बैंकिङ प्रणालीमा तरलता प्रवाह हुँदै, १० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (कात्तिक ४ गते) १० अर्ब रुपैयाँ बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ । केही समय अघिदेखि बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिँदा राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गर्न लागेको हो ।

 

राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार बैंकले आगामी कात्तिक ११ गते परिपक्व हुने १० अर्ब बराबरको रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् ।

 

बजारमा तरलताको अभावले बैंक तथा वित्तीय संस्थाले निक्षेप सङ्कलन गर्न ब्याजदर बढाउन थालेका छन् । निक्षेप बढाउन र आफ्नो निक्षेप बाहिर जान नदिन बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको सुरुआतमै दुई अङ्कको ब्याजदर कायम गरेका थिए ।

 

त्यसरी बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर असाधारणरूपमा बढाएको भन्दै ब्याजदर व्यवस्थित गर्न राष्ट्र बैंकले मङ्गलबार तीन बुँदे निर्देशन जारी गरेको थियो ।

 

बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ । गत असोज २० गते बैंकले २० अर्ब बराबरको १४ दिन अवधिको रिपो जारी गरेको थियो ।

 

तरलता अभाव समस्याको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्ने गर्दछन् । बैंक तथा वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरिरहे पनि तरलता व्यवस्थापन सहज हुनसकेको छैन ।

पोखरामा विश्वकै भिरालो सुपरम्यान जिपलाइन संचालनमा, खेल्न कति लाग्छ खर्च ? Read Previous

पोखरामा विश्वकै भिरालो सुपरम्यान जिपलाइन संचालनमा, खेल्न कति लाग्छ खर्च ?

अब पुराना मोबाइलबाट सुन र बहुमूल्य धातु निकालिने,  प्रविधिको विकास Read Next

अब पुराना मोबाइलबाट सुन र बहुमूल्य धातु निकालिने, प्रविधिको विकास