बैंकहरुले राम्रो घर–जग्गा हेरेर भन्दा व्यावसायको प्रकृति हेरेर ऋण दिनुपर्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले बैंकहरुले व्यवसायको प्रकृति र व्यवसायीको प्रतिष्ठा र विश्वसनियता हेरेर बैंकहरुले ऋण लगानी गर्नुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कर्मसले आयोजना गरेको एक कार्यक्रममा अर्थमन्त्री खतिवडा उक्त कुरा बताएका हुन् ।

 

‘बैंकले सधैं घर र जमिन मात्र हेरेर ऋण दिने हो भने त व्यवसाय नै गर्नु परेन नी । राम्रो–राम्रो जग्गा भएकाले मात्र ऋण पाउने भए,’ अर्थमन्त्री खतिवडाले बताए ।

 

नेपालमा हाल बैंकहरुले बाटोघाटो भएका, राम्रा र महङ्गा घर–जग्गाहरुलाइ मात्र धितोको रुपमा स्वीकार गरेर ऋण लगानी गर्दै आएका छन् । त्यसमा पनि उनीहरुले घरको कुनै व्यक्तिलाई ऋण लगानी गर्नुपरे एकाघरका अन्य सबै सदस्यहरुलाई समेत जमानी राख्दै आएका छन् ।

 

यस्तो प्रवृतितर्फ संकेत गर्दै अर्थमन्त्रीले उक्त कुरा बताएका हुन् । ‘धितो भनेको त दोस्रो तहको सुरक्षा मात्र हो’, उनले भने ।बैंकले  ब्याजदरसमा पनि खेलबाड गरेको मन्त्री खतिवडाको भनाई थियो । ‘बैंकहरुले ब्याजदरमा खेलवाड नगर्नुस् भनेर मैले भनेको छु । १ वर्ष भित्रै १० प्रतिशत विन्दुको ब्याजदर बढाउनु भएन । ऋण दिएपछि कम्तीमा २–३ वर्ष त ब्याज स्थिर हुनुपर्यो,’ उनले भने ।

 

अर्थमन्त्रीले व्यवसायीहरुले वस्तुपरक ब्याजदर स्वीकार गर्न नसकेको बताए । ‘व्यवसायीहरुले पनि यर्थाथलाई स्वीकार्नुपर्यो । ५–६ प्रतिशतमा नेपालमा ऋण पाईन्छ भनेर व्यवसायीहरुले पनि आश गर्नु भएन । नेपालमा पैसा महङ्गो छ’, उनले भने ।

 

उद्योग खोल्ने नाममा जग्गा किनेर प्लटिङ गर्न पाइँदैन

 

अर्थमन्त्री खतिवडाले उद्योग खोल्नका लागि लिएको जग्गामा उद्योग नै खोल्नु पर्ने र उद्योग सम्बन्धी कामका लागि मात्र बेचबिखन गर्नुपर्ने बताए ।‘उद्योगको नाममा जमिनमा सट्टेबाजी नहोस भनेर सरकारले चाहेको छ ।

 

होटलको नाममा बिसौं बिघा जमिन लिने र १–२ बिघामा होटल बनाएर बाँकी प्लटिङ गरेर बेच्ने कामलाई त सरकारले निरुत्साहित गर्छ ।

 

पोल्ट्री र्फाम खोल्दा पनि पोल्ट्रीको त के नै भर छ र ? जग्गाको भाउ बढ्यो भने कमाउने हो भनेको पनि सुनियो । तर, आफूले लिएको जग्गा व्यवसाय बढाउनलाई वा प्रर्बद्धन गर्नलाई बेच्नै पाइँदैन भन्ने पनि भएन । यसमा सन्तुलन हुनुपर्छ । हद भन्दा बढी जग्गा बैंकले पनि धितो लिँदैन’, मन्त्री खतिवडाले भने ।

 

पैतृक सम्पत्तिमा करका बारे छलफल

 

पछिल्लो समय निकै चर्चा पाइरहेको पैतिृक सम्पत्ति हस्तान्तरण करको बारेमा अर्थमन्त्रीले छलफलमात्र चलेको बताए ।
‘यसमा कुनै कर वा दर तोकिएको पनि छैन । सरकारको निर्णयको रुपमा आइसकेको पनि होइन । यसलाई छलफलमा ल्याउन खोजिएको हो ।

 

करको दायरामा आएपछि पैतिृक सम्पत्ति पनि औपचारिक हुन्छ भन्ने हाम्रो बुझाई हो । व्यवसाय गर्न पनि सुरक्षित धितो हुनसक्छ कि भन्ने पनि लाग्छ । यो ठिक हो वा होइन भन्ने पनि वहस शुरु गरौं भन्ने सरकारको योजना हो’ मन्त्री खतिवडाले भने ।

 

पैतिृक सम्पत्तिमा कर विश्वव्यापी रुपमा चलेको छ । तर, त्यत्ति लोकप्रिय भने छैन । विश्वव्यापी चलनको मान्यता नै पक्रेर शुरुवाती छलफल मात्र भएको अर्थमन्त्रीले बताए । उनले यो राजश्व छलफलको एजेण्डा मात्र भएको बताए ।

 

यसैगरी, हालसाले सरकारले लागू गरेको प्यानको व्यवसायीहरुले विरोध गरिरहेको समयमा मन्त्री खतिवडाले प्यानको शुरुवात अनौपचारिक व्यवसायलाई औपचारिक बनाउनका लागि शुरु गरिएको बताए ।

नाडा अटो शोमा म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन Read Previous

नाडा अटो शोमा म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन

गाडी किन्न ऋण दिन बैंकहरुको तँछाड मछाड, कुनले कति ब्याजदरमा दिन्छन् Read Next

गाडी किन्न ऋण दिन बैंकहरुको तँछाड मछाड, कुनले कति ब्याजदरमा दिन्छन्