काठमाडौँँ । श्रीलंकाको राष्ट्रिय वायुसेवा कम्पनी श्रीलंकन एयरलाइन्सले गत मंगलबार (भदौ १३) देखि काठमाडौं–कोलम्बोको सिधा उडान शुरू गरेको छ ।
योसँगै लामो समयदेखि बन्द रहेको नेपाल–श्रीलंका सिधा उडान पुनःसञ्चालनमा आएको हो । श्रीलंकन एयरलाइन्सले मंगलबार र शनिबार गरी हप्तामा दुईवटा उडान थालेको छ । यसले नेपालमा श्रीलंकन पर्यटकहरूको आवागमन बढ्ने अनुमान गरिएको छ ।
करिब ४० वर्ष अघि काठमाडौं–कोलम्बो उडान तत्कालीन शाही नेपाल वायुसेवा निगम (हाल नेपाल एयरलाइन्स)ले गर्ने गरेको थियो । तर, श्रीलंका गृहयुद्धमा फसेसँगै र यात्रुहरूको अभाव भएसँगै उक्त उडान बन्द भएको थियो । त्यसपछि लामो समय यी दुई छिमेकी बीच सिधा उडान भएन ।
केही समयअघि हिमालयन एयरलाइन्सले काठमाडौं–कोलम्बो सिधा उडान गर्ने प्रयास गरे पनि व्यवसायीक कारणले सफल हुन सकेको थिएन । श्रीलंकाका बौद्ध धर्मावलम्बीहरूको लागि लुम्बिनी यात्रा लामो भयो भने नेपाली पर्यटकहरूको लागि श्रीलंकन समुद्री किनारहरू असहज भए ।
श्रीलंकाबाट विशेषगरी बौद्धमार्गिहरू लुम्बिनी घुम्न आउने गरेको श्रीलंकन एयरलाइन्सको जनरल सेल्स एजेन्ट जेनिथ ट्राभल्सका प्रबन्धक दीपक मैनाली बताउँछन् ।
‘श्रीलंकाबाट बौद्धमार्गिहरू नेपाल आउने गर्छन् । उनीहरू लुम्बिनी नघुमी जाँदैनन्,’ प्रबन्धक मैनालीले चाणक्य पोष्टसँग भने, ‘त्यसकारण नेपालको पर्यटन क्षेत्रलाई राम्रै योगदान पुुग्छ भनेर हामीले उडान शुरू गरका हौं ।’
कोेरोना महामारीका कारण पछिल्ला दुई वर्ष यता श्रीलंकाबाट नेपाल आउनेहरूको यकिन तथ्यांक भने छैन । त्यो भन्दा अघि भारतको बाटो हुँदै वार्षिक औसत २०÷२५ हजार श्रीलंकन पर्यटकहरू नेपाल भित्रिने गरेका थिए । यसअघि नेपालबाट तेस्रो मूलुक हुँदै जानुपर्ने भएकाले श्रीलंका जाने नेपालीहरूको संख्या भने न्यून रहेको थियो ।
एयरलाइन्सको उडानपछि खाडीका देशहरू जाने नेपालीका लागि पनि सहज हुने मैनालीको भनाइ छ । श्रीलंकाले हाल कोरोना महामारीपछि बन्द रहेका सबै क्षेत्र खुला गरिसकेको छ । कोरोना भ्याक्सिन नलगाएकाहरूले भने क्वारेन्टाइन बस्नु पर्ने छ ।
उडान थप्ने तयारी
नेपाल–श्रीलंका सिधा उडान सञ्चालनमा आएसँगै यात्रुहरूको आवागमन पनि बढेको छ । यात्रुहरूको संख्या बढिरहेका कारण नेपाल–श्रीलंका उडान बढाउने तयारी भइरहेको मैनाली बताउँछन् ।
पर्यटकीय सिजनसमेत शुरु भएकाले आगामी दिनमा पर्यटक बढ्न सक्ने सम्भावना देखिन्छ । यसलाई मध्येनजर गर्दै छिट्टै थप उडान थप्ने तयारी भइरहेको उनले बताए ।
श्रीलंकाबाट सेप्टेम्बर १८ तारीखसम्म नेपाल आउने दुइवटै एयरलाइन्सको टिकट सोल्ड आउट भइसकेको उनले बताए । ‘उडान बढाउने तयारीमा लागिरहेका छौं,’ उनले भने, ‘चाँडै नै १/२ उडान थप गर्छौं । अहिले १५० सिट क्षमताका दुईवटा एयरलाइन्सले उडान गरिरहेका छन् ।’
साथै, हप्तामा एकदिन व्यवसायिक उडान भैरहवा विमानस्थलमा पनि गर्ने तयारी रहेको उनले बताए ।
पर्यटकलाई सहज, आर्थिक क्षेत्रमा टेवा पुग्ने
श्रीलंकासँगको सिधा हवाइ सम्पर्कले नेपालको आर्थिक क्षेत्रमा सहयोग पुग्ने देखिएको छ । साथै, श्रीलंकाबाट तेस्रो मूलुक हुँदै नेपाल आउने पर्यटनहरूलाई पनि सहज हुने अपेक्षा गरिएको छ । भारत हुँदै तेस्रो मुलुक भएर नेपाल आउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।
भारतीय पर्यटन व्यवसायीहरूले श्रीलंकनहरूलाई लुम्बिनी दर्शन गर्न ल्याएर उतैबाट फिर्ता लैजाने गरेको प्रबन्धक मैनाली बताउँछन् ।
‘यसअघि श्रीलंकनहरू भारत हुँदै लुम्बिनी आएर दर्शन गरेर मात्रै फर्कन्थे । ब्रेक फास्ट देखि पानी समेत भारतै गएर खान्थे । अब नेपालसँगको सिधा हवाई उडानले नेपालको पर्यटन क्षेत्रमा राम्रै टेवा पुग्ने देखिन्छ,’ उनले भने ।
श्रीलंकाबाट नेपाल आउन प्रतिव्यक्ति बढीमा ५०० डलर भाडा लाग्ने गरेको छ । नेपाल आउँदा भ्याक्सिन नलगाएकाहरूले शुरूमै ७ दिनको लागि होटल बुकिङ, पीसीआर परिक्षण रिपोर्ट देखाउनु पर्ने लगायत स्वास्थ्य मापदण्ड पालना गरिने मैनालीले बताए ।