अब अर्को बैंकको एटीएमबाट पैसा झिक्दा २० रुपैयाँभन्दा बढी तिर्न नपर्नेे, मोबाइल बैंकिङको सीमा बढ्यो

काठमाडौं । अब अर्को बैंकको एटीएमबाट पैसा झिक्दा २० रुपैयाँभन्दा बढी तिर्न नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै अन्तर बैंक एटीएम प्रयोगमा २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था गरेको हो ।

 

यसअघि बैंकहरुले अन्तर बैंक एटीएम प्रयोगबापत प्रति कारोबार २५ रुपैयाँदेखि १०० रुपैयाँसम्म शुल्क लिने गरेका थिए । राष्ट्र बैंकका अनुसार एउटा बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको एटीएमबाट रकम निकाल्दा प्रति महिना दूई वटासम्म कारोबार निःशुल्क हुने छ । बैंकहरुले प्रति महिना दुई कारोबारको शुल्क लिन पाउने छैनन् ।

 

गत वर्ष कोरोना नियन्त्रणका लागि लगाइएको लकडाउनमा राष्ट्र बैंकले अन्तर बैंक एटीएम प्रयोगको शुल्क नलिन निर्देशन दिएको थियो भने लकडाउन हटेपछि बैंकहरुले आफूखुसी शुल्क लिने गरेका थिए ।

 

यस्तै, राष्ट्र बैंकले मोबाइल बैंकिङबाट अर्को बैंकको खातामा पैसा पठाउँदा ३० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था गरेको छ । अब मोबाइल बैंकिङबाट अर्को बैंकको खातामा पैसा पठाउँदा ५० हजार रुपैयाँसम्मको कारोबार गर्दा  १० रुपैयाँ, ५० हजारदेखि १ लाख रुपैयाँसम्म २० रुपैयाँ र १ लाख रुपैयाँभन्दा माथि ३० रुपैयाँ  मात्र शुल्क लिन पाउने छन् ।

 

यसअघि मोबाइल बैंकिङबाट कारोबार गर्दा बैंकहरुले आफूखुशी शुल्क लिने गरेका थिए । सामान्यतया बैंकहरुले न्यूनतम शुल्क नै २० रुपैयाँ लिने गरेका थिए ।

 

मोबाइल र इन्टरनेट बैंकिङ सीमा बढ्यो

 

राष्ट्र बैंकले मोबाइल र इन्टरनेट बैंकिङको दैनिक कारोबार सीमा बढाएको छ । नयाँ व्यवस्था अनुसार अब मोबाइल बैंकिङबाट दैनिक (क्यूआर कोड सहित) बाट २ लाख रुपैयाँसम्म र इन्टरनेट बैंकिङबाट२० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने छ ।

 

यसअघि मोबाइल बैंकङमार्फत हुने कारोबारको अधिकतम सीमा १ लाख रुपैयाँ र इन्टरनेट बैंकिङमार्फत हुने कारोबारको सीमा १० लाख रहेको थियो ।

ग्यासको मूल्य पसलैपिच्छे फरक, तोकिएकोभन्दा १५० रुपैयाँ बढीमा बेच्दै Read Previous

ग्यासको मूल्य पसलैपिच्छे फरक, तोकिएकोभन्दा १५० रुपैयाँ बढीमा बेच्दै

‘मोज्याक’ टायलको प्रयोग बढ्दो, सडकदेखि होटलसम्म चम्काउँदै Read Next

‘मोज्याक’ टायलको प्रयोग बढ्दो, सडकदेखि होटलसम्म चम्काउँदै