घट्यो व्यापार घाटाः यी हुन् सर्वाधिक आयात र निर्यात हुने ५ बस्तु

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै ९७ अर्ब ८८ करोड ८२ लाख रुपैयाँ व्यापार घाटा भएको छ । गत आर्थिक वर्ष २०७५/७६ को पहिलो महिनामा १ खर्ब १३ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ व्यापार घाटा भएको थियो । चालु आबको पहिलो महिनामा गत वर्षको सोही अवधिको तुलनामा १३.९० प्रतिशतले व्यापार घाटा घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

 

चालु आवको पहिलो महिनामा १ खर्ब ६ अर्ब ७२ करोड रुपैयाँ बस्तु तथा सेवा आयात भएको छ । गत वर्षको पहिलो महिनामा १ खर्ब २० अर्ब ६१ करोड १ लाख रुपैयाँको आयात भएको थियो । भन्सार विभागको तथ्यांक अनुसार गत आवको तुलनामा यो आवमा ११.५१ प्रतिशतले आयात घटेको हो ।

 

साउन महिनामा ८ अर्ब ८३ करोड ७० लाख रुपैयाँ बराबरको सामग्री नेपालबाट निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ९२ करोड १५ लाख रुपैयाँ निर्यात भएको थियो । गत वर्षको तुलनामा यो वर्षको पहिलो महिनामा २७.६८ प्रतिशतले निर्यात बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

 

आर्थिक वर्षको पहिलो महिनामा सबैभन्दा बढी रकम पेट्रोलियम पदार्थ आयातका क्रममा बाहिरिएको छ ।

 

साउनमा १६ अर्ब २० करोड ८२ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको सोही अववधिमा १८ अर्ब ९ करोड ९५ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । यो आवको पहिलो महिनामा १ अर्ब ८९ करोड रुपैयाँले पेट्रोलियम पदार्थ आयात कम भएको भन्सारको तथ्यांकले देखाएको छ ।

 

यस्तै, दोस्रोमा फलाम तथा स्टिलका सामग्रीहरु आयात हुने गरेको भन्सार तथ्यांकले देखाएको छ । यस अवधिमा फलाम तथा स्टिलहरु ११ अर्ब १९ करोड ४७ लाख रुपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक वर्षको पहिला महिनामा फलाम तथा स्टिल आयातका क्रममा १४ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ बाहिरिएको थियो । स्टिल तथा फलाम आयातमा समेत ३ अर्बले आयात कम हुन आएको तथ्यांकले देखाउँछ ।

 

चालु आवको पहिलो महिनामा आयात भएको वस्तुको तेस्रोमा विद्युत्तीय सामग्री रहेको छ । विद्युत्तीय सामग्रीहरु आयातमा ९ अर्ब ७ करोड ९१ लाख रुपैयाँ बाहिरिएको छ । गत आवको पहिलो एक महिनामा विद्युत्तीय सामग्री आयातका क्रममा ६ अर्ब ३१ करोड १७ लाख रुपैयाँ बाहिरिएको थियो । विद्युत्तीय सामग्री आयात ३ अर्बले बढेको छ ।

 

यस्तै, चौथो धेरै आयात हुनेमा मेसिनरी सामाग्री आयात भएको छ । यस अवधिमा ८ अर्ब ८८ करोड १ लाख रुपैयाँ बराबरको यस्ता सामाग्री आयात भएको छ । गत आर्थिक वर्षमा मेसिनेरी सामग्री आयातका क्रममा ८ अर्ब २३ करोड २२ लाख रुपैयाँ बाहिरिएको हो ।

 

पाँचौमा सवारी साधन र त्यसका पाटर्सहरु आयात भएको देखिन्छ । यो आवको प्रथम महिनामा ७ अर्ब २८ करोड ५१ लाख रुपैयाँ बराबरको सवारी साधन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत आवको पहिलो महिनामा ७ अर्ब ९५ करोड ३१ लाख रुपैयाँ बराबरको सवारीसाधन तथा त्यसका पार्टपुर्जा आयात भएको विभागले जनाएको छ ।

 

सबैभन्दा बढी निर्यात हुने सामग्री

नेपालबाट सबैभन्दा बढी निर्यात हुने सामग्रीमा तेल तथा घ्यूजन्य पदार्थहरु रहेको भन्सार तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा तेल तथा घ्यूका पदार्थहरु २ अर्ब २१ करोड ८३ लाख रुपैयाँ बराबरको निर्यात भएको देखिएको छ । गत आवमा तेल तथा घ्यूका पदार्थहरु ६३ लाख ३ हजार रुपैयाँ बराबरको मात्र निर्यात भएको थियो ।

 

यस्तै दोस्रोमा सबैभन्दा बढी कफी तथा चियाका सामग्रीहरु निर्यात भएको भन्सार तथ्यांकले देखाएको छ । यो आवको पहिलो एक महिनामा ९३ करोड ९३ लाख ३१ हजार रुपैयाँ बराबरको चिया तथा कफी निर्यात भएको तथ्यांकले देखाएको छ ।

 

गत आवको पहिलो महिनामा ७३ करोड २१ लाख १५ हजार रुपैयाँ बराबरको कफी तथा चिया निर्यात भएको थियो ।

 

तेस्रोमा हातले बनाइएको फाइबर सबैभन्दा बढि निर्यात भएको तथ्यांकले देखाएको छ । यो आवको पहिलो एक महिनामा हातले बुनेका फाइबर ७० करोड ८९ लाख ३९ हजार रुपैयाँ बराबरको निर्यात भएको हो । गत आवको पहिलो एक महिनामा ८२ करोड १९ लाख २९ हजार रुपैयाँ बराबरको हातले बुनेका फाइबर निर्यात भएको तथ्यांकले देखाएको छ । हातले बनाएको फाइबरका सामग्रीहरु गत वर्षको पहिलो महिनाको तुलनमा १२ करोड रुपैयाँले कम निर्यात भएको तथ्यांकले देखाएको हो ।

 

यस्तै, चौथोमा नेपालमा बनाइएको कार्पेट निर्यात हुने गरेको छ । यो आवको पहिलो एक महिनामा ६७ करोड ५० लाख ३० हजार रुपैयाँ बराबरको कार्पेट निर्यात भएको तथ्यांकले देखाएको छ । गत आवको पहिलो एक महिनामा कार्पेट ६३ करोड १ लाख ३६ हजार रुपैयाँ बराबरको कार्पेट निर्यात भएको थियो । कार्पेट निर्यात ४ करोडले बढेको तथ्यांकले देखाएको छ ।

 

यस्तै, पाचौँमा नेपालमा बनेका कपडा निर्यात हुने गरेको छ । यो आवको पहिलो एक महिनामा ४३ करोड ११ लाख २२ हजार रुपैयाँ बराबरको कपडा निर्यात भएको तथ्यांकले देखाएको छ भने गत आवको पहिलो महिनामा २६ करोड १६ लाख ८७ हजार रुपैयाँको कपडा निर्यात भएको थियो । गत आवको पहिलो महिनाको तुलनामा यो आवको पहिलो महिनामा कपडा निर्यात १७ करोड रुपैयाँले बढेको देखिएको छ ।

सेजन अध्यक्षमा भीम गौतम, अन्य पदमा यस्ता छन् विजयी Read Previous

सेजन अध्यक्षमा भीम गौतम, अन्य पदमा यस्ता छन् विजयी

नेपाली बैंकमा चिनियाँ ह्याकरको आक्रमण, नगदसहित ५ चिनियाँ पक्राउ Read Next

नेपाली बैंकमा चिनियाँ ह्याकरको आक्रमण, नगदसहित ५ चिनियाँ पक्राउ