कृषि सहायता कोष खडा गरी किसानलाई राहत दिन प्रचण्डको आग्रह

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि सहायता कोष खडा गरी बाढी तथा पहिराबाट प्रभावित किसानलाई राहत दिन सरकारसँग आग्रह गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले बाढी र पहिराबाट सबैभन्दा बढी किसान प्रभावित भएको जनाउँदै उनीहरुलाई तत्काल राहत र क्षतिपूर्ति दिन आग्रह गरेका हुन् ।

 

धानवाली थन्काउने बेलामा आएको अविरल वर्षाका कारण किसानका धानलगायत बालीनालीको ठूलो क्षति भएको छ । धान काटेर सुकाइएका खेतमा बाढी पसेपछि ठूलो मात्रामा धान नष्ट भएको छ । अध्यक्ष दाहालले बाढीपहिरामा फसेका नागरिकको उद्धार र राहत, घाइतेको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकको खानपान र बसोबासको व्यवस्था मिलाउन पनि अनुरोध गरेका छन् ।

 

पछिल्ला तीन दिनदेखि देशभर परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश नं १, सुदूरपश्चिम प्रदेशलगायत देशका विभिन्न भागमा ४८ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । बाढी पहिरामा परी झण्डै ३० भन्दा बढी नागरिक सम्पर्कविहीन भएका छन् ।

 

अध्यक्ष दाहालले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले बाढीपहिरामा परी बेपत्ता भएकाको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र सघंका सुरक्षालगायत सबै सरकारी निकाय, स्थानीय स्वयम्सेवी, विभिन्न सङ्घसंस्था, व्यक्ति, युवा र पार्टीका नेता तथा कार्यकर्तामा विशेष आग्रह गरेका छन् ।

कोभिड खोप वैश्विक सार्वजनिक वस्तुको रुपमा उपलब्ध गराउनुपर्छ : अर्थमन्त्री शर्मा Read Previous

कोभिड खोप वैश्विक सार्वजनिक वस्तुको रुपमा उपलब्ध गराउनुपर्छ : अर्थमन्त्री शर्मा

राष्ट्र बैंकको निर्देशनको सेयर बजारमा सकारात्मक प्रभाव, ६०.५६ अंकले बढ्यो नेप्से Read Next

राष्ट्र बैंकको निर्देशनको सेयर बजारमा सकारात्मक प्रभाव, ६०.५६ अंकले बढ्यो नेप्से