काठमाडौं । ललितपुरको ग्वार्को चोकमा निर्माण हुने भनिएको नेपालकै पहिलो फ्लाइओभर निर्माणको ठेक्का प्रक्रिया अघि बढेको छ ।
सरकार फेरिए पनि मन्त्रीमण्डल विस्तार नहुँदा लामो समयदेखि रोकिएको फ्लाइओभरको ठेक्का प्रक्रिया नयाँ मन्त्री नियुक्त भएसँगै अघि बढेको हो ।
सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नयाँ मन्त्री आएसँगै फ्लाइओभर निर्माणको ठेक्का प्रक्रिया अगाडि बढेको छ ।
केन्द्रका नवप्रबन्ध शाखाका प्रमुख सुरज बज्राचार्यले अदालतमा मुद्दा परेको कम्पनीले आवेदन दिएकाले रोकिएको ठेक्का प्रक्रिया हाल अघि बढेको बताए ।
‘अदालतमा मुद्दा परेको कालिका कन्स्ट्रक्शनले पनि आवेदन हालेपछि ठेक्का प्रक्रिया रोकिएको थियो । मन्त्री नहुँदा हामी अन्योलमा परेका थियौं,’ उनले चाणक्य पोष्टसँग भने, ‘ अहिले नयाँ मन्त्री आएसँगै हामीले ठेक्का प्रक्रियाको फाइल मन्त्री ज्यू (रेणुकुमारी यादव)का पुर्याएका छौं, फाइल पेस भयो । अब छिट्टै प्रक्रया अघि बढ्छ ।’
फ्लाइओभर निर्माणको लागि एमआर हिमसगरमाथा जेभी, शर्मा एण्ड को प्राइभेट लिमिटेड, लामा गोल्डेन गुड जेभी, सूर्य विकास–विकास एण्ड ब्रदर्श, इलाइट कन्स्ट्रक्सन कम्पनी लिमिटेड, एएनके श्रेष्ठ जेभी, कालीका कन्ट्रक्शन र आषिश समानान्तर निर्माण सेवा प्राइभेट कम्पनीले लगायत ९ कम्पनीले आवेदन दिएका थिए ।
सोमध्ये कालिका कन्स्ट्रक्शन विरुद्ध राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै परेको मुद्दा अदालतमा विचराधीन रहेको छ । अदालतमा मुद्दा परेको कम्पनीलाई ठेक्का प्रक्रियामा समावेश गर्ने नगर्ने भन्ने विषयमा अन्योल हुँदा ठेक्का अगाडि बढ्न सकेको थिएन ।
नयाँ ऐन अनुसार आवेदन दिएको कालिका कन्स्ट्रक्सनको मूल्याङ्कन गर्ने/नगर्ने भन्ने कुरा मन्त्रालयबाट सहमति लिनुपर्ने भएकाले यसअघि सम्बन्धित मन्त्री नहुँदा प्रक्रिया अघि बढ्न सकेको थिएन् । अन्य कम्पनीहरूको फाइल मूल्यांक्न प्रक्रिया सकिए पनि कालिकाको बाँकी रहेको र अहिले नयाँ मन्त्री आएसँगै सो विवाद टुंगो लगाउन फाइल मन्त्रालय पठाइएको बज्रचार्यले बताए ।
यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि फ्लाइओभर ठेक्का प्रक्रियाको फाइल मन्त्रालयमा आइपुगेको बताएको छ । ‘ठेक्काको टुंगो सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले लगाउने भए पनि विवाद आएपछि फाइल मन्त्रालयसम्म आइपुगेको हो,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘अब विवादित कम्पनीलाई ठेक्कामा समावेश गर्ने/नगर्ने टुंगो मन्त्रीज्यूले लगाउनु हुनेछ ।’
फाइल आए पनि कालिका कन्स्ट्रक्सनको आवेदन के गर्ने भन्ने विषयमा हाल सम्म कुनै टुंगो नलागेको उनले बताए । कालिका कन्स्ट्रक्शनका संचालक राजनीतिज्ञ समेत भएकाले लबिङ र चलखेलका लागि ठेक्का फाइल मन्त्रालयसम्म पुर्याइएको अन्य आवेदक कम्पनीहरूको दाबी छ ।
कस्तो बन्छ फ्लाइओभर ?
ग्वार्कोमा बन्ने उक्त फ्लाइओभर ८ लेनको चक्रपथको बीचको चार लेनलाई माथि उचाल्न लागिएको विभागले जनाएको छ । बालकुमारीतर्फबाट आएका सवारीसाधन चार लेन उठाएर ग्वार्कोतिर लाग्ने र अर्को चार लेन तल (अहिलेको भएको ठाउँमा) हुने केन्द्रले बताइएको छ । फ्लाइओभर’को जम्मा लम्बाइ झण्डै ५०० मिटर र उचाइ छ मिटर हुनेछ । माथि चढ्न र झर्नका लागि र्याम हुनेछ भने माथिल्लो भागमा सुपर स्ट्रक्चर हुनेछ ।
‘फ्लाइओभर’ बीएण्डबी अस्पताल नजिकै ग्वार्कोबाट बालकुमारीतर्फ केही अघिसम्म निर्माण हुनेछ । सडकको माथिल्लो भागमा चक्रपथतर्फ जाने सवारीसाधन गुडिरहँदा तल्लो भाग (मुख्य सडक)मा मङ्गलबजारतर्फबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ दुवैतर्फ सवारीसाधन नरोकिइ चल्न सक्नेछन् ।