काठमाडौं । तरलता अभावका बाबजूद माग अनुसार कर्जा लगानी गर्न नसके पनि वाणिज्य बैंकहरुको नाफा भने बढेको छ । बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकको नाफा बढेको हो ।
अधिकांश बैंकको खुद ब्याज आम्दानी बढ्दा खुद नाफा बढ्न पुगेको हो । साथै, प्रोभिजनिङ बापतको रकम रिभर्स हुँदा र कमिशन तथाा फीबापतको आम्दानी बढ्दा नाफा बढ्न सहयोग पुगेको हो ।
चालू आवको पहिलो त्रैमासमा हाल संचालनमा रहेका २७ मध्ये २३ बैंकको खुद मुनाफा बढेको छ भने ४ वटाको घटेको छ ।चालू आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकहरुको खुद मुनाफा गत वर्षको सोही अवधिको तुलनामा २३.९० प्रतिशतले बढेको छ । २७ वटा वाणिज्य बैंकहरुले चालु वर्षको ३ महिना (असोज मसान्तसम्म)मा कुल १८ अर्ब ११ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
यो गत वर्षको सोही अवधिको तुलनामा ३ अर्ब ४९ करोड ४३ लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले कुल १४ अर्ब ६१ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
चालू आवको पहिलो त्रैमासमा एउटा बैंकले औसतमा ६७ करोड ८ लाख रुपैयाँ नाफा कमाएका छन् । गत वर्ष सोही अवधिमा औसतमा ५४ करोड १४ लाख रुपैयाँ नाफा कमाएका थिए ।
२७ वटा बैंकमध्ये एनआइसी एशिया सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । असोजसम्म एनआइसीले १ अर्ब १८ करोड खुद नाफा कमाएको छ । समीक्षा अवधिमा बैंक अफ काठमाण्डू सबैभन्दा कम नाफा कमाउने बैंक बनेको छ । यसले जम्मा २४ करोड नाफा आर्जन गरेको छ ।
५ बैंक अर्बपति क्लबमा
पहिलो त्रैमासमै ५ वटा बैंक अर्बपति क्लबमा प्रवेश गरेका छन् । ३ महिनाको अवधिमा ती बैंकहरुले १ अर्ब बढी नाफा कमाएका हुन् । गत वर्ष सोही अवधिमा ४ वटा बैंक्ले मात्र १ अर्ब बढी नाफा कमाएका छन् ।

१ अर्ब बढी नाफा कमाउने बैंकहरुमा क्रमशः एनआइसी एशिया, नबिल, ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य र एनएमबी बैंक रहेका छन् । जसमा एनआइसीले १ अर्ब १८ करोड, नबिल र ग्लोबल समान १ अर्ब ११ करोड, राष्ट्रिय वाणिज्य १ अर्ब ५ करोड र एनएमबीले १ अर्ब ४ करोड कमाएका छन् ।
यस्तै, पहिलो त्रैमासमा ४ बैंक्ले ९० करोड बढी नाफा कमाएका छन् । प्राइम, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले ९० करोड बढी नाफा कमाएका हुन् ।
यस्तै, नेपाल, सिटिजन्ससहित ९ बैंक्ले ५० करोड बढी नाफा कमाएका छन् भने कृषि, हिमालयन लगायत ६ बैंक्ले ३० देखि ५० करोडको बीचमा नाफा कमाएका छन् । सिभिल, सेञ्चुरी र बैंक अफ काठमाण्डूले भने ३० करोडभन्दा कम नाफा कमाएका छन् ।
४ बैंकको नाफा घट्यो
समीक्षा अवधिमा २३ वटा बैंकले नाफा बढाउन सफल भएका छन् भने ४ वटाको घटेको छ । खुद नाफा घट्ने बैंकहरुमा प्राइम कमर्शियल, कुमारी, प्रभु र नेपाल बंगलादेश बैंक रहेका छन् ।
जसमा सबैभन्दा धेरै नेपाल बंगलादेश बैंकको २७.९३ प्रतिशतले घटेको छ । त्यसैगरी, प्रभुको २५.१४ प्रतिशत, कुमारी १०.१९ प्रतिशत र प्राइमको ३.९ प्रतिशतले घटेको छ ।
यी बैंकहरुको खुद ब्याज आम्दानीका साथै खराब कर्जाबापत प्रोभिजनिङ गर्नुपर्ने रकम बढेकाले नाफा घट्न पुगेको देखिन्छ ।
सिभिलको छलाङ, ९ बैंकको नाफा ५० प्रतिशतभन्दा धेरैले बढ्यो
पहिलो त्रैमासमा ९ बैंकको खुद नाफा ५० प्रतिशभन्दा धेरैले बढेको छ । जसमा सिभिल बैंक्ले सबैभन्दा ठूलो फड्को मारेको छ । यस अवधिमा सिभिलले खुद नाफा सबैभन्दा धेरै २०१.८८ प्रतिशतले वृद्धि गरेको छ । गत वर्ष पहिलो त्रैमासमा ९ करोड ६६ लाख खुद नाफा कमाएको सिभिलले चालू आवको सोही अवधिमा यस्तो नाफा तेब्बरले वृद्धि गर्दै २९ करोड १८ लाख रुपैयाँ पुर्याएको छ ।
यस्तै, धेरै नाफा वृद्धि गर्ने बैंकहरुमा सिदार्थ ८९.५ प्रतिश, नेपाल एसबीआई ८५.९९, लक्ष्मी ७६.९९, एभरेष्ट ७२.९२, माछापुच्छ्रे ५५.५९, एनसीसी ५४.८३, सानिमा ५२.१४ र मेगा ५०.४७ प्रतिशत रहेका छन् ।
नोट : प्रस्तुत तथ्यांक बैंकहरूले प्रकाशित गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणबाट लिइएको हो ।