खुल्न थाले दोलखाका पर्यटकीय क्षेत्र, कालिञ्चोक केबलकार संचालनमा

चरीकोट । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द रहेका दोलखाको पर्यटकीय क्षेत्र विस्तारै खुल्न थालेका छन् ।

 

कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेसँगै यहाँको पर्यटकीय क्षेत्र पनि खुल्न थालेका हुन् । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक स्थलका कारण वर्षैभरि चहलपहल हुने दोलखामा यतिबेला पर्यटकीय गतिविधि हुन थालेका छन् ।

 

कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्न थालेपछि गत वर्षको चैतदेखि बन्द रहेको यहाँका पर्यटकीय स्थल सुनसान देखिएको थियो । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले लागू गरेको बन्दाबन्दीका कारण जिल्लाको पर्यटकीय क्षेत्र पूर्ण रुपमा बन्द हुन पुगेको थियो । कोरोना भाइरस सङ्क्रमण न्यूून हुँदै गएको र स्थानीय प्रशासनद्वारा जारी गरिएको बन्दाबन्दी हटाएपछि यतिखेर दोलखामा चहलपहल सुरु हुन थालेको छ ।

 

जिल्लाको विभिन्न क्षेत्रमा पर्यटकीय गतिविधि बढ्न थालेको बताइएको छ । पर्यटकीयक्षेत्र विस्तारै खुल्न थालेका छन्, भने आन्तरिक पर्यटकको आवगमन सुरु हुन थालेको स्थानीयवासीको भनाइ छ । हिमाली जिल्ला दोलखा पर्यटनको ठूलो सम्भावना बोकेको जिल्ला हो । राजधानीबाट नजिकै र सहजै पुग्न सकिने तथा राम्रो पर्यटकीय क्षेत्र रहेको हुँदा यहाँ प्रायः सधैँजसो आन्तरिक पर्यटकको चहलपहल भइरहने गर्दछ । धार्मिक आस्थाका विभिन्न मठ–मन्दिर दोलखामा प्रशस्त मात्रामा रहेको हुँदा धार्मिक पर्यटकको रोजाइँमा दोलखा पर्ने गर्दछ ।

 

दोलखाको प्रसिद्ध मानिने भीमेश्वर मन्दिर बन्द रहेको करिब डेढ वर्षपछि आइतबारबाट खुल्ला गरिएको छ । कोरोना महामारीलाई लक्षित गरी नित्य पूजाबाहेक सर्वसाधारणका लागि पूजापाठ गर्न मन्दिर बन्द गरिएको थियो । आइतबारदेखि पूर्णरुपमा सर्वसाधारण तथा भक्तजनले भीमेश्वरको सिलामा दर्शन गरी पूजापाठ गर्न सकिने गरी मन्दिर खुल्ला गरिएको वडाध्यक्ष विराजमान श्रेष्ठले बताए ।

 

भीमेश्वरको सिलामा गत मङ्सिर ९ गते पसिना आएपछि मुलक र जनतालाई अनिष्ठ नहोस् भन्दै राष्ट्र प्रमुख र मन्दिर व्यवस्थापन समितिको तर्फबाट क्षमा पूजा गरी राष्ट्रपति कार्यालयमा प्रसाद पठाएपछि फेरि बन्द गरिएको थियो । भीमेश्वरको सिलामा पसिना आउँदा देशमा अनिष्ठ हुने धार्मिक विश्वास छ । त्यस्तै दोलखाको धार्मिक पर्याटकीय क्षेत्र कालिन्चोकमा पनि पर्यटकको चहलपहल सुरु भएको छ ।

 

तीन हजार ८४२ मिटरको उचाइमा रहेको कालिन्चोक भगवती मन्दिरमा दर्शन गर्न देशका विभिन्न ठाउँबाट भक्तजन आउने गर्दछन् । कोरोनाकै कारण सुनसान बनेको कालिन्चोक क्षेत्र विस्तारै खुल्न थालेको छ ।

 

कालिन्चोक भ्रमणमा समेत स्थानीय प्रशासनले भीडभाड बढेर कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्ने भन्दै बन्द गरेको थियो । दोलखा भ्रमणमा आउने तथा पर्यटकलाई लक्षित गरी कालिन्चोकमा निर्माण भएको केबुलकारसमेत सञ्चालनमा आएको छ । लामो समयदेखि पर्यटकको आवगमन नभएका कारण बन्द रहेको कालिन्चोक केबुलकार आइतबारबाट पूर्णरुपमा सञ्चालनमा आएको सो केबुलकारका निर्देशक अशोक शिवाकोटीले बताए।

 

त्यस्तै दोलखाको पर्यटकीय क्षेत्र च्छोरोल्पा हिमताल, शैलुङ, जिरी, लामाबगर, चलचित्र नगरीलगायतका पर्यटकीय क्षेत्रमा चहलपहल बढन थालेको छ । अधिकांश विदेशी पर्यटकको रोजाइँमा पर्ने च्छोरोल्पा हिमतालमासमेत भ्रमण गर्न बन्द गरिएकोमा अहिले खुल्ला गरिएको छ । कारोनाका कारण पूर्णरुपमा बन्द जस्तै रहेको जिरीमा पनि विस्तारै चहलपहल सुरु भएको जिरी नगरपालिकाका प्रमुख टङ्क जिरेलले बताए ।

 

जिल्लाको पर्यटकीय क्षेत्र खुलेसँगै पर्यटकको चहलपहल बढ्न थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । दोलखामा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी करोडौंको लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा छन् । सयौंको सङ्ख्यामा सञ्चालित त्यस्ता होटल कोरोनाका कारण पर्यटकको आवगमन बन्द भएपछि लगानीकर्ता चिन्तित बनेका थिए ।

 

लामो समयदेखि बन्द रहेको होटल विस्तारै सञ्चालनमा आएको र चहलपहल सुरु भएको होटल व्यवसायी शान्तकुमार जिरेलले बताए। जिल्लाको कालिन्चोक क्षेत्रमा करोडौंको लागानीमा सञ्चालित होटल करिब डेढ वर्षदेखि बन्द अवस्थामा रहेको थियो । रासस

बिलेटमा अन्तःशुल्क वृद्धि : नीतिगत भ्रष्टाचार कि आत्मनिर्भर बनाउने प्रयास ? Read Previous

बिलेटमा अन्तःशुल्क वृद्धि : नीतिगत भ्रष्टाचार कि आत्मनिर्भर बनाउने प्रयास ?

'बजेट होलिडे' हुँदै, सरकारले ढुकुटीको पैसा खर्च गर्न नपाउने Read Next

'बजेट होलिडे' हुँदै, सरकारले ढुकुटीको पैसा खर्च गर्न नपाउने