काठमाडौं । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको टनेल खन्ने काम सम्पन्न (ब्रेक थ्रु) भएको छ । साहस ऊर्जा लिमिटेडले निर्माण गरेको उक्त आयोजनाको ४ हजार ४९६ मिटर लामो हेडरेस टनेलको बिहीबार ‘ब्रेक थ्रु’ भएको हो ।
आयोजनाका प्रवद्र्धक, लगानीकर्ता, प्राविधिकलगायतको उपस्थितिमा बिहीबार टनेल खन्ने कामलाई पूर्णता दिइएको थियो । सुरुङको ‘ब्रेक थ्रु’ भएसँगै आयोजनाको एक मुख्य काम सम्पन्न भएको निर्माता कम्पनीले जनाएको छ ।
हालसम्म आयोजनाको करिब ७५ प्रतिशत हाराहारीमा काम सम्पन्न भएको जनाइएको छ । स्वदेशी लगानीमा निजी क्षेत्रले निर्माण गरिरहेको हालसम्मकै ठूलो क्षमताको आयोजना हो ।

८६ मेगावाट क्षमताको आयोजनाको लागत करिब ११ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । जसअनुसार प्रति मेगावाट लागत साढे १३ करोड रुपैयाँ हाराहारी मात्रै रहेको छ । यसलाई तुलनात्मक रुपमा प्रतिमेगावाट लागत सस्तो मानिन्छ ।आयोजनामा नेपाल नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा १० बैंकले ८ अर्ब ६५ करोड ऋण लगानी गरेका छन् ।
वार्षिक ५२० गिगावाट आवर विद्युत ऊर्जा उत्पादन गर्ने आयोजनाले सुख्खायाममा १०० गिगावाट र वर्षायाममा ४२० गिगावाट आवर ऊर्जा उत्पादन गर्ने छ । जसबाट आयोजनाले वर्षायाममा १ अर्ब ९२ करोड र सुख्खा याममा ८४ करोड गरि वार्षिक दुई अर्ब ८६ करोड रुपैयाँको विद्युत विक्री गर्ने छ ।