भाटभटेनीले बनायो नेपालकै पहिलो ११ तले पार्किङ

काठमाडौं । नेपालकै पहिलो ११ तले पार्किङ आजदेखि संचालनमा आउने भएको छ । खुद्रा व्यापारलाई आधुनिकीकरण गर्दै देशभर व्यवसाय विस्तारमा लागेको भाटभटेनी सुपर मार्केटले नक्साल (पूरानो भाटभटेनी सुपर मार्केट)मा सुविधा सम्पन्न ११ तले भर्टिकल पार्किङ निर्माण सम्पन्न गरेको हो ।

 

पार्किङ निर्माणको लागि स्टक्चर पूरा हुँदा ७ करोड लागत लागेको बताइएको छ । हाल पार्किङ निर्माण सम्पन्न भइ आजदेखि प्रयोगमा आउने भाटभटेनी सुपर मार्पेटले जनाएको छ ।

 

‘पार्किङको सबै स्टक्चर पूरा हुँदा ७ करोड खर्च भएको छ, निर्माण सम्पन्न भइसकेको छ । बुधबारदेखि संचालनमा ल्याउँछौं,’ भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले चाणक्य पोष्टसँग भने ।

भाटभटेनी आफ्नो आउटलेटमा पार्किङ समस्या भएपछि ग्राहकलाई सहजता दिलाउन ११ तले पार्किङ निर्माण गरेको हो । ११ तले पार्किङको हरेक तलामा ४ वटाका दरले एकपटकमा ४४ वटा गाडी पार्किङ गर्न सकिन्छ । पार्किङ निर्माणको काम तीन महिनामा सम्पन्न भएको पौडेलले जानकारी दिए ।

 

भाटभटेनीले उक्त पार्किङ दशैंमा नै संचालनमा ल्याउने गरी निर्माणलाई तीव्रता दिइएको भएता पनि विभिन्न कारणले तिहारदेखि संचालनमा ल्याउन लागिएको हो ।

 

चिनियाँ कम्पनीले डिजाइन गरेको उक्त बहुतले पार्किङ इण्डियन कम्पनी ओमेगा इन्जिनीयरिङले निर्माण सम्पन्न गरेको हो । ओमेगा कम्पनीसँगै नेपाली टोली स्पात कन्स्ट्रक्शनले पार्किङ निर्माणको काम गरिरहेको छ ।

 

यस्तो छ भाटभटेनीको भर्टिकल पार्किङ

 

भाटभटेनी टंगाल आउटलेटमा ११ तलाको भर्टिकल पार्किङ पूर्ण रूपमा आजदेखि सञ्चालनमा आउने छ । चारवटा भर्टिकल रहेकोमा एउटा भर्टिकलमा चार वटा गाडी अट्ने पौडेलले जानकारी दिए ।

एउटा भर्टिकलमा चार वटा गाडी राख्ने लेन रहेकाले ४४ वटा गाडी ११ तलासम्ममा पार्किङ गर्न सकिन्छ । साढे चार आना (करिब १५ सय वर्गफीट) जग्गा ओगटेको भर्टिकल पार्किङ पूर्ण स्वचालित छ । भाटभटेनी जाने ग्राहकहरुले भर्टिकल पार्किङमा गाडी छिराएर बाहिर निस्केपछि खाली रहेको स्थानमा आफैं गाडी मुभ हुने पौडेलले बताए ।

 

स्टील स्ट्रक्चर (स्टील बार) र हाइड्रोलिक प्रणालीबाट जडान भएको भर्टिकल पार्किङका लागि भाटभटेनीले आवश्यक सबै सामग्री र प्रविधि चीनबाट आयात गरेको जनाएको छ ।

 

नबिल बैंकले घोषणा गर्‍यो चार वर्ष यताकै धेरै लाभांश, बोनस र नगद कति ? Read Previous

नबिल बैंकले घोषणा गर्‍यो चार वर्ष यताकै धेरै लाभांश, बोनस र नगद कति ?

नेपालले पायो अन्तरदेशीय विद्युत् निर्यातको अनुमति, पहिलो चरणमा भारतलाई ३९ मेगावाट बेच्दै Read Next

नेपालले पायो अन्तरदेशीय विद्युत् निर्यातको अनुमति, पहिलो चरणमा भारतलाई ३९ मेगावाट बेच्दै