
काठमाडौं । स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोशी, पानीको अभाव झेलिरहेको उपत्यकाबासीका लागि मेलम्ची खानेपानी र उपत्यकाको यातायातमा सुधार ल्याउने चक्रपथ निर्माण परियोजना । यी तीनवटै परियोजना अहिले चर्चामा छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजना निर्माण भएपछि वर्षामा नेपाल स्वदेशी उत्पादनमा आत्मनिर्भर भएर विद्युत् निर्यात गर्ने अवस्थामा पुग्छ ।
अनि मेलम्ची खानेपानी आयोजना निर्माण भएपछि खानेपानीको चरम समस्या भोगिरहेका काठमाडौंबासीले स्वच्छ खानेपानी पानी पाउँछन् र चक्रपथ निर्माणपछि साँघुरो र असहज नेपालको राजधानी काठमाडौंको सवारीसाधन आवत–जावत धेरै सहज हुन्छ । तर, परियोजना निर्माणका लागि चर्चा चलेको भने लामो समय बितिसकेको छ ।
मेलम्ची र माथिल्लो तामाकोशीको निर्माण हुने मिति एकदम नजिक छ भने चक्रपथ निर्माण सम्पन्न भएको मिति हेर्न केही वर्ष कुनै पर्छ ।
२० वर्षअघिदेखि माथिल्लो तामाकोशीको प्रक्रिया अघि बढेको हो भने मेलम्चीको चर्चा सुरु भएको २५ वर्ष नाघेको छ । चक्रपथको पनि डेढदशक नाघ्न लागिसकेको छ, तर तीनै परियोजनाले अहिले गति भने लिन थालेका छन् । मेलम्ची र माथिल्लो तामाकोशीको निर्माण हुने मिति एकदम नजिक छ भने चक्रपथ निर्माण सम्पन्न भएको मिति हेर्न केही वर्ष कुनै पर्छ ।
अर्थतन्त्र प्रभाव
माथिल्लो तामाकोशी, मेलम्ची र चक्रपथ निर्माणले विद्युत्, खानेपानी र सडकको पहुँचमात्र वृद्धि गर्दैन देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्छ । आधिकारिक रुपमा यसबारे अध्ययन नभए पनि विज्ञहरूको अनुमानमा यी ती परियोजनाको आर्थिक वृद्धिदरमा ठूलो योगदान पु¥याउनेछ । माथिल्लो तामाकोशी बनेपछि कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा एक प्रतिशत योगदान दिने जलविद्युत् विज्ञहरूले बताउँदै आएका छन् ।
यसैगरी, मेलम्ची र चक्रपथ निर्माणले झन्डै तामाकोशी जतिकै योगदान दिनेछ । अर्थतन्त्रको दृष्टिकोणले तीनै परियोजनालाई सरकारले प्राथमिकताप्राप्त र राष्ट्रिय महत्वका आयोजनाको रुपमा लिएको छ । माथिल्ले तामाकोशी र मेलम्ची आयोजनालाई त राष्ट्रिय गौरवका आयोजनाको रुपमा घोषणा पनि गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणकाअनुसार, हाल ४ सय मेगावाट बराबरको विद्युत् आयात गरिरहेको प्राधिकरणको आयात वर्षामा अन्त्य हुन्छ भने यही विद्युत्ले धेरै बिजुली नपुगेको गाउँ र सहरका ठाउँ–ठाउँमा बिजुली पुग्छ । माथिल्लो तामाकोशी पूरा भएपछि नेपालले विद्युत् निर्यात गर्ने लक्ष्य प्राधिकरणले राखेको छ । आर्थिक वर्ष २०७४/०७५ मा ७ हजार ५८ गिगावाट आवर विद्युत् खपत भएकोमा माथिल्लो तामाकोशी निर्माणपछि यस आयोजनाबाट मात्र २२ सय ८१ गिगावाट आवर योगदान दिनेछ ।
‘आयोजना निर्माण सम्पन्न भएपछि २२८१ गिगावाट आवर र यसमा रोल्वालिङ्गको पानी थपिएपछि थप २ सय गिगावााट थपिन्छ’, माथिल्लो तामाकोशी आयोजनाका प्रवद्र्धक अपर तामाकोशी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठ भन्छन्, ‘यसले नेपालको महंगिँदै गएको विद्युत्लाई सस्तो पनि बनाउँछ ।’ माथिल्लो तामाकोशीबाट वार्षिक ९ अर्ब बराबरको राजस्वमात्र उठ्ने अनुमान गरिएको छ । यसले भारतबाट आयात हुँदैआएको झन्डै २० अर्ब बराबरको बिजुलीलाई घटाउनुकासाथै स्वदेशी उत्पादनमा पनि ठूलो योगदान दिनेछ ।
१७ करोड लिटर मेलम्ची, १७ करोड लिटर याङ्ग्री र १७ करोड लिटर लार्के गरी दैनिक ५१ करोड लिटर पानी उपत्यकामा ल्याइने योजनासहित अघि बढेको मेलम्ची खानेपानी आयोजनाको पहिलो फेजमा मेलम्चीको खानेपानी उपत्यकामा वितरा गर्ने योजना छ । यसअन्तर्गत करिब ३५ लाख घरधूरीमा खानेपानी वितरण गरिनेछ । लार्के र याङ्ग्री खोलाको पानी भने दोस्रो चरणमा उपत्यकामा ल्याउने योजना छ ।
मेलम्चीको खानेपानी काठमाडौंमा वितरण गरेपछि उपत्यकामा खानेपानीको व्यापार गरिरहेका धेरै कम्पनीहरूको व्यापारमात्र सुक्नेछैन, यसले देशको अर्थतन्त्रमा पनि ठूलो योगदान पु¥याउनेछ । खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव गजेन्द्र ठाकुर मेलम्चीको खानेपानी आएपछिमात्र वार्षिकरुपमा ४ अर्बभन्दा बढी राजस्व उठ्ने र यसले अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने बताउँछन् । उनकाअनुसार, १० हजार लिटर पानी एक डलरमा अर्थात् उपत्यकाबासीले सबैभन्दा सस्तो पानी पाउँदैछन् भने जलविद्युत्कोभन्दा यो खानेपानीले देशको अर्थतन्त्रमा ठूलो योगदान दिँदैछ ।
साँघुरो उपत्यकाभित्र बन्न लागेको फराकिलो चक्रपथ संघीय राजधानीको काठमाडौं उपत्यकाका तीनवटै पुराना सहर र अन्य नवघोषित नगरपालिकाहरूलाई एउटै सडक सञ्जालको माध्यमबाट आपसमा जोडेर व्यवस्थित सहरीकरण गर्ने दीर्घकालीन सोचअनुरुप तयार भएको जग्गा विकास (ल्यान्ड–पुलिङ्ग) प्रविधि र प्रक्रिया अपनाएको नेपालको पहिलो सडकको रुपमा यसलाई निर्माण गर्न लागिएको छ ।
कुल लम्बाई ७१.९३ किलोमिटर हुने यो परियोजनाअन्तर्गत काठमाडौंमा ३५.०८ किलोमिटर, ललितपुरमा १५.८० किलोमिटर र भक्तपुरमा २१.०५ किलोमिटर मोटरबाटो बन्नेछ । ८ लेन सडकसहित साइकल लेन, हरियाली बेल्ट, फूटपाथ तथा आपाङ्ग–मैत्री पेटीको समेत ब्यवस्था गरिने योजना छ ।
२०५८ सालदेखि निर्माणको लागि प्रक्रिया अघि बढाइएको र आर्थिक वर्ष २०६१÷०६२ देखि वार्षिक बजेटमै राखेर अघि बढेको र ७२ अर्ब रुपैयाँ बराबर लागत अनुमान गरिएको आठ लेनको सो मोटरबाटो बनेपछि अर्थतन्त्रमा ठूलो योगदान पुग्ने अपेक्षा सरकारको छ । चक्रपथ निर्माण पूरा भएपछि यसले सहरीकरणलाई व्यवस्थित बनाउनुकासाथै वस्तु ओहोर–दोहोरमा समेत धेरै सहज हुनेछ ।
माथिल्लो तामाकोशी
चालु आर्थिक वर्षको अन्त्य अर्थात् आगामी असारसम्ममा उत्पादन सुरु गर्ने लक्ष्य राखिएको माथिल्लो तामाकोशीको काम करिब ९८ प्रतिशत सकिएको छ । २०६७ भदौदेखि निर्माण सुरु भएको आयोजना पहिलोपटक नेपालले स्वदेशी लगानीमा निर्माण सुरु भएको पहिलो र ठूलो आयोजना हो । दोलखाको बिगू गाउँपालिका वडा नम्बर १ लामाबगरमा निर्माणाधीन आयोजनाको सुरुको ब्याजसहितको लागत ४८ अर्ब रहेकोमा भूकम्पलगायतका कारण आयोजनामा ढिलाई भएपछि करिब ६९ अर्ब पुग्ने अनुमान गरिएको छ ।
हाल विद्युत प्राधिकरणले भारतबाट दैनिक चार सय मेगावाटको विद्युत् आयात गरिरहेको बेला तामाकोशी पूरा भएपछि वर्षामा आयातको अवस्था अन्त्य भई निर्यातको सुरुवात हुने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउँदैआएका छन् । पहिलोपटक स्थानीयबासीलाई १० सेयर दिनुपर्छ भनेर प्रबन्ध–पत्रमै उल्लेख गरेको माथिल्लो तामाकोशीमा स्थानीय र सर्वसाधारण गरी ८ लाख नेपालीको सेयर छ । त्यही तामाकोशीको व्यवस्थालाई टेकेर चिलिमे जलविद्युत् आयोजनाले रसुवाबासीलाई १० प्रतिशत सेयर वितरण भयो । अहिले हरेक आयोजनाहरूमा स्थानीय सेयर दिन थालिएको छ । स्थानीयबासीको समेत सहभागितामा २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना बनाएपछि नागरिक लगानी कोष, नेपाल टेलिकम, बीमा संस्थानलगायतका निकायको ऋण र स्वपुँजी (इक्वीटी) मा ४५६ मेगावाटको माथिल्लो तामाकोशी सुरु गरिएको थियो ।
सुरुमा ठूला आयोजना स्वदेशी लगानीमा निर्माण हुन नसक्ने अवधारणा रहे पनि सफलता उन्मुख तामाकोशीसँगै यही मोडेलमा ठूला आयोजनाहरू निर्माणको कार्य अघि बढाइएको छ ।
मेलम्ची खानेपानी
खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको भनाई पूरा हुने हो भने आगामी दुई महिनाभित्र सुन्दरीजलमा मेलम्चीको खानेपानी आइपुग्छ । तर पनि, २०५० सालमा भएको उपनिर्वाचिनको क्रममा पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले घोषणा गरेको यो महत्वकांक्षी योजना अब भने चालु आर्थिक वर्षभित्र पूरा हुन्छ भन्ने अवस्था छ ।
२७ किलोमिटर सुरुङ निर्माण सम्पन्न भैसकेको छ भने यसका लागि प्रशोधन केन्द्र, वितरण प्रणालीलगायतका अधिकांश काम सम्पन्न हुने अवस्थामा छन् । मेलम्चीदेखि काठमाडौंमा पानी ल्याएर १० वटा पानी भण्डारण केन्द्रबाट उपभोक्ताको घर–घरमा वितरण गर्ने योजना छ । करिब २५ अर्ब रुपैयाँ खर्च भएको आयोजनाको दोस्रो चरणको कामका लागि तयारी अघि बढाइएको छ । योजनाअनुसार याङ्ग्री र लार्के नदीबाट दैनिक १७/१७ करोड लिटर गरी थप ३४ करोड लिटर खानेपानी थप उपलब्ध हुनेछ । यसको विस्तृत डिजाइन प्रतिवेदन (डीडीआर) भइरहेको छ ।
मेलम्चीबाट आएको पानी भण्डारणका लागि सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाएर उपत्यकामा वितरण गर्न लागिएको आयोजनाबाट हाल १७ करोड वितरण गरिनेछ । ३९ करोड माग भए पनि दोस्रो चरणपछि भने सबै माग पूरा हुने आयोजनाले जनाएको छ ।
बाहिरी चक्रपथ निर्माण
लामो समयदेखि चर्चामा रहेको बाहिरी चक्रपथ निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएर भर्खर निर्माण अघि बढेको छ । उपत्यका विकास प्राधिकरणले बनाएको डीपीआरको आधारमा जग्गा अधिग्रहणका कार्यक्रमसहित अघि बढेको आयोजनाको डीपीआरमा ल्यान्ड–पुलिङ्गको माध्यमबाट जग्गाप्राप्ति तथा व्यवस्थापन गरिने, ब्लक योजना बनाउनेलगायत रहेको उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारी बताउँछन् । उपत्यकाको ट्राफिक व्यवस्थापन र फैलिँदो सहरीकरण व्यवस्थित गर्नका लागि १० वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्यसहित अघि बढेको आयोजनाबाट प्रभावित अयोजनाबाट प्रभावित हुने करिब सात हजार रोपनी जग्गाका कुनै पनि जग्गाधनीहरूलाई विस्थापित नगर्ने गरी ल्यान्ड–पुलिङ्गको माध्यमबाट व्यवस्थापन गर्ने योजना बनाएको प्राधिकरणले जनाएको छ ।
ओगट्ने क्षेत्रमा काठमाडौंको चोभार, गाम्चा, सतुङ्गल, नैकाप–पुरानो भञ्ज्याङ्ग, सीतापाइला, नागार्जुनडाँडा, नेपालटार, गोंगबु, टोखागाउँ, चपली, कपन, जगडोल, सन्डोल र थलीडाँछी छन् । ललितपुरमा लुभु, ठैव, धापाखेल, ठेचो, बुङ्मती हुँदै चोभार र भक्तपुरका गामफेदी, पकाउनेपाटी, बाँसबारी, याङ्डोल, मसानडोल, भातेढिकुरो, नयाँ ठिमी र दधिकोटलगायत छन् । यसबाट बाहिरी चक्रपथको दायाँ–बायाँ ६२ हजार रोपनी क्षेत्रफलमा व्यवस्थित वस्ती विकास गर्ने योजना अघि सारिएको छ । चाणक्य मासिकको बैशाख अंकबाट