कालिका कन्स्ट्रक्सनले आवेदन दिँदा रोकियो नेपालकै पहिलो ‘फ्लाइओभर’को ठेक्का

सांकेतिक तस्वीर

काठमाडौं ।ललितपुरको ग्वार्को चोकमा निर्माण हुने भनिएको नेपालकै पहिलो फ्लाइओभर निर्माणको ठेक्का प्रक्रिया रोकिएको छ ।

 

फ्लाइओभर निर्माणका लागि ९ कम्पनीले आवेदन दिएको भए पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री नियुक्ति नहुँदा र मुद्दा परेको कम्पनीले आवेदन दिएकाले मूल्यांकन प्रक्रिया अगाडि बढ्न नसकेको हो ।

 

सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका नवप्रबन्ध शाखाका प्रमुख सुरज बज्राचार्यले अदालतमा मुद्दा परेको कालिका कन्स्ट्रक्सनले आवेदन दिएको र सरोकारवाला मन्त्रालय मन्त्रीविहीन हुँदा ठेक्का प्रक्रिया अघि बढ्न नसकेको बताए ।

 

‘मन्त्रीनियुक्त नहुँदा र आवेदन दिएका मध्ये कालिका कन्स्ट्रक्सन माथि अदालतमा मुद्दा विचाराधीन रहेकाले हाल ठेक्का मूल्यांकन प्रक्रिया नै रोकिएको छ,’ बज्रचार्यले चाणक्य पोष्टसँग भने, ‘अब मन्त्री नियुक्ती भएपछि केही टुंगो लाग्ला ।’

 

राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै सीटीसीइ कालिका जेभीविरुद्ध परेको मुद्दा हाल अदालतमा विचाराधीन छ ।

 

बज्रचार्यका अनुसार आवेदन दिएको कम्पनीलाई बेवस्ता गरेर अघि बढ्न नमिल्ने व्यवस्था छ । नयाँ ऐन अनुसार आवेदन दिएको कालिका कन्स्ट्रक्सनको मूल्याङ्कन गर्ने नगर्ने भन्ने कुरा मन्त्रालयबाट सहमति लिनुपर्ने भएता पनि मन्त्री नियुक्ति नहुँदा समस्या भएको उनले बताए । हालसम्म कालिका बाहेक सबै कन्स्ट्रक्सनको मूल्याङ्कनको काम सम्पन्न भएको उनको भनाइ छ ।

 

फ्लाइ ओभर निर्माणको लागि एमआर हिमसगरमाथा जेभी, शर्मा एण्ड को प्राइभेट लिमिटेड, लामा गोल्डेन गुड जेभी, सूर्य विकास-विकास एण्ड ब्रदर्श, इलाइट कन्स्ट्रक्सन कम्पनी लिमिटेड, एएनके श्रेष्ठ जेभी, कालीका कन्ट्रक्शन र आषिश समानान्तर निर्माण सेवा प्राइभेट कम्पनीले आवेदन दिएका थिए ।

 

कस्तो बन्छ फ्लाइओभर ?

 

८ लेन रहेको चक्रपथको बीचको चार लेनलाई माथि उचाल्न लागिएको विभागले जनाएको छ । बालकुमारीतर्फबाट आएका सवारीसाधन चार लेन उठाएर ग्वार्कोतिर लाग्ने र अर्को चार लेन तल (अहिलेको भएको ठाउँमा) हुने केन्द्रले बताएको छ । ‘फ्लाइओभर’को जम्मा लम्बाइ झण्डै ५०० मिटर र उचाइ छ मिटर हुनेछ । उनले भने, माथि चढ्न र झर्नका लागि र्याम हुनेछ भने माथिल्लो भागमा सुपर स्ट्रक्चर हुनेछ ।

 

‘फ्लाइओभर’ बीएण्डबी अस्पताल नजिकै ग्वार्कोबाट बालकुमारीतर्फ केही अघिसम्म निर्माण हुनेछ । सडकको माथिल्लो भागमा चक्रपथतर्फ जाने सवारीसाधन गुडिरहँदा तल्लो भाग (मुख्य सडक)मा मङ्गलबजारतर्फबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ दुवैतर्फ सवारीसाधन नरोकिइ चल्न सक्नेछन् । सवारीसाधन नरोकिई चल्न पाउने भएपछि स्वतः जाम नहुने विश्वास गरिएको छ ।

 

पर्फेक्ट फुडको स्‍नोडेण्ट चुविङ्‍गमको प्रचारप्रसार सन्दीप लामिछानेले गर्ने Read Previous

पर्फेक्ट फुडको स्‍नोडेण्ट चुविङ्‍गमको प्रचारप्रसार सन्दीप लामिछानेले गर्ने

लक्ष्मी बैंकले पायोे ‘लिडिङ्ग पार्टनर बैंक’को उपाधि Read Next

लक्ष्मी बैंकले पायोे ‘लिडिङ्ग पार्टनर बैंक’को उपाधि