जाँदाजाँदै प्रधानसेनापति थापाले गरे सम्पत्ति सार्वजनिक, १४ कम्पनीको सेयर, कति छ नगद र घरजग्गा ?

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आ–आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

 

लम्जुङ बेँसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा घरसहित ०–८–३–२ जग्गा पैतृक तथा बूढानीलकण्ठमा आफ्नो र श्रीमती दीपाको संयुक्त नाममा निर्माणाधीन घरसहितको २४१६.५२ वर्गमिटर जग्गा रहेको छ ।

 

उनको लम्जुङ बेँसीशहर–२ मा अंशवण्डावापत प्राप्त १२–०–२–२ क्षेत्रफल जग्गा, काठमाडौँ महानगरपालिका–२६ मा श्रीमतीलाई माइतीबाट प्राप्त दाइजो ०–२–०–२ जग्गा, पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका–२ मा श्रीमती र आफ्नो संयुक्त नाममा शान्ति सेनाका कमाई आदिबाट खरिद गरिएको ४१६४.५७ वर्गमिटर जग्गा तथा छोरी रुरु थापाको नाममा बेँसीशहर नपा–२ पैत्रिक १–०–१–३ क्षेत्रफल जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । बूढानीलकण्ठमा रहेको जग्गामध्ये करिब ७०० वर्गमिटर जगगा बिक्री प्रक्रियामा रहेको जानकारी दिइएको छ ।

 

महारथी थापा दम्पतीसँग पैतृक, खरिद र बुहारीबाट प्राप्तसमेत ६१ तोला सुन, ६८० तोला चाँदी र १४ लाखमा खरिद गरिएकोसमेत औठीसहित हीरा हार छ । उनीहरूसँग घरभाडा, शान्ति सेना र सरकारी तलबभत्तासमेत गरी मेगा बैंकमा १ लाख ३५ हजार ७७२, ग्लोबल आइएमई बैंकमा ९९ हजार ३३, नेपाल इन्भेष्टमेन्ट बैंकमा २० लाख २२ हजार ३८१ रुपैयाँ र अमेरकी डलर ६ हजार ७० रहेको छ ।

 

प्रधानसेनापति थापा र दीपासँग तलबभत्ता र विविध आयबाट खरिद गरिएको विभिन्न बैंक र हाइड्रोका समेत गरी १४ वटा कम्पनीका करिब ४६ लाख मूल्य बराबरका २० हजार ४४१ सेयर रहेको सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उल्लेख छ ।

 

उनीहरूले नेपाल बैंकबाट १ करोड ९० लाख ऋण लिएको तथा छोरा रौनकले लक्ष्मी बैंकबाट अटोलोन ३० लाख ऋण लिएकामा १२ लाख २४ हजार रुपैयाँ तिर्न बाँकी रहेको देखाइएको छ । श्रीमती दीपाको २० लाख र छोरा रौनकको ५१ लाख मूल्यमा खरिद गरिएका एक–एक थान सवारी साधन रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

 

प्रधानसेनापति थापाको अवकाशपछि कर्मचारी सञ्चयकोषबाट ३५ लाख ३७ हजार ६२८, नागरिक लगानी कोषबाट १४ लाख ६६ हजार ३१३, सञ्चित बिदा र औषधोपचारवापत प्राप्त हुने सञ्चित मौज्दात २५ लाख ९० हजार ७३२ तथा आवास र बीमावापत ४ लाख ९७ हजार २७४ बचत मौज्दात अवकाश हुने मितिका हिसाबले प्राप्त हुने जानकारी दिइएको छ ।

 

उनले सेनाको नेतृत्व सम्हालेलगत्तै सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । महारथी थापा नै सम्पत्ति विवरण सार्वजनिक गर्ने पहिलो सैनिक हुन् । तीनवर्षे प्रधानसेनापतिको कार्यकालसहित ४१ वर्ष ८ महिना २२ दिनको सैनिक जीवन व्यतित गरी आगामी बिहीबार सेवानिवृत्त हुँदै गर्दा उनले वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

प्रशारण लाइनको टावर ढलेपछि ४ जलविद्युत् आयोजना बन्द, ७० मेगावाट बिजुली घट्यो Read Previous

प्रशारण लाइनको टावर ढलेपछि ४ जलविद्युत् आयोजना बन्द, ७० मेगावाट बिजुली घट्यो

सेयर बजारमा फेरि गयो पहिरो, यी हुन् धेरै मूल्य घट्ने ७ कम्पनी Read Next

सेयर बजारमा फेरि गयो पहिरो, यी हुन् धेरै मूल्य घट्ने ७ कम्पनी