धनुषा । ठेक्का सम्झौता अवधिमा काम सम्पन्न नगर्ने परिपाटी बढिरहेका बेला धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा रसुवा कन्स्ट्रक्सनले ७ महिना अगाडि नै तीन वटा पुल निर्माण गरेर देखाएको छ ।
ढल्केवर जनकपुर जटही सडक खण्डमा रसुवा निर्माण कम्पनीले सम्झौता अवधि सकिन ७ महिना बाँकी रहदै तीन वटा पुल निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको हो ।
ढल्केवर जनकपुर जटही सडकलाई ६ लेनको सडकमा स्तरोन्नति गरेपछि धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा सरकारले ६ लेनको सडकलाई मिल्नेगरी तीन वटा पुल निर्माण गरेको हो ।
सडक विस्तार भएदेखि सवारी साधनको चापप बढेको र भएको पुरोनो पुलबाट आउजाउ गर्न समस्या भइरहेका बेला एकै चोटी तीन/तीन वटा पुल बनेपछि सवारी साधनलाई आउजाउ गर्न सहज भएको स्थानीयवासीहरु बताउँछन्।

सरकारसँग भएको सम्झौता अनुसार २०७८ चैत्र मसान्तमा तीन वटै पुल हस्तान्तरण गर्नुपर्ने थियो । तर, काम सम्पन्न हुनुपर्ने मितिभन्दा सात महिना अगाडि नै ७७ करोड २७ लाखको लागतमा पुल निर्माणको काम सम्पन्न भएको हो । नेपाल सरकार र रसुवा कन्स्ट्रक्सन बीच २०७६ असोज ३० गते सम्झौता भइ मंसिरदेखि काम सुरु भएका तीन वटै पुल सवारी साधनका लागि खुला गरिएको छ ।
औरही खोलामा ठेकेदारले सात महिना अगाडि तीनवटा पुल निर्माण गरेर हस्तान्तरण गरेपनि ढल्केवर जटहीमा ६ लेनकै सडकको सपही र नक्टाझिज स्थित खहरे खोलामा एकैदिन सम्झौता भएको अर्को निर्माण कम्पनीले जग निर्माण गरेर पुलको बाँकी काम अधुरै छाडेको छ ।
औरही खोलामा निर्माण सम्पन्न तीन वटा पुलमध्ये दुई वटा पुल ६ लेन सडकका लागि हुन् भने एउटा पुललाई सर्भिस लेनको रुपमा राखिएको छ । पुलको लम्बाई १४३.५ मिटर र चौडाई ११.६ मिटर छ ।
यस अधि पनि दर्जनौं स्थानमा रसुवा कन्स्ट्रक्सनले ठेक्का सम्झौता अवधि भन्दा अगावै निर्माण सम्पन्न गरी सकारलाई आयोजना हस्तारण गरिसकेको छ।
व्यवसायिक दक्षता र जिम्मरेवारी बोधका कारण आफ्नो कम्पनीले सबै ठाँउमा ठेक्का सम्झौता अवधि भन्दा अगाबै निर्माण सम्पन्न गर्ने गरेको रसुवा कन्स्ट्रक्सन कम्पनीका अध्यक्ष राजेन्द्रराज आचार्य बताउँछन्।