तनहुँ जलविद्युतको प्रसारण लाइन निर्माणले गति लिँदै, ७ टावर तयार

दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिएको छ । आयोजनाको प्याकेज–३ अन्तर्गतको प्रसारण लाइन निर्माणका लागि हालसम्म ७ टावर निर्माण सम्पन्न गरिएका छन् ।

 

कूल ९४ मध्ये २७ फाउण्डेशनको काम सकिएको छ भने ६ वटा फाउण्डेशनको काम चलिरहेको छ । त्यस्तै २० टावरका लागि आवश्यक सामग्री फिल्डमा आउने क्रममा रहेको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिए। प्रसारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको छ ।

 

प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी ५ आना) जग्गा अधिग्रहण गरिनेछ । त्यसका लागि जग्गाको मुआब्जा पनि वितरण भइरहेको छ । प्रसारण लाइन निर्माणका क्रममा व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ ।

 

प्रसारण लाइन निर्माणका लागि रुख काट्नुपर्ने सङ्ख्या घटेकाले आइई पुनरावलोकन गरी स्वीकृतिका लागि विद्युत् विकास विभाग पठाइएको घिमिरेले बताए। प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गर्न १ करोड ३१ लाख ३४ हजार ५१० मुआब्जा निर्धारण गरिएको छ ।

 

आयोजनाले तीनवटै प्याकेजका कामलाई तीव्रता दिइरहेको छ । प्याकेज–१ अन्तर्गत पनि निर्माण कम्पनीले आवश्यक तयारी थालेको छ । प्याकेज–१ अन्तर्गतको नदी फर्काउने, बाँध निर्माणलगायत पहिलो प्याकेजका लागि आठ जना भियतनामी प्राविधिक साइटमै परिचालन छन् ।

 

उक्त कामका लागि आयोजनाले सोङ दा कर्पोरेशन, भियतनाम–कालिका कन्सट्रक्शन प्रालि नेपाल जेभीसँग सम्झौता गरेको थियो । उनीहरुले अहिले साइटमा क्याम्प निर्माण, रिभर क्रसिङसम्बन्धी काम गरिरहेका छन् । विस्तृत सर्वेक्षण र डिजाइनको काम पनि भइरहेको आयोजनाले जनाएको छ ।

 

प्याकेज–२ अन्तर्गत सिनो हाइड्रोले भूमिगत काम गरिरहेको छ । सोअनुसार हाल पाँच ठाउँमा काम भइरहेको छ । पावरहाउस, वर्क टनेल, सर्च ट्याङ्कलगायतका काम चलिरहेको छ । सिनो हाइड्रोले हालसम्म पाँचवटा सुरुङको काम सकेको छ । १९० मिटरको केवल सुरुङ, २८१ मिटरको मुख्य प्रवेश सुरुङ, ४३७ मिटरको सर्च ट्याङ्क जाने पहुँच सुरुङ र ३१४ मिटरको ड्याम जाने सुरुङ खनेर सकिएको छ । रासस

महिला लघुवित्तको लाभांश परिमार्जन, बोनस सेयर बढ्यो Read Previous

महिला लघुवित्तको लाभांश परिमार्जन, बोनस सेयर बढ्यो

मुग्लिङ-पोखरा सडक ४ लेन बनाइँदै, ७ हजार रुख काटिने Read Next

मुग्लिङ-पोखरा सडक ४ लेन बनाइँदै, ७ हजार रुख काटिने