बैंकले पायो हकप्रद जारी गर्न अनुमति