काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । तोकिएको समयवधि भन्दा अगाडि नै सम्पन्न गर्ने लक्ष्यका साथ कामको तीव्रता दिइएको आयोजनाले बताएको छ ।
नागढुंगा-नौबिसे सुरुङमार्गका आयोजना निर्देशक नरेशमान शाक्यले यसअघि दैनिक ६ मिटर खन्ने गरिएकोमा हाल गति बढाएर १० मिटरको दरले खन्न थालिएको बताए ।
‘यसअघि मासिक २०० मिटर हाराहारीम सुरुङ खनिँदै आइएको थियो,’ उनले चाणक्य पोष्टसँग भने, ‘हाल जनशक्ति थपेर हामीले दैनिक १० मिटर खन्न थालेका छौं । महिनामा ३०० मिटर खन्ने लक्ष्य छ ।’ हालसम्म आयोजनाको करिब २२ प्रतिशत भौतिक प्रगति भएको उनले बताए ।
उनले दशैं लगतै सुरुङ निर्माणको गति अझै बढाइने बताए । दशैं लगतै दैनिक सुरुङ खन्ने काम १२ मिटरसम्म पुर्याइने उनले बताए । यसरी सुरुङ मासिक ३५० मिटर खन्ने लक्ष्य रहेको छ ।
डेढ किलोमिटर सुरुङ खनिसकियो
कोभिडमा समेत लगातार काम भइरहेको नागढुंगा सुरुङमार्गमा हालसम्म कुल १ हजार ५९४ किलोमिटर सुरुङ खन्ने काम भइसकेको उनले जानकारी दिए ।

आयोजना निर्देशक शाक्यका अनुसार हालसम्म ४६५ मिटर मुख्य खनिसकिएको छ । काठमाडौंतर्फ २२३ मिटर र धादिङतर्फ २४१ मिटर मुख्य टनेल खनिएको छ । स्केप टनेल सुरुङतर्फ हालसम्म ९६४ मिटर खनिएको छ । काठमाडौं तर्फ ५६१ र ४०३ मिटर स्केप टनेल खनिसकिएको हो ।
वर्किङ क्षेत्रमा धादिङतर्फ १३७ मिटर वर्किङ सुरुङ खन्ने काम भएको छ । साथै क्रस प्यासेज ३९ मिटर खनिएको छ । कुल ५ हजार ४९९ मिटर सुरुङमध्ये हालसम्म १ हजार ५९४ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको हो ।
हाल नागढुंगा–सिस्नेखोला सुरुङ आयोजना अन्तर्गत धादिङ (पश्चिम)तर्फ २ सिफ्टमा १२/१२ घण्टाको फरकमा काम भइरहेको छ । काठमाडौं (पूर्व)तर्फ पनि सुरुङ खन्ने काम दुई सिफ्टमै भइरहेको छ ।
दशैंमा चार दिन काम रोकिने
निषेधाज्ञामा समेत निरन्तर काम भइरहेको नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माण दशैंमा भने ४ दिन हाराहारीका लागि बन्द हुने भएको छ । नेपाली कामदारले दशैंमा छुट्टी माग गरेका हुँदा फूलपातीदेखि विजया दशमीसम्म बन्द हुने भएको आयोजना निर्देशक शाक्यले बताए ।
‘अहिलेसम्म कुनै दिन पनि काम रोकिएको छैन, दशैंमा चाहि सबैले छुट्टी माग गरेकोले सरकारले दिने बिदा जतीको दिनलाई बिदा दिने कि भनेर छलफल भइरहेको छ, निश्चित भइसकेको छैन,’ शाक्यले चाणक्य पोष्टसँग भने । स्वदेशी कामदार नहुने भएपछि विदेशी पनि बिदामा बस्ने उनको भनाइ छ ।
सुरुङसँगै पर्ने पृथ्वी राजमार्गको अहिले संचालनमा रहेको बाटो ओभर पास बनाएर संचालन हुन दिने र सुरुङमार्गबाट निस्कने बाटोलाई त्यसमुनि संचालन हुने गरी यस सुरुङमार्गको डिजाइन गरिएको छ ।
यो सुरुङमार्ग करिब २.७ किलोमिटर हुनेछ । काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।
४४ महिनामा निर्माण सक्नुपर्ने सम्झौता भए पनि विभिन्न समस्याहरूका कारण सुरुङ खन्ने काम ढिला सुरु भएको आयोजनाले जनाएको छ । अब सुरुङमार्ग निर्माण सम्पन्न गर्न २१ महिना बाँकी रहेको छ । ४४ महिनाको अवधि भए पनि सुरुङ मात्र खन्न १४ महिना भित्र सम्पन्न गर्ने निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेशनले जनाएको छ ।

निर्माणका बीचमा आएका विभिन्न समस्याका कारण सुरुङ खन्ने काममा केही ढिलाइ भए पनि पछिल्ला दिनमा कामले गति लिने देखिएको छ ।
सुरुङ खनेपछि हुने कामहरू
सुरुङमार्ग बनाउने क्रममा सुरुङ खन्नु मुख्य भए पनि सुरुङ खनिसके पछि अझै धेरै कामहरू बाँकी रहने छन् । लाइटिङ, अक्सिजन, पानी, फायर हाइड्रेन्टदेखि अन्य विभिन्न काम गर्नुपर्ने भएकाले त्यसका लागि सुरुङ बनाएभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ ।
यो सुरुङमार्गको परामर्शदाता कम्पनी जापानको निप्पोन को (इ इजे र नेपाली कम्पनी एनसीसीको संयुक्त उपक्रम (जोइन्ट भेन्चर) हो । यो जेभीले नै यस आयोजनाको डिजाइन गरेको छ भने आयोजना पूरा गर्दासम्म यसको सुपेरीवेक्षणको काम पनि गर्नेछ ।
५ किलोमिटर तल रोड साइट सर्भिस स्टेशन
यो आयोजना अन्तर्गत सुरुङमार्ग मात्रै बन्दै छैन, त्यसको ५ किलोमिटर तल धुनीबेसी नगरपालिकामा रोड साइट सर्भिस स्टेशन पनि बन्दै छ । जहाँ पार्किङ, सर्भिसिङ सेन्टर, फ्युल स्टेशन, होटल, प्रदर्शनीस्थल र शौचालय लगायतका संरचनाहरू बन्नेछन् । निर्माण सकेपछि यसको संचालनको जिम्मा धुनिबेंसी नगरपालिकालाई दिइएको छ ।