काठमाडौं । महिलाहरुको चाड तीज नजिकिएको छ । यसै क्रममा बजारमा चुरा, टिका र पोतेको लर्को देखिन थालेको छ । यी सामग्रीलाई सौभाग्यको रुपमा लिइन्छ । यसलाई तीजको समयमा विवाहीत महिलाहरुले एक आपसमा बाँडेर लगाउने गर्छन् । यसरी छरछिमेक, दिदी बहिनीमा सौभाग्य सामग्री बाँड्ने चलन भएकै कारण तीजको बेला श्रृङगार सामग्रीको व्यापार बढ्ने गर्छ ।
यसरी सौभाग्य स्वरुप लगाइने श्रृङगारका सामग्री नेपालमा भने बन्दैन । यो सबै भारत, बंगलादेश, चीनलगायतका राष्ट्रबाट आयात हुने गरेको भन्सारको तथ्यांकले देखाउँछ । नेपालमा भारतबाट मात्रै ७५ प्रतिशत चुरा, पोते, टिका आयात हुन्छ भने चीन, बंगलादेश लगायत अन्य मुलुकबाट पनि आयात हुने गरेको पाइन्छ ।
चेलीबेटी भेटघाटका रुपमा सुरु गरिएको यो पर्व मनाउने शैली विकृती तर्फ ढल्कीदै जाँदा यसमा समाजका सबै आफैमा सचेत हुन आवश्यक रहेको देखिन्छ ।
यसरी नेपालबाट करोडौको रकम टिका, चुरा, पोते, तिकुली लगायतका सामग्री आयातका क्रममा बाहिरिने गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा कुल ५ करोड ३५ लाख ४९ हजार रुपैयाँ बराबरको चुरा, टिका, तिकुली लगायतका सामग्री आयात भएको विभागले जानकारी दिएको छ ।विभागको तथ्यांक अनुसार गत आवमा ३ करोड ५० लाख ३७ हजार ५ सय ४९ चुरा, टिका, तिकुली लगायतका श्रृङगारका सामग्री आयात भएको थियो । सो सामग्री आयात बापत ७६ लाख ३८ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।
यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ३ करोड ९८ लाख ७७ हजार रुपैयाँ बराबरको टिका, चुरा, टिकुली लगायतका श्रृङगारका सामग्री आयात गरिएको थियो । सो वर्ष १ करोड ७० लाख ५४ हजार ३ सय ९९ पिसका हाराहारीमा श्रृङगारका सामग्री आयात गरिएको थियो । सो आयातका क्रममा ५५ लाख १० हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।
आर्थिक वर्ष २०७३/७४ मा श्रृङगारका सामग्रीहरु ३ करोड १४ लाख ८५ हजार रुपैयाँ बराबरको आयात गरिएको थियो । झण्डै १ करोड ५२ लाख २४ हजार ७ सय ७५ पिस चुरा, टिका, टिकुली लगायतका सामग्री आयात गर्दा त्यस बापत कुल ४६ लाख २६ हजार रुपैयाँ राजश्व असुली गरिएको विभागले जानकारी दिएको छ ।
चुराको इतिहास
चुरालाई श्रृङगारका रुपमा लगाउने संस्कार इजिप्टबाट सुरु भएको पाइन्छ । त्यसो भएतापनि नेपालमा भने भारतीय हुँदै यो संस्कार प्रचलनका रुपमा आएको पाइन्छ ।
विशेष साउन महिनामा हरियो, पहेँलो, रातो रंगको चुरा, पोते लगाइने गरिन्छ । पारिवारिक सुख, समृद्धि, शान्ती, धन, विद्या आर्जन हुने विश्वासका साथ भगवान शिवको व्रत बसिन्छ । वैदिकशास्त्रमा वर्णन गरिए अनुसार शिवको आरधना गर्दा साउनको सोमबार जल, दूध, भाङ्, धतुरो चढाउने वैदिक परम्परा रहेको छ ।
शिवजीको ध्यान गरे विवाहित महिलाहरुले आफ्नो पतिको आयु बढ्ने र अविवाहित महिला आफुले खोजेजस्तो वर पाउने जनविश्वास रहेको छ ।
तीजको बाहानामा बढ्दो विकृती
नेपालमा चुरा, टिका पोते, गरगहना र सारी लगाउने संस्कृती भए पनि यसले नेपाली समाजमा केही विकृती समेत थपिएको छ । परापूर्व कालमा महिलाहरु सामान्य श्रृङगारै नगरी बस्ने चलन थियो । त्यसपछिको समयमा भने तीज आदि चाडमा सामान्य श्रृङगार गरेर आफूलाई ‘राम्री’ बनाउने चलन शुरु भएको पाइन्छ । हाल आएर अरुले लगाएको हेरी देखाउनका लागि भए पनि सुनका गरगहना लगाउने विकृती फैलिँदै गएको छ ।
यसरी तीजको बाहानामा टोल समाजमा देखासेखी गर्ने र ऋण समेत लिएर झपक्क गहना लगाउने विकृतीका कारण चोरी डकैतीले समेत स्थान पाएको छ ।
यस्तै, तीजमा धेरै भीडभाड गर्ने र होहल्ला गर्नेको जमातका साथै, मद्यपान गर्नेहरुको समेत संख्या बढ्दो देखिन्छ ।
तीज तडकभडक कि सभ्य चाड ?
चेलीबेटी भेटघाटका रुपमा सुरु गरिएको यो पर्व मनाउने शैली विकृती तर्फ ढल्कीदै जाँदा यसमा समाजका सबै आफैमा सचेत हुन आवश्यक रहेको देखिन्छ ।
महिलाहरुमा अरुले पहिरन लगाएको देखेर देखासेखी गर्नेहरुको संख्या बढ्दो हुनाले व्यक्तिगत आयभार र मुलुकको आयात दुवै बढ्दै गएको देखिन्छ ।
महिलाहरुले महत्वकांक्षी नभई आफ्नो आर्थिक अवस्थाले भ्याए अनुसार श्रृङगार गरेमा आर्थिक भार नपर्ने सानिमैंया बिष्टको अनुभव छ ।