नागढुंगा सुरुङमार्ग निर्माण ५ दिन ठप्प हुने, दशैंपछि मासिक ३५० मिटर खन्ने लक्ष्य

निर्माणधीन नागढुंगा-नौबिसे सुरुङमार्ग ।

काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माण दशैँमा ५ दिनका लागि बन्द हुने भएको छ । असोज २६ गते फूलपातीका दिनदेखि ३० गते टीकाको दिनसम्म बन्द हुने भएको हो ।

 

आयोजना निर्देशक नरेशमान शाक्यका अनुसार ५ दिन जनशक्तिहरुलाई दशैं बिदा दिइएकाले काम बन्द हुने भएको हो । असोज ३१ गतेदेखि पुनः काम सुरु हुने उनले जानकारी दिए ।

 

‘अबको ५ दिन टनेल निर्माण ठप्प नै रहन्छ, सबै कर्मचारीहरुलाई छुट्टी दिइएको छ, टीकाको भोलिपल्टबाटै हामी काम सुरु गर्ने छौँ,’ शाक्यले भने ।

 

हालसम्म १७१३ मिटर खनियो

 

असोज २५ गते (आज) सम्म नागढुंगा सुरुङमार्गमा कुल १ हजार ७१३ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । पूर्व (काठमाडौं) तर्फ ८८९ मिटर टनेल खन्ने काम पूरा भएको छ । पश्चिम (धादिङ) तर्फ ८२४ मिटर टनेल खन्ने काम पूरा भएको उनले जानकारी दिए ।

 

आयोजना निर्देशक शाक्यका अनुसार हालसम्म ५२२ मिटर मुख्य टनेल खनिसकिएको छ । काठमाडौंतर्फ २५७ मिटर र धादिङतर्फ २६५ मिटर मुख्य टनेल खनिएको छ । स्केप टनेल सुरुङतर्फ हालसम्म १ हजार २७ मिटर टनेल खनिएको छ । काठमाडौं तर्फ ६०९ र धादिङ तर्फ ४१८ मिटर स्केप टनेल खनिसकिएको हो ।

 

वर्किङ क्षेत्रमा धादिङतर्फ १२६ मिटर वर्किङ सुरुङ खन्ने काम भएको छ । साथै क्रस प्यासेज ३८ मिटर खनिएको छ । कुल ५ हजार ४९९ मिटर सुरुङमध्ये हालसम्म १ हजार ७१४ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको हो ।

 

दशैंपछि मासिक ३५० मिटर खन्ने लक्ष्य

 

उनले दशैं लगतै सुरुङ निर्माणको गति अझै बढाइने बताए । दशैं लगतै दैनिक सुरुङ खन्ने काम १२ मिटरसम्म पुर्याइने उनले बताए । यसरी सुरुङ मासिक ३५० मिटर खन्ने लक्ष्य रहेको छ ।

 

सुरुङसँगै पर्ने पृथ्वी राजमार्गको अहिले संचालनमा रहेको बाटो ओभर पास बनाएर संचालन हुन दिने र सुरुङमार्गबाट निस्कने बाटोलाई त्यसमुनि संचालन हुने गरी यस सुरुङमार्गको डिजाइन गरिएको छ ।

 

यो सुरुङमार्ग करिब २.७ किलोमिटर हुनेछ । काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

 

४४ महिनामा निर्माण सक्नुपर्ने सम्झौता भए पनि विभिन्न समस्याहरूका कारण सुरुङ खन्ने काम ढिला सुरु भएको आयोजनाले जनाएको छ । अब सुरुङमार्ग निर्माण सम्पन्न गर्न २१ महिना बाँकी रहेको छ । ४४ महिनाको अवधि भए पनि सुरुङ मात्र खन्न १४ महिना भित्र सम्पन्न गर्ने निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेशनले जनाएको छ ।

 

दशैंलाई सेयर बजारको रातो टीका, यी हुन् धेरै मूल्य घट्ने ९ कम्पनी Read Previous

दशैंलाई सेयर बजारको रातो टीका, यी हुन् धेरै मूल्य घट्ने ९ कम्पनी

दुई दिनमै रसुवागढी नाकाबाट भित्रिए ३६ कन्टेनर स्याउ Read Next

दुई दिनमै रसुवागढी नाकाबाट भित्रिए ३६ कन्टेनर स्याउ