काठमाडौं । सरकारले बासमती चामलको उत्पादन बढाउनका लागि किसानहरुलाई लक्षित गर्दै कार्यक्रम ल्याएको छ । विशेष गरी सुदूरपश्चिमका किसानहरुलाई हंसराज बासमती चामलको व्यवसायिक रुपमा खेती गर्न प्रोत्साहन गर्ने लक्ष्य सहित विशेष कार्यक्रम ल्याइएको हो ।
नेपालमा वर्षेनी अर्बौं रुपैयाँको वासमती चामल आयात हुने गर्छन् । बास्नादार चामल खान पल्केका सहरीयाहरुको माग पूरा गर्नका लागि बासमती चामलको विशेष व्यवसायिक खेती गर्न प्रोत्साहन गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
कृषि ज्ञान केन्द्र (साविक जिल्ला कृषि कार्यालय)सुगन्धित धान उत्पादन गर्नको लागि विशेष परियोजना केही समय अघिदेखि लागू गरेको थियो ।कृषि मन्त्रालयका अनुसार ज्ञान केन्द्रको मद्दतबाट नेपालमै उत्पादित बासमती चामललाई प्याकिङ, लेबलिङ र बजारिकरणसम्मको व्यवस्था गरिने छ ।
मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सान्जेलले उक्त चामलको माग बढाउन सके यसका अन्य भेराइटीहरु समेत विस्तार गर्दै लैजाने बताए । उनले माग बढे मन्त्रालय तथा स्थानीय तहबाट समेत बजारीकरणसम्मको सहयोग पुर्याउने बताए ।
‘सुरुमा यसको बजार पहिचान गर्न केही सहरी क्षेत्रमा विक्री गर्ने छौं, त्यसपछि माग अनुसार उत्पादन बढाउदै लैजाने छौं,’ सन्जेलले भने ।
सरकारले बझाङमा पाइलट प्रोजेक्टको रुपमा बासमती धानको व्यवसायिक उत्पादन सुरु गरेको छ । धान रोपाइँ गरिएको ७ हजार ५ सय हेक्टर मध्ये २ हजार हेक्टरमा मात्र बासमती चामल रोपिएको छ । पहिलो चरणमा कात्तिकमा धान काटेर काठमाडौं, महेन्द्रनगर, धनगढी लगायतका सहरहरुबाट विक्री सुरु गरिने छ ।
बासमती चामल विश्वमै बढी माग हुने चामल हो । जुन विशेष भौगोलिक क्षेत्रमा उत्पादन हुन्छ । विशेष गरी भारतको हिमालयन तराई क्षेत्रमा यसको उत्पादन धेरै हुने गर्छ । यो चामल लामो, पातलो र नरम हुन्छ । यसको स्वाद स्वादिष्ट हुनुका साथै बास्नादार समेत हुने गरेको पाइन्छ ।
एक अध्ययनका अनुसार नेपालमा १३३ थरी बासमती चामल उत्पादन हुन्छन् । नेपालमा ६० जिल्लाहरुमा बासमतीका चामल उत्पादन हुने गर्छन् । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय वैज्ञानीकहरुले नेपालको तल्लो उचाइलाई बासमती चामलको उत्पत्ती केन्द्रहरु मध्ये एकको रुपमा परिभाषित गरेका छन् ।
धेरै बासमती चामलहरु भौगोलीक क्षेत्रअनुसार विशेष मूल्यांकन गरिएको छ । राष्ट्रिय बीउविजन बोर्डमा ४ थरी बासमती चामल रजिष्टर गरिएका छन् । जसमध्ये पोखरेली जेठोबुढो चामल, लल्का बासमती चामल, शुद्धधान र कालोनुनीया धान दर्ता भएका छन् ।
भारतले २०१८ मा यूरोपीयन यूनियनमा बासमती चामललाई भौगोलिक चिह्नका लागि आवेदन दिएको थियो । उक्त अवस्थालाई मध्य नजर गर्दै नेपालले समेत स्वदेशी बासमती चामलको निर्यात सम्भावना औँल्याउँदै विविधताको प्रमाण सहित एक पत्र पेस गरेको मन्त्रालयले जनाएको छ ।
यूरोपियन यूनियनद्धारा बासमती चामलमा ट्याग लागे उक्त चामल निकै महंगो मूल्यमा विश्व बजारमा निर्यात गर्न सकिनेछ । नेपालमा ५५ मेट्रिकटन देखि ५६ मेट्रिकटन धान उत्पादन हुनेगर्छ । वर्षेनी विश्वभर ५० लाख मेट्रिकटन बढि चामल खपत हुने गरेको पाइन्छ ।
लङग्रेन बासमती चामलको उपभोग विश्व बजारमा बढिरँहदा नेपालमा समेत यसको आयात बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ५ अर्ब रुपैयाँ बराबरको चामल आयात भएको थियो । प्रत्येक वर्ष ५१.४ प्रतिशतले बढ्दै गइरहेको राष्ट्र बैंकले जनाएको छ ।