प्राधिकरणको अक्षमताले डुब्दै हाइड्रो व्यवसायी, यी १० आयोजनाले पाएनन् पूर्ण क्षमतामा उत्पादन गर्न

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले समयमा प्रशारण लाइनको व्यवस्था नगर्दा निजी क्षेत्रले बनाएका हाइड्रोपावरले आफ्नो क्षमता अनुसार संचालन हुन सकिरहेका छैनन् ।

 

प्राधिकरणकै कारण निर्माण सम्पन्न भएर पनि १० जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न नपाएका हुन् । हाल यी जलविद्युत् कम्पनीले न्यून क्षमतामा मात्र विद्युत् उत्पादन गरिरहेका छन् । जसकारण निजी क्षेत्रले लगानी गरेको अबौं रुपैयाँ थप जोखिममा परेका छन् ।

 

आफूले पैसा तिर्न नपर्ने भएपछि प्राधिकरणले बिजुली उत्पादनमा नै रोक लगाउँदै आएको उत्पादकहरूको भनाइ छ ।

 

अहिले तामाकोशी बाहेकका अन्य २१३ मेगावाट जडित क्षमता भएका हाइड्रोपावरले त्यसको करिब ४८ प्रतिशत मात्रै उत्पादन गर्न पाएका छन् । केही कम्पनीको उत्पादन क्षमताको २० प्रतिशतभन्दा कम गराइएको छ । तामाकोशीको उत्पादन पनि ७० मेगावाट हाराहारी मात्रै भइरहेको छ । यसको मुख्य कारण समयमा प्रशारण लाइन नबन्नु नै हो ।

 

दैनिक ५१ लाख २१ हजार ६०० किलावाट विद्युत् उत्पादन गर्न सक्ने हाइड्रो कम्पनीहरूले हाल २३ लाख ९९ हजार १३ किलोवाट विद्युत् मात्र उत्पादन गरिरहेका छन् । प्रशारण लाइनकै कारण २७ लाख २२ हजार ५८७ किलोवाट विद्युत् खेर गइरहेको छ । हाइड्रो प्लान्ट संचालनमा आएर पनि विद्युत् उत्पादन गर्न नपाउँदा निजी क्षेत्र र राज्यले ठूलो रकम गुमाउन परिरहेको छ ।

 

विद्युत् प्राधिकरणले खेर गएको बिजुलीमा समेत यसरी उत्पादन नभएको विद्युत्लाई राखेको छैन । आफूले पैसा तिर्न नपर्ने भएपछि प्राधिकरणले बिजुली उत्पादनमा नै रोक लगाउँदै आएको उत्पादकहरूको भनाइ छ ।

 

‘७÷८ वर्षअघि पीपीए भएका र एक वर्ष अघिदेखि उत्पादन थालेका प्लान्टको विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोड्ने योजना तयार गर्न नसक्नु प्राधिकरणको कमजोरी हो । अब यस्ता उद्योगलाई क्षतिपूर्ति कसले दिन्छ ?’, व्यवसायीहरूको एउटै गुनासो छ ।

 

विद्युत् प्राधिकरण विद्युत् गृहबाट उत्पादन रोक्न लगाउनुको मुख्य कारण प्रशारण लाइन नबन्नु, प्रशारण लाइनमा ओभर लोड हुनु र केही परीक्षणकालमा रहेको बताउने गरेको छ ।

 

यी हाइड्रोपावरले पाएनन् पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न

 

ग्रिन भेन्चरस् लिमिटेडले ‘लिखु ४’ हाइड्रो पावर आयोजना अन्तर्गत ५२ मेगावाट विद्युत् उत्पादन गर्न सक्छ । तर, कम्पनीले जडित क्षमताको १७ प्रतिशत मात्र विद्युत् उत्पादन गरिरहेको छ । दैनिक १२ लाख ४८ हजार किलोवाट विद्युत् उत्पादन क्षमता रहेको उक्त आयोजनाले हाल २ लाख २१ हजार १३० किलोवाट मात्रै विद्युत् उत्पादन गरिरहेको छ । यसलाई परिक्षण उत्पादन भन्दै उत्पादन कम गर्न लगाइएको हो ।

यस्तै, अप्पर सोलुले बनाएको सोलु एचइपीको २३.५० मेगावाट विद्युत् उत्पादन गर्ने जडित क्षमता रहेको छ । उक्त योजना अन्तर्गत हाल १ लाख ११ हजार ६ सय किलोवाट विद्युत् मात्र उत्पादन भइरहेको छ । कुल ५ लाख ६४ हजार किलोवाट विद्युत् उत्पादन क्षमता रहेको उक्त आयोजनाबाट ४ लाख ५२ हजार ४ सय किलोवाट विद्युत् खेर गइरहेको छ । प्रशारण लाइन निर्माण सम्पन्न नभएका पूर्ण क्षमतामा विद्युत् गृह संचालन गर्न नपाएको हो ।

 

मोदी इनर्जी लिमिटेडले बनाएको लोअर मोदी आयोजनाले आफ्नो क्षमताको २०.८३ प्रतिशत मात्रै उत्पादन गर्न पाएको छ । दैनिक ४ लाख ८० हजार किलोवाट विद्युत् उत्पादन गर्ने क्षमता भएको आयोजनाले अहिले दैनिक १ लाख किलोवाट मात्रै विद्युत् उत्पादन गर्न पाएको हो । प्रशारण लाइनको अभावमा आयोजनाको दैनिक ३ लाख ८० हजार किलोवाट विद्युत् खेर गइरहेको छ ।

 

माउन्ट कैलाशले थापा खोला जलविद्युत् आयोजनाबाट १३.५० मेगावाट विद्युत् उत्पादन गर्ने जडित क्षमता भएपनि ५१.८५ प्रतिशत क्षमतामा मात्र विद्युत् उत्पादन गरेको छ । दैनिक ३ लाख २४ हजार किलोवाट विद्युत् उत्पादन हुनु पर्नेमा १ लाख ६८ हजार किलोवाट मात्रै विद्युत् उत्पादन भइरहेको छ । आयोजनाको १ लाख ५६ हजार किलोवाट विद्युत् प्रशारण लाइन नबन्दा खेर गइरहेको छ ।

 

माउन्टेन इनर्जीको मिस्ट्री खोला आयोजना अन्तर्गत ४२ मेगावाट क्षमताको विद्युत् गृह पनि ५२.१९ प्रतिशत मात्रै उत्पादन गर्न बाध्य भएको छ । प्रशारण लाइनको अभावमा कम्पनीले दैनिक १० लाख ८ हजार किलोवाट विद्युत् उत्पादन गर्न सक्ने भएपनि ५ लाख २६ हजार ९३ किलोवाट मात्रै विद्युत् उत्पादन गरिरहेको छ । आयोजनाको ४ लाख ८१ हजार ९०७ किलोवाट विद्युत् खेर गइरहेको छ ।

 

घलेम्दी खोला आयोजनाबाट दैनिक कुल १ लाख २० हजार किलोवाट विद्युत् उत्पादन क्षमता भएपनि अहिले दैनिक ७२ हजार किलोवाट मात्रै विद्युत् उत्पादन भइरहेको छ । प्रशारण लाइनको अभावमा आयोजनाको दैनिक ४८ हजार किलोवाट विद्युत् खेर गएको छ ।

 

सिनर्जी हाइड्रो पावर लिमिटेडले सिप्रिङ खोलामा १० मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता भएपनि अहिले ७३.४३ प्रतिशत मात्रै विद्युत् उत्पादन गरिरहेको छ । दैनिक कुल २ लाख ४० हजार किलोवाट विद्युत् उत्पादन क्षमता रहेको भएपनि प्रशारण लाइनको व्यवस्थताले दैनिक १ लाख ७६ हजार २२० किलोवाट विद्युत् उत्पादन गर्नु परेको हो ।

 

मोलुङ हाइड्रोपावर आयोजनाको जडित क्षमता ७ मेगावाट भएपनि हाल ७९.७० प्रतिशत मात्रै विद्युत् उत्पादन भइरहेको छ । दैनिक १ लाख ६८ हजार किलोवाट विद्युत् उत्पादन क्षमता रहेको उक्त आयोजनाले हाल दैनिक १ लाख ३३ हजार ९ सय किलोवाट विद्युत् उत्पादन गर्न पाएको छ । आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न नपाउनुको मुख्य कारण सोलु करिडोर पूरा नहुनु हो ।

 

विदावासीनी कम्पनीले रुडी खोलामा १५ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेकोमा हाल ९१/९२ प्रतिशत विद्युत् उत्पादन गरिरहेको छ । आयोजना अन्तरर्गत दैनिक ३ लाख ६९ हजार ६०० किलोवाट विद्युत् उत्पादन क्षमता भएपनि हाल ३ लाख ३९ हजार ४७० किलोवाट विद्युत् उत्पादन भइरहेको छ । आयोजनाको ३० हजार १३० किलोवाट विद्युत् दैनिक खेर गएको छ ।

 

मादी पावर प्रालिले अप्पर मादी आयोजना अन्तर्गत २५ मेगावाट विद्युत् उत्पादन क्षमता मध्ये ९१.६० प्रतिशत विद्युत् उत्पादन गरिरहेको छ । आयोजनाले दैनिक ६ लाख किलोवाट विद्युत् उत्पादन गर्ने क्षमता भएपनि हाल ५ लाख ४९ हजार ६ सय किलोवाट विद्युत् उत्पादन भइरहेको छ । बाँकी ५० हजार ६ सय किलोवाट विद्युत् प्रशारण लाइनमा ओभर लोडका कारण उत्पादन हुन नसकेको हो ।

‘ए’ डिभिजन लिगको टिकटको मूल्य निर्धारण, भीआइपी सीटको कति ? Read Previous

‘ए’ डिभिजन लिगको टिकटको मूल्य निर्धारण, भीआइपी सीटको कति ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफामा सुधार, यस्तो छ वित्तीय अवस्था Read Next

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफामा सुधार, यस्तो छ वित्तीय अवस्था