मध्य भोटेकोशीको आइपीओ खुल्यो, कति कित्ता भर्ने ?

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले आज (१० बजे)देखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर विक्रीमा ल्याएको हो ।

 

निष्काशित कुल ९० लाख कित्तामध्ये ३ लाख ६० हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

 

कम्पनीको आइपीओमा सर्वसाधारणले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा कात्तिक ३ गतेसम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।

 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले धितोपत्र बोर्डबाट डेढ अर्ब बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ । सोमध्ये पहिलो चरणमा सिन्धुपाल्चोकका स्थानीयलाई ६० लाख कित्ता सेयर जारी गरिसकेको छ ।

 

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयरएनपी डबल बी आईएस रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता मध्यम रहेको जनाउँदछ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा विक्री प्रबन्धकहरुमा सिभिल क्यापिटल मार्केट, एनआइबीएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीबीआइएल क्यापिटल मार्केट रहेका छन्।

 

आयोजनाले हाल सिन्धुपाल्चोकको भोटेकोशीमा १०२ मेगावाट क्षमताको आयोजना बनाइ रहेको छ । आयोजनाको कुल लागत १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

 

कति कित्ता भर्नु उपयुक्त ?

 

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई ८१ लाख ९० हजार कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा ८ हजार १९ जनालाई मात्र सेयर दिन पुग्छ ।

 

यसअघि खुलेका आइपीओमा २४ लाख बढीले आवेदन दिँदै आएका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

दशैंको बेला विद्युत् खपत ३०० मेगावाट घट्ने Read Previous

दशैंको बेला विद्युत् खपत ३०० मेगावाट घट्ने

अब नेपाली बैंक ग्यारेन्टी बसेर विदेशी ऋण लिन पाउने Read Next

अब नेपाली बैंक ग्यारेन्टी बसेर विदेशी ऋण लिन पाउने