काठमाडौं । दशैं नजिकिएसँगै सरकारले सोमबारदेखि अग्रिम टिकट बुकिङ खुलाइसकेको छ । केही मानिसहरूले घर जान टिकट समेत काटिसकेका छन् ।
तर, लाखौँ मानिसहरू यात्रा गर्ने देशका विभिन्न राजमार्गको अवस्थाले भने उनीहरूलाई चिन्तित बनाएको छ । मध्यअसोज भइसक्दा पनि मनसुन सक्रिय छ । देशभरका साना–ठूला गरी धेरै सडकखण्डहरू अवरुद्ध पनि छन् । सडक अवरुद्ध भएपछि दशैंको लागि घर जाँदा सुरक्षित यात्रा हुन्छ कि हुँदैन भन्नेमा आम जनातामा एक प्रकारको त्रास समेत पैदा भइसकेको छ ।
दशैंमा मात्र १५ लाखभन्दा बढीले उपत्यकाबाट बाहिरन्छिन् । जसकारण यात्रुसँगै सवारीसाधनको चाप पनि बढ्छ । वर्षाले बाढीपहिरो जाँदा धेरैजसो ग्रामीण क्षेत्रका सडकहरूमा अझै पनि आवतजावत गर्न मुस्किल छ । त्यसैगरी एकतर्फी सञ्चालमा रहेका राजमार्गमा सवारी साधनको चाप बढ्नुका साथै जाम हुन्छ ।
मुख्य राजमार्गका हुने सवारी चापलाई व्यवस्थित र सहज बनाइने सडक विभागले बताएको छ । हालसम्म देशका विभिन्न क्षेत्रका दर्जनभन्दा बढी राजमार्गका सडकमा भएको अवरोध हटाइ सकेको विभागले जानकारी दिएको छ ।
‘हामी आम जनतालाई चाडपर्वमा सहज र सुरक्षित यात्राको लागि लागि परेका छौं । हप्ता दिन अघिसम्म देशका विभिन्न राजमार्गका सडकपूर्ण अवरुद्ध थिए तर अहिले सबै सडक निर्माण भइसकेर संचालनमा आएका छन् । यात्राको लागि चिन्ता गर्नुपर्दैन, ’सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले चाणक्य पोष्टसँग भने ।
थापाका अनुसार हाल बेंसीसहरदेखि मनाङ जोड्ने एउटा मात्र चामे सडक अवरुद्ध छ । ६५ किलो मिटर सडक मध्ये ३/४ किलोमिटर मात्र सडक खुल्न बाँकी छ । निर्माण कार्य जारी रहेको उक्त सडक ४ दिन सम्ममा खुल्छ । त्यसैगरी, मनाङकै धारापानीदेखी दानक्य भन्ने ठाउँको सडक आज साँझबाट खुल्ने उनले बताए ।
कुन-कुन सडक खुले ?
थापाका अनुसार वर्षाको कारण अवरुद्ध भएका सडकहरु मध्ये बाजुरा साँफेबगर–मार्तडी–कोल्टीको बल्दे अम्कोट सडक खुलेको छ । त्यसैगरी, पाल्पाको पिपलडाँडा सडक, अमेलिया–तुल्सिपुर–शितलपाटी–थारमारे–मुसीकोट सडकखण्ड अन्तर्गतको शंखमूलको सडक, काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडकखण्ड अन्तर्गतको गौडे पुल, खाड्पे–चैनपुर अन्तर्गतको चैनपुर सडक खण्ड, सिद्धार्थ राजमार्ग अन्र्तगतको बेलहिया–भैरहवा–बुटवल–वर्तङ–स्याङजा–पोखरा सडक खण्ड, अरनिको राजमार्ग पूर्ण संचालनमा आएका छन् ।
त्यसैगरी, विभिन्न सडकमा पुल भत्किएर भएको अवरोध हटाउन बेली ब्रिज राखेर सडक सडक सुचारु गरेको महानिर्देशक थापाले जानकारी दिए । तर ओभरलोडको कारण दाउन्ने सडकखण्डमा गाडी बिग्रेर जाम भएको उनको भनाइ छ ।
बुटवल-नारायणगढ सडकखण्डमा समस्या कायमै
सडक विभागले धेरै सडकखण्डमा भएका समस्या समाधान गर्दै आएको भएपनि बुटबल – नारायणगढ सडकखण्डको समस्या भने समाधान नहुने भएको छ । महानिर्देशक थापाका अनुसार सो सडकखण्ड २ लेनबाट बढाएर ४ लेनमा विस्तार गर्न लागिएकाले सडकको पूरै पिच भत्काएर डिभाइडर राख्नुपर्ने भएकाले समय लाग्ने बताए ।
दशैंसम्ममा राजमार्गका खाल्टाखुल्टी पुरिने
विभागले दशैं सम्ममा सबै राजमार्गमा भएका खाल्डाखुल्डी पुर्ने बताएको छ । खाल्डाखुल्डीले यातायातमा अवरोध गर्ने भएकाले खाल्डा पुर्ने कामलाई पनि निरन्तरता दिएको थापाले बताए ।
सडक समस्या समाधान गर्नको लागि पूरै विभाग र २६ सय कर्मचारी लागि परेको उनले जानकारी दिए । मनसुन सक्रिय रहेकाले भइपरी हुने सडक अवरुद्ध खोल्न विभाग तम्तयार रहेको विभागले बताएको छ ।