काठमाडौं । सामान्यतया चाडपर्वका बेला मासुको उपभोग तथा खपत बढी हुन्छ । त्यसमा पनि दशैंमा मासु झन बढी प्रयोग हुने गर्छ । दशैंमा खसीबोका किनबेचले निकै ठूलो बजार पाउने गरेको छ ।
बजारमा भने स्वदेशमा उत्पादन हुने भन्दा भारतबात आयात गरिने खसीबोकाको वर्चश्व रहेको व्यवसायीहरु बताउँछन् । नेपालमै उत्पादन बढे पनि गाउँगाउँका खसीबोका ल्याउन समस्या हुँदा भारतीय खसीबोकाले बजारमा कब्जा जमाएको छ ।
स्थानीयतहको सिफारिस बनाउन, खसीबोकाको स्वास्थ्य परीक्षण, उत्पादकको सीधा बजारसम्मको पहुँच नहुनु, बिचौलियाको बिगबिगी लगायत कारण गाउँका खसीबोका ल्याउन समस्या भएको थापाले बताए ।
चौपाया व्यवसायी संघका अध्यक्ष दीपक थापाले भारतीय खसीबोकाका कारण नेपाली खसीबोकाले उचित बजार पाउन नसकेको बताए । ‘विगतमाभन्दा खसीबोका उत्पादन बढे पनि भारतबाट आयात हुने खसीबोकाका कारण नेपालीले बजार पाउन सकेका छैनन्,’ थापाले चाणक्य पोष्टसँग भने ।
नेपाली खसीबोका बजारसम्म ल्याउनै समस्या
नेपाली खसीबोका उपत्यका बजारसम्म ल्याउन किसानले निकै समस्या भोग्नु परेको थापा बताउँछन् । खसीबोका काठमाडौं बजारसम्म ल्याउन प्रशासनिक रुपमा ठूलो हैरानी बेहोर्नु परेको उनले बताए ।
स्थानीयतहको सिफारिस बनाउन, खसीबोकाको स्वास्थ्य परीक्षण, उत्पादकको सीधा बजारसम्मको पहुँच नहुनु, बिचौलियाको बिगबिगी लगायत कारण गाउँका खसीबोका ल्याउन समस्या भएको उनले बताए । स्थानीय उत्पादनवालाले स्थानीय निकायबाट सिफारिस गर्न साथ विक्री गर्ने अनुमती पाउने तर, पहुँच नभएकाहरु प्रशासकीय चपेटा सहनु पर्ने उनले बताए । ‘पहुँचवालाले स्थानीयबाट तत्काल सिफारिस पाउँछ, पहुँच नभएकाले प्रशासनमा धेरै चक्कर लगाउनुपर्छ,’ थापाले भने ।
उनले राज्य ककजोर भएकाले कालोबाजारी हुँदै सहजै खसीबोका आयात भइरहेको आरोप लगाए । भारतीय बजारबाट आउने खसीबोकाका कारण नेपाली खसीबोकाले बजार पाउन नसकेको उनको भनाइ छ ।
अध्यक्ष थापाले दैनिक ७०० बढी जिउँदो खसीबोका आयात भइरहेको बताए । ‘भारतबाट भन्सारमा पैसा खुवाएर भए पनि आयात गर्नेहरुले गर्दा नेपाली खसीबोकाले राम्रो बजार पाउन सकेको छैन,’ थापाले चाणक्य पोष्टसँग भने । तस्करहरुले वैध अवैध बाटोमार्फत भारतबाट दैनिक ४/५ गाडीसम्म खसीबोका ल्याउने गरेको उनको भनाइ ।
व्यवासायीहरुले भारतबाट अवैध रुपमा ठूलो संख्यामा खसीबोका आयात भइरहेको बताए पनि भन्सार विभागको तथ्यांकले भने त्यस्तो देखाएको छैन । विभागका अनुसार चालु आवको साउनमा ४ हजार ९१३ जिउँदो खासीबोका आयात भएको देखाएको छ । उक्त खसीबोका आयातका क्रममा ४ करोड ४५ लाख रुपैयाँ लागत बाहिरिएको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा १३ हजार ८२७ खसीबोका आयात भएको थियो । सो खसीबोका आयातका क्रममा १० करोड ७८ लाख रुपैयाँ बाहिरिन पुगेको थियो । आर्थिक वर्ष २०७६/७७ मा १० हजार २९२ जिउँदो खसीबोका आयात भएको थियो ।
स्वदेशमा खसीबोका उत्पादन बढ्दो
कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकले वर्षेनी खसीबोका उत्पादन बढेको देखाएको छ । सरकारसँग आर्थिक वर्ष २०७७/७८ सम्मको कुनै यकिन तथ्यांक नभएपनि २०७४ देखि २०७७ सम्ममा खसीबोका उत्पादन बढेको देखिएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा खसीबोका उत्पादन ७२ हजार २३ रहेको थियो । २०७५/७६ मा ७३ हजार ९१४ र २०७४/७५ मा ७० हजार ८०२ खसीबोका उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांकले देखाएको छ । उनले नेपालमा ६० प्रतिशत खसीबोका उत्पादन हुने र बाँकी भारतबाट आयात हुने बताए । विगतमा नेपालमा २० प्रतिशत मात्र खसीबोका उत्पादन हुने गरेको उनको भनाइ छ ।
सोह्र श्राद्धपछि मूल्य निर्धारण हुने
यो पटक दशैंमा खसीबोकाको मूल्य घट्ने कि बढ्ने भन्ने विषय अझै अन्योलता रहेको छ । दशैंका लागि बजारमा कति खसीबोका उपलब्ध हुन्छन् र माग कति हुन्छ भन्ने आँकलन गरिएपछि मात्र मूल्य निर्धारण हुने बताइएको छ ।
विगतको दशैंहरुमा जिउँदो खसीबोकाको मूल्य १५देखि २० प्रतिशतसम्म वृद्धि हुने गरेको थियो । चौपाया व्यवसायी तथा अध्यक्ष थापाले सोह्रश्राद्धपछि मात्र खसीबोकाको मूल्य बढ्ने घट्न थाहा हुने बताए । ‘खसीबोकाको मूल्य सोह्रश्राद्ध सकिँदासम्म कति आउनछ र माग कति हुनेछ त्यस अनुसार थाहा हुनेछ, अहिले केही भन्न सकिदैन,’ थापाले चाणक्य पोष्टसँग भने ।
हाल बजारमा भारतीय जिउँदो खसीको मूल्य ६८० देखि ७०० रुपैयाँ प्रतिकेजी रहेको छ । नेपाली खसीबोकाको मूल्य प्रतिकेजी ६४० देखि ६५० रुपैयाँ रहेको छ ।