काठमाडौं । राष्ट्र बैंकले बैंकहरुको व्याजदर बढाउने होडबाजीमा अंकुश लगाएपछि सेयर बजार ६०.५६ अंकले बढेको छ । यसअघि लगातार २ दिन सेयर बजारमा भिषण पहिरो गएको थियो । आज बुधबार ६०.५६ अंकले बढेर नेप्से परिसूचक २६७१.६६ को बिन्दुमा रोकिएको हो ।
नेप्सेमा हरीयाली छाएपनि कारोबार रकम भने घटेको छ ।
आज २१७ कम्पनीको २ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको छ । नेप्सेका अनुुसार ३४ हजार पटकको सेयर कारोबारमा ६१ लाख कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका सबै उप–समूहमा हरियाली छाएको छ ।
फाइनान्स समूह सबैभन्दा धेरै ५.८१ प्रतिशतले बढेको छ भने हाइड्रो पावर ४.३१ अंकले बढेको छ । यस्तै, अन्य, विकास बैंक, होेटेल पर्यटन र ट्रेडिङ ३ प्रतिशत भन्दा बढिले बढेका छन् ।
आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ९ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, हिमाालयन डिस्टिलरी र अरुण भ्याली हाइड्रो कम्पनीको ७ करोड भन्दा बढी रुपैैयाँको कारोबार भएको छ । नेशनल हाइड्रो कम्पनीको र अपि पावर कम्पनीको ६ करोड भन्दा बढि रुपैयाँमा कारोबार भएको छ ।
आज अंखुखोला जलविद्युत, युनिभर्सल पावर कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य सकारात्मक सकिर्ट लेभलमा कारोबार भएको छ । यसैगरी नेशनल हाइड्रोपावर र सिइडिबी हाइड्रो कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढिले कमाएका छन् ।
आज सबैभन्दा धेरै नबिल प्रगति फन्डका लगानीकर्ताले २.३४ प्रतिशतले गुमाएका छन् ।