तरलता अभावका बाबजूद कर्जा विस्तारमा आक्रमक बन्दै बैंकहरू, १ महिनामै गरे १ खर्ब ऋण लगानी

काठमाडौं । तरलता अभावका बाबजूद बैंकहरुले आक्रमक रुपमा कर्जा विस्तार गरेका छन् । साउन यता बैंकिङ प्रणालीमा तरलता अभाव चुलिए पनि बैंकहरु उल्लेख्य रुपमा कर्जा विस्तार गर्न सफल भएका हुन् ।

 

भदौ महिनामा मात्र वाणिज्य बैंकहरुले १ खर्ब बढी ऋण लगानी गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार भदौको ५ सातामा बैंकहरुले १ खर्ब ८ अर्ब ऋण लगानी गरेका छन् । बैंकहरुले हरेक हप्ता कर्जा विस्तार बढाउँदै लगेको छन् ।

 

भदौ पहिलो साता १४ अर्ब कर्जा लगानी गरेका बैंकहरुले दोस्रो साता १९ अर्ब, तेस्रो साता २२ अर्ब, चौथो साता २५ अर्ब र पाँचौं साता २८ अर्ब ऋण लगानी गरेका छन् ।

 

पछिल्लो समय कोरोना संक्रमण कम भएसँगै समग्र अर्थतन्त्र चलायमान हुँदा ऋणको माग ह्वात्तै बढेको बैंकहरुले बताएका छन् । ऋणको माग उच्च भए पनि माग अनुसार ऋण उपलब्ध गराउन कठिन हुँदै गएको उनीहरुको भनाइ छ ।

तरलता अभावका कारण असोजका लागि बैंकहरुले निक्षेप र कर्जाको ब्याज समेत बढाएका छन् । बैंकहरुले मुद्दती निक्षेपमा १० प्रतिशतसम्म ब्याज दिन थालेका छन् भने कर्जाको पनि दोहोरो अंकमा पुगेको छ । पछिल्लो समय बैंकहरुले अन्तर बैंक र राष्ट्र बैंकबाट सापटी लिएर कर्जा लगानी गर्दै आएका छन् ।

 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फ सीसीडी व्यवस्था खारेज गरी सीडी व्यवस्था लागू गरेपछि बैंकिङ प्रणालीमा तरलता अभाव चुलिँदै गएको हो । साथै, पछिल्लो समय बजेट होलिडे हुन गई खर्च हुन नसक्दा तरलता अभाव झनै बढ्दै गएको छ ।

 

निक्षेप संकलन भने सुस्त

 

आक्रमक कर्जा विस्तार गरेका बैंकहरुको निक्षेप संकलन भने सुस्त देखिएको छ । बैंकर्स संघका अनुसार भदौमा १ खर्ब ८ अर्ब ऋण लगानी गरेका बैंकहरुले सोही अवधिमा जम्मा ४७ अर्ब निक्षेप संकलन गरेका छन् ।

 

भदौ पहिलो साता बैंकिङ प्रणालीबाट ७ अर्ब निक्षेप बाहिरिएको थियो भने त्यसपछि क्रमशः थपिएको छ । भदौ अन्तिम साता कर्जाकै हाराहारीमा निक्षेप संकलन गरे पनि अरु साता बैंकहरुले कर्जाको तुलनामा अत्यन्त न्यून निक्षेप संलन गरेका छन् ।

 

चालू आवको भदौ मसान्तसम्ममा बैंकहरुले कुल ४१ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री Read Previous

उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

ऋण लगानीमा झनै आक्रमक बन्दै विकास बैंक, एक सातामै गरे साढे ५ अर्ब लगानी Read Next

ऋण लगानीमा झनै आक्रमक बन्दै विकास बैंक, एक सातामै गरे साढे ५ अर्ब लगानी