बेमौसमी वर्षाको विध्वंस : २.७० लाख टन धान डुब्यो, दर्जनौं पुल बगायो, कति अर्बको भयो क्षति ?

काठमाडौँ । कार्तिकको पहिलो साता परेको बेमौसमी वर्षाले देशका विभिन्न भू–भागमा अर्बौं रुपैयाँको क्षति पुर्याएको छ । वर्षाले धानबाली, तरकारी खेती सडक र पुलमा क्षति पुर्याउँदा करिब १० अर्बको क्षति पुगेको सरकारको प्रारम्भिक आकलन छ ।

 

बेमौसमी वर्षाले किसानले भित्र्याउन लागेको धान खेतमै डुबाउँदा ८ अर्ब बढीको क्षति पुगेको कृषि मन्त्रालयले जनाएको छ । त्यस्तै, देशका विभिन्न सडक र पुल बगाउँदा करिब डेढ अर्ब बढीको क्षति पुगेको सडक विभागले बताएको छ ।

 

वर्षाले भित्र्याउन लागेको धानका साथै केरा, तरकारीखेती लगायत अन्य बालीमा समेत क्षति पुयाएको छ । प्रदेश कृषि निर्देशनालय मार्फत क्षति विवरण प्राप्त भइनसकेका खाद्य बालीको तथ्यांक संकलन गर्ने काम भइरहेको कृषि तथा पशुपंन्छी मन्त्रालयको भनाइ छ ।

 

भित्र्याउनै लागेको धान माटोमा परिणत भएपछि खाद्य संकट बढ्ने विज्ञहरु बताउँछन् । वर्षाले ठूलो परिमाणमा खाद्यबाली नष्ट भएपछि समग्र अर्थतन्त्रमा असर पर्नुका साथै व्यापार घाटा पनि बढ्ने उनीहरुको भनाइ छ ।

 

८ अर्ब २१ करोडको धानबाली क्षति

 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार वर्षाले देशभर ८ अर्ब २१ करोड रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको छ । मन्त्रालयका अनुसार २ लाख ६९ हजार ८४२ मेट्रिकटन धान क्षति भएको हो ।

वर्षाले १ लाख ७१ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा असर पुर्याएको मन्त्रालयले जनाएको छ । यस वर्ष देशभर कुल साढे १३ लाख हेक्टर क्षेफल जमिनमा रोपाइँ गरिएको थियो ।

 

कृषकको धान बालीमा पुयाएको क्षति मूल्यांकन र राहतबारे छलफलका लागि कार्तिक ९ गते सातै प्रदेशका कृषिमन्त्री र कृषि सचिवको बैठक राखिएको कृषि मन्त्रालयका प्रवक्ता प्र्रकाशकुमार संञ्जेलले जानकारी दिए । साथै प्रदेशस्तरमा तथ्यांक संकलनमा समन्वय र सहजीकरणका लागि सातवटै प्रदेशमा १/१ वटा कार्यटोली गठन गरिएको छ ।

 

कुन प्रदेशमा कति क्षति ?

 

कृषि मन्त्रालयका अनुसार बेमौसमी वर्षाले वाग्मती प्रदेश बाहेक अन्य प्रदेशको धान बालीमा अर्बौंको क्षति पुर्याएको छ । वर्षाले सबैभन्दा बढी लुम्बिनी प्रदेशको धानबालीमा क्षति पुर्याएको मन्त्रालको तथ्यांकले देखाएको छ । उक्त प्रदेशका विशेषगरी बाँके,बर्दिया,रुपन्देही र कपिलवस्तु जिल्लाको धानबालीमा क्षति पुगेको छ ।

लुम्बिनीमा ९३ हजार हेक्टर क्षेत्रफल जमिनमा लगाएको धानबालीमा असर परेको छ भने ४२ हजार हेक्टर जमिनको धानबालीमा क्षति पुगेको छ । ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको १ लाख ६१ हजार मेट्रिकटन धानबाली क्षति भएकोे कृषि मन्त्रालयले जनाएको छ ।

 

यस्तै, सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा १ अर्ब ९१ करोड रुपैयाँ बराबरको ६८ हजार मेट्रिकटन धानबाली क्षति भएकोे छ । यसैगरी, प्रदेश १ का झापा,मोरङ र सुनसरीमा ८० करोड रुपैयाँ बराबरको २८ हजार मेट्रिकटन बराबरको क्षति पुगेको छ ।

 

मन्त्रालयका अनुसार प्रदेश २ का सप्तरी सिराहर सर्लाहीमा ५६ करोड रुपैयाँ बराबरको २० हजार मेट्रिकटन धानबालीमा क्षति पुगेको छ । यस्तै, कर्णाली प्रदेशका डोेल्पा,जुम्ला,सल्यान र सुर्खेतमा ३० करोड रुपैयाँ बराबरको ४० हजार मेट्रिकटन धानमा क्षति पुगेको छ ।

 

गण्डकी प्रदेशका कास्की, स्याङजा र नवलपरासी पूर्वमा १३ करोड रुपैयाँको ४५ हजार मेट्रिकटन धान क्षति भएको छ ।

 

सडक र पुलमा डेढ अर्ब क्षति

 

यस्तै, कार्तिकमा परेको वेमौसमी वर्षाले मात्र देशभर सडक र पुल गरेर १ अर्ब ४० करोड रुपैयाँ बराबरको क्षति भएको सडक विभागको प्रारम्भिक तथ्यांक छ । वर्षात सुरुभए यता सडक र पुलमा मात्रै साढे ३ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।

विभागका अनुसार वर्षाले देशभर २८ पुलमा क्षति पुर्याएको छ । ११ वटा आरसीसी पुल, १ बेलिब्रिज,३ वटा काठको पुल र १३ वटा निर्माणाधीन पुलमा क्षति पुगेको हो ।

 

सडक विभागका अनुसार पछिल्लो वर्षाका कारण आएको बाढी र पहिरोले क्षति पुगेका ७ वटा राजमार्ग हालसम्म संञ्चालन हुनसकेका छैनन् । कुल २४५ मध्ये १३९ वटा सडक एकतर्फी मात्र संञ्चालनमा रहेको विभागले जनाएको छ ।

 

मनाङको डुम्रे–बेंसीसहर चामे सडक दुइ दिनदेखि अबरुद्ध भएको छ । धनगढी,स्याउले–राजपुर,खोड्पे–चेनपुर बझाङ सडक,पुष्पलाल मध्येपहाडी लोकमार्ग बाढी र पहिरोका कारण अबरुद्ध वस्थामा रहेको विभागले जनाएको छ । औषतभन्दा अधिक वर्षाका कारण आएको अत्याधिक बाढी तथा पहिरोको कारण सडक तथा पुुलहरुमा क्षति भएको विभागको भनाइ छ ।

 

विभागका अनुुसार लकडाउनका कारण समयमै निर्माण व्यवसायीहरुले कार्य सम्पन्न गर्न नपाएकोले निर्माणाधीन पुलहरुमा क्षति पुगेको हो ।

 

दशैंपछि बैंकिङ प्रणालीबाट २० अर्ब गायब, कर्जा लगानी ठप्प Read Previous

दशैंपछि बैंकिङ प्रणालीबाट २० अर्ब गायब, कर्जा लगानी ठप्प

४९० मेगावाटको अरुण-४ जलविद्युतको सर्वेक्षण अनुमति प्राधिकरणलाई Read Next

४९० मेगावाटको अरुण-४ जलविद्युतको सर्वेक्षण अनुमति प्राधिकरणलाई