जसले सरकारी जागिर छाडेर जिरीमा होटल खोले, अनि व्यावसायिक फड्को मारे

काठमाडौं । विंसं. २०१० मा दोलखाको जिरीमा जन्मेका केशरबहादुर जिरेलले एसएलसी पास गरेका छन् । एसएलसी पास गरेपछि स्वीस सरकारको सहयोगमा २ वर्षे चिज मेकर तालिम लिएका उनले दूग्ध विकास संघमा अस्थायी काम पाएका थिए ।

 

करिब १५ महिना अस्थायी कर्मचरीका रूपमा चिज उद्योगमा काम गरेका उनले २०३४ सालमा लोक सेवा दिएर चिज टेक्निसीयनमा स्थायी जागिर पाए । मासिक ८ हजार ६ सय रुपैयाँ तलब पाउने गरेका उनी आफ्नो कमाईमा सन्तुष्ट हुन सकेनन् । उमेरमा नगरे कहिले गर्न सकिँदैन भन्ने सोचका जिरेलले २०५५ सालदेखि होटल सञ्चालन गर्न थाले । करिब १२ लाख रुपैयाँ लगानीमा जिरीमै होटल ग्याबिला सञ्चालनमा ल्याए ।

 

होटल चलाउँदै चिज उद्योगमा काम गरिरहेका उनले २०५७ सालमा जागिर छाडेरै होटल व्यवसायमा होमिए । जागिर छाड्न राजीनामा दिँदा स्वीकृत नभएपछि सोर्सफोर्स नै लगाउने परेको उनी बताउँछन् ।उनले चिज टेक्निसीयनका रूपमा फिलिपिन्स, स्वीजरल्याण्ड, अमेरिका, हङकङ, थाइल्याण्ड, भारत, दुवै लगायतका धेरै देशमा गएर तालिम समेत लिए ।

 

‘बुढेसकालमा जागिर छाडेर के गर्ने ? उमेरमै केही गर्नुपर्छ’

 

‘बुढेसकालमा जागिर छाडेर के गर्ने ? मैले उमेरमै व्यवसाय सुरु गरेें, पर्यटक आउँदा टन्नै कमाइ हुन्छ । नआउँदा यसरी सुख्खा बसिन्छ,’ जिरेलले ठट्यौली पारमा चाणक्य पोष्टसँग भने ।

 

दुग्ध क्षेत्रमा झण्डै २७ वर्ष काम गरेका उनले अहिले होटल व्यवसायबाटै फड्को मारेका छन् । १२ लाख लगानीमा सानो होटलबाट सुरु भएको उनको व्यवसाय अहिले जिरीकै स्तरीय होटलमा चिनिन्छ । अहिले होटल व्यवसायमा मात्रै उनको ५ करोड बढी लगानी पुगेको छ । व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाबाट २ करोड ऋण समेत लिएको उनी बताउँछन् ।

उनका परिवारका सदस्यहरु समेत होटल व्यवसायमा उनलाई सघाइ रहेका छन् । उनका छोरा, बुहारी, श्रीमती सबै होटलमै उनलाई काम सघाउने गर्छन् । २ छोरा, २ छोरी रहेका उनी होटल व्यवसाय बढे ऋण चुक्ता गर्ने सोचमा छन् ।

 

काठमाडौंका घर बनाए, तर बस्न मन नलागेर बेचे

 

जिरीमा होटल व्यवसाय गरेका उनले काठमाडौंमा समेत घर बनाएका थिए । २०४६ मा काठमाडौंमा घर बनाएका उनले प्रदूषणका कारण बस्न नसकी २०५४ सालमा विक्री गरेको जानकारी दिए ।

 

‘काठमाडौंमा पानी छैन, बत्ति छैन कसरी बस्ने ? म हिमालमा रमाएको मान्छे, त्यो प्रदूषणमा बस्न सकिन,’ जिरेलले भने । विश्वका ९ वटा राष्ट्र घुमेका उनले भने ‘संसारमा सबैभन्दा राम्रो ठाउँ स्वीजरल्याण्ड हो तर, नेपाल जस्तो ठाउँ कतै देखिन । नेपालमा पनि जिरी जस्तो राम्रो वातावरण भएको ठाउँ कतै भेटिन ।’

 

जिरीलाई पर्यटकीय रूपमा विकास गर्न तत्पर रहेका उनले जिरीको वातावरण स्वीजरल्याण्डसँग मिल्दो रहेको बताए । भूकम्प अघि निकै राम्रो रहेको जिरीको पर्यटकीय व्यवसाय बीचमा द्धन्द्ध, भूकम्प, कोरोना महामारी जस्ता कुराले व्यापारमा ह्रास आएको उनी बताउँछन् ।

 

उनले विगतमा सगरमाथा जाने पैदल यात्री जिरीकै बाटो हुँदै जाने गरेको बताउँछन् । अहिले सल्लेरी, घुर्मी हुँदै बाटो खुलेकाले जिरी हुँदै जाने पर्यटन नभएको उनले बताए ।

उनले होटल व्यवसायका साथै किवी खेती पनि गरेका छन् । साथै, पनिर र चिजको व्यापार समेत गर्ने गरेका छन् ।

 

होटललाई आन्तरिक पर्यटकको साथ

 

उनले हाल जिरीमा विदेशी पर्यटकभन्दा आन्तरिक पर्यटक मौलाएको बताए । भूकम्पअघि पर्यटकले भरिभराउ रहने जिरी भूकम्पपछि केही फस्टाउनआटेपनि पुनः कोरोनाका कारण सुख्खा लागेको उनको भनाइ छ ।

 

‘अब चाहिँ विस्तारै आन्तरिक पर्यटक आउन थालेका छन् । यसअघि २ वर्षमा २ जना पर्यटक पनि देखिएनन्,’ जिरेलले भने ।

 

उनले भूकम्प पछि १० प्रतिशत पर्यटक पनि नआएको बताए । जिरीको भौगोलिक संरचना भूकम्पका कारण ९९ प्रतिशत क्षती भएको थियो । भूकम्पअघि रहेका ढुंगा माटोका सबै भवन भूकम्पपछि ढलान गरेर बने । जसले जिरीको स्वीजरल्याण्डको स्वरुप परिवर्तन गर्यो ।

 

उनले कालिन्चोक आउने पर्यटकहरु मध्ये १५/२० प्रतिशत पर्यटक जिरी जाने गरेको बताए । जिरी आफैमा रमणीय पर्यटकीय थलो हो ।

 

४० को दशकमै एयरपोर्ट, अस्पताल, सडक लगायतका सुविधा पुगेको जिरी हाल पनि सोही अवस्थामै रहेको उनले बताए । ‘पहिला केही विकास नभएको ठाउँ अहिले विकास भएर कहाँ पुगिसक्यो , धेरै अघि विकास भएको जिरी अहिले त्यो स्थानमा पुग्न सकेको छैन, अब यसलाई अझै सुधार्दै लानुपर्छ,’ उनले भने ।

ढुंगा अभाव भएपछि महाकालीमा बन्ने ४ लेन पुलको डिजाइन नै परिवर्तन गरिने Read Previous

ढुंगा अभाव भएपछि महाकालीमा बन्ने ४ लेन पुलको डिजाइन नै परिवर्तन गरिने

तरलता सहज बनाउन बैंकिङ प्रणालीमा २० अर्ब प्रवाह हुँदै Read Next

तरलता सहज बनाउन बैंकिङ प्रणालीमा २० अर्ब प्रवाह हुँदै