काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट धमाधम सेयरधनीलाई लाभांश घोषणा गर्न थालेका छन् ।
यसैैक्रममा, हालसम्म गत वर्षको नाफाबाट नेप्सेमा सूचीकृत १७ वटा माइक्रोफाइनान्स कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् । माइक्रोफाइनान्स कम्पनीहरुले औसतमा २३ प्रतिशत लाभांश घोषणा गरेका छन् ।
हालसम्म लाभांश घोषणा गरेका लघुवित्तहरुमध्ये ८ वटाले २५ प्रतिशतभन्दा बढी घोषणा गरेका छन् भने ९ वटाले औसतभन्दा कम अर्थात् २३ प्रतिशतभन्दा कम घोषणा गरेका छन् ।
लाभांश घोषणा गर्ने माइक्रोफाइनान्समध्ये महिला लघुवित्तले सबैभन्दा धेरै ५० प्रतिशत लाभांश घोषणा गरेको छ भने एनआइसी एशिया लघुवित्तले सबैभन्दा कम ५.४१ प्रतिशत घोषणा गरेको छ ।
गत वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश घोषणा (हालसम्म) गर्ने लघुवित्त बनेको महिलाल लघुवित्तले ५० प्रतिशत लाभांश दिने भएको छ नेप्सेमा सूचीकृत माइक्रोफाइनान्समध्ये सबैभन्दा महँगो सेयर मूल्य रहेको महिलाले गत आवको नाफाबाट ४५ प्रतिशत बोनस र ५ प्रतिशत नगद दिने घोषणा गरेको हो ।

यस्तै, दोस्रो धेरै स्वाभिमान लघुवित्तले ३४ प्रतिशत घोषणा गरेको छ । स्वाभिमानले सेयरधनीलाई ३२.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७० प्रतिशत नगद गरी कुल ३४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
यसैगरी, सबैको लघुवित्तले ३१.०५ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशत नगद गरी ३२.६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।यस्तै, ग्लोबल आइएमई लघुवित्तले २८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । गत वर्ष स्पर्श लघुवित्तलाई गाभेको ग्लोबलले कर छुट पाउने भएकाले नगद भने घोषणा गरेको छैन ।
यसैगरी, लक्ष्मी लधुवित्तले २० प्रतिशत बोनस सेयर र ७.३६ प्रतिशत नगद गरी कुल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।यस्तै,आशा र साधना लघुवित्तले समान २६.३२ प्रतिशत घोषणा गरेका छन् । दुवै लघुवित्तले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका हुन् ।
यसैगरी, स्वरोजगार लघुवित्तले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । स्वरोजगारले गत वर्ष जनकपुर लघुवित्तलाई प्राप्ति गरेको हुनाले बोनसमा लाग्ने कर छुट पाएको हुँदा नगद भने दिएको छैन ।
यस्तै, नेरुडेले २२.६१ प्रतिशले, डिप्रोक्स र मेरा माइक्रोफाइनान्सले २१.०५ प्रतिशत, मिर्मिरे र सिभिल लघुवित्तले २० प्रतिशत, गुँरास १७.७८ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्स र आरएसडीसले १० प्रतिशत र एनआइसी एशियाले लघुवित्तले ५.४१ प्रतिशत लाभांश घोषणा गरिसकेका छन् ।
लाभांश घोषणा गर्ने लघुवित्तमध्ये डिप्रोक्स र साधना लघुवित्तले साधरण सभा समेत डाकी सकेका छन् । डिप्रोक्सले बुकक्लोज समेत गरिसकेको छ भने साधनाले कात्तिक ३ गतेदेखि बुकक्लोज गर्ने जनाएको छ ।
लघुवित्तहरुले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित कम्पनीको साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।