काठमाडौं । विनोद जोशी काठमाडौं बसोवास गर्दै आएको ६ वर्ष भयो । उनी हरेक दिन रत्नपार्कको बाटो हुँदै नयाँ बानेश्वर आफ्नो कार्यालयसम्म पुग्छन, तर उनलाई रत्नपार्क वरपर सार्वजनिक शौचालय छ भन्ने पत्तो नै रहेनछ ।
‘म काठमाडौं बसेको ६ वर्ष भयो, तर रत्नपार्क वरपर सार्वजनिक शौचालय छ भन्ने मलाई पत्तो थिएन । झट्ट् हेर्दा रत्नपार्क वरपर शौचालय नै छ जस्तो लाग्दैन,’ जोशीले चाणक्य पोष्टसँग भने, ‘बीचबाटोमै शौचालय जान मन लाग्यो भने कि त हतारहतार अफिस कुद्छु कि रुममा ।’
कपन बस्ने टीका लिम्बु बेलाबेला किनमेलका लागि न्यूरोडमा जाने गर्छिन् । त्यसक्षेत्रमा सार्वजनिक शौचालयको अभाव देखेर थोरै पानी पिएर घरबाट निस्किने गरेको उनी बताउँछिन् ।
‘मलाई रत्नपार्क, न्यूरोड क्षेत्रमा सार्वजनिक शौचालय कहाँ छ भनेर थाहा नै छैन, शौचालयको अभाव देखेर घरबाट निस्किँदा थोरै मात्र पानी पिएर निस्किन्छु ता कि शौचालयको लागि समस्या नहोस्,’ उनले भनिन् ।

जोशी र लिम्बु प्रतिनिधि पात्र मात्र हुन् । देशकै संघीय राजधानी समेत रहेको काठमाडौंमा सार्वजनिक शौचालय नहुँदा दैनिक लाखौं व्यक्ति हैरान हुने गरेका छन् । महानगर भित्र सार्वजनिक शौचालय भेट्नै मुश्किल छ, भेटे पनि फोहरले गइ साध्य हुँदैन । त्यही दूर्गन्धित शौचालय प्रयोग गरेबापत पनि सर्वसाधरणले पैसा तिर्नु पर्ने बाध्यता छ ।
के भन्छ महानगर
काठमाडौं महानगरपालिका देशकै सबैभन्दा जेठो महानगर हो । तर, यहाँका समस्याका पोका खोतल्ने हो भने खोतलेर साध्य नै छैन । फोहर, धुँवाधुलो, पार्किङ्, सडक व्यवसाय, ट्राफिक जामसँगै शार्वजनिक शौचालयको अभाव कामपाका प्रमुख समस्या हुन । ४० लाख जनसंख्या भएको कामपा भित्र जम्मा औँलामा गन्न सकिने मात्र सार्वजनिक शौचालयहरु छन् ।
कामपामा सार्वजनिक शौचालयको अभाव समाधान गर्नको लागि हामी शौचालय निर्माणको कार्यलाई निरन्तरता दिइरहेका छौ, कामपा प्रवक्ता ईश्वरमान डंगोलले चाणक्य पोष्टसँग भने ।
महानगरभित्र हाल जम्मा ३७ वटा सार्वजनिक शौचालय रहेका छन् । निजी क्षेत्रले बनाएका बिजनेश कम्प्लेक्सदेखि सरकारी अस्पतालसम्मका शौचालयलाई समेत महानगरले सार्वजनिक शैचालयमा गणना गरेको छ । उसले महानगरमा शौचालयको संख्या धेरै देखाउन यस्तो गरेको हो ।

कामपा वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले कामपा भित्र ४३ वटा सार्वजनिक शौचालयसँगै धार्मिक स्थलमा २२, सरकारी भवनमा ५, पार्कमा ५,कर्मसियल भवनमा १७ अस्पतालमा ९ र पेट्रोल पम्ममा ५६ गरेर जम्मा १५१ वटा शौचालय रहेको बताए ।
कागजमा ४० वटा, फिल्डमा ५ वटा मात्र निर्माण
महानगरले २०७५ जेठमा ६ महिना भित्रमा निर्माण सम्पन्न गर्ने गरी विभिन्न ठाउँमा ४० वटा स्मार्ट शौचालय निर्माण गर्ने भनेको थियो । ६ महिनाभित्र निर्माण सक्ने भनेको ३ वर्ष बिते पनि काम भने कागजमा मात्र सीमित देखिएको छ ।
प्रवक्ता ईश्वरमान डंगोलले महानगरका ४० स्थानमा शौचालय निर्माण गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म ५ ठाउँमा मात्र निर्माण पूरा भएको बताए । ‘जग्गा अभाव भएकाले शौचालय निर्माणको काम सोचे जस्तो भएको छैन,तर शौचालय निर्माणको कामलाई तीव्रता दिइरहेका छौं, ४० वटा शौचालय निर्माण गर्न सोच अनुरुप ५ वटा निर्माण सम्पन्न भए, केही निर्माणको क्र्रममा छन,’ उनले भने ।

उनका अनुसार हालसम्म स्वयम्भू, विष्णुमती, नयाँ बानेश्वर, जयवागेश्वरीसहित ५ स्थानमा सार्वजनिक शौचालय निर्माणको काम सम्पन्न भएको छ भने त्रिपुरेश्वर, कलंकी लगायत ठाउँमा निर्माण जारी छ ।
यी हुन महानगरले शौचालय बनाउने भनेका ४० स्थान
काठमाडौँ महानगरले सार्वजनिक शौचालय निर्माणको लागि ३ वर्ष अघि नै ४० स्थान तोकेको थियो । तर, हालसम्म ५ स्थानमा मात्र पूरा भएको छ ।
महानगरले लैनचौर (गल्कोपाखा मार्ग), टेकु चोक, कालीमाटी चोक, बल्खु चोक, सीतापाइला चोक, वनस्थली (ढुङ्गेधारा), वनस्थली चोक, बालाजु चोक, माछापोखरी चोक, नयाँ बसपार्कबाहिर, गोंगबु सडक शिवमन्दिरसँगै, गोंगबु चोक, प्रहरीचौकी (चक्रपथ), वसुन्धारा चोक, चक्रपथ (महाराजगञ्ज), सुकेधारा चोक, गोपीकृष्ण हल चाबहिलमा सार्वजनिक शौचालय बनाउने घोषणा गरेको थियो ।
यस्तै, तिलगंगा, बौद्धनाथ सडक चुच्चेपाटी, गौशाला चोक, एयरपोर्ट मूलगेटबाहिर, कोटेश्वर चोक, तीनकुने, कोटेश्वर चोक –रिङ्गरोडको बालकुमारी तर्फ, पेप्सीकोला चोक, बानेश्वर चोक (देवकोटा सडक) र मीनभवन – मदन भण्डारी पथ, बबरमहल (माइतीघर, बिजुलीबजार), माइतीघर थापाथली, सुन्धारा पार्किङ्गअगाडि, भूगोलपार्क अगाडि, वसन्तपुर (उपयुक्त स्थान, जमल सडक, खानी तथा भूगर्भ विभागअगाडि, बागबजार सडक, नारायणचौर (नागपोखरी), कमलपोखरी, बालुवाटार, अनामनगर, बालाजु बाइसपासबाट त्रिशूली जानेबाटोमा शौचालय बनाउने लक्ष्य राखेको थियो ।
कामपाका अनुसार महानगरले निर्माण गर्ने भएको स्मार्ट शौचालय अपाङ्मैत्री शौचालय हुन् । यी शौचालयमा चौबीसै घण्टा बत्ति, पानीको व्यवस्था हुने महानगरले जनाएको छ ।