पहिरोले सडक अवरुद्ध हुँदा ४ जिल्लामा पेट्रोलियम पदार्थ अभाव

बागलुङ । पहिराका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध हुँदा साविकको धौलागिरिका चार जिल्लामा इन्धन र उपभोग्य वस्तुको अभाव हुन थालेको छ ।लामो समय ढुवानी रोकिँदा पेट्रोलियम पदार्थ, फलफूल तथा तरकारीलगायतका सामग्रीको अभाव हुन थालेको हो ।

 

वैकल्पिक मार्ग नभएका कारण गत शुक्रबारदेखि डिजेल र पेट्रोल बोकेका ट्यांकर पर्वतको मोदी गाउँपालिका–५ पातीचौरमा रोकिएका छन् । लामो समयका लागि सञ्चित गर्ने व्यवस्था नहुने र बाहिरबाट ल्याउन रोकिँदा भएको सञ्चितीले नधान्ने व्यवसायी बताउँछन् ।

 

‘अझै १/२ दिन डिजेल मिलाएर वितरण गरे पुग्ला तर पेट्रोल सकियो,’ गण्डकी धौलागिरि पेट्रोलियम डिलर एसोसियसनका सदस्य हरिबाबु सापकोटाले भने, ‘एकै पटक धेरै राख्दा पेट्रोलियम पदार्थ टिक्दैन, स्टोर नभएका कारण अभाव हुने देखिएको हो ।’

 

खाद्यान्नलगायतका अन्य सामग्रीमा भने समस्या नरहेको व्यवसायीहरुले बताएका छन् । सडक अवरुद्ध हुँदा उपचारका लागि पोखरा पुग्ने र अन्य काम विशेषले जानेहरु पर्वतको कार्कीनेटा हुँदै स्याङ्जाको बाटो आउजाउ गर्न थालेका छन् ।

 

बागलुङमा फलफूल र तरकारी बजारमा ठूलो मार परेको छ । पोखराबाट ल्याइने फलफूल र तरकारी सडकका कारण ढुवानी गर्न नसकिएको व्यवसायी मधु केसीले बताए। ‘तीज नजिकिँदै तर मौज्दात छैन,’ केसीले भने, ‘बजारमा स्याउ, केरा फाटफुटमात्रै देखिन थालेको छ ।’रासस

थामियो सेयर बजारको पहिरो, यस कारण आयो एकाएक उछाल Read Previous

थामियो सेयर बजारको पहिरो, यस कारण आयो एकाएक उछाल

नेप्सेमा कीर्तिमानी उछाल : एकैदिन तेहेरो अंकको वृद्धि, यी ७० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेमा कीर्तिमानी उछाल : एकैदिन तेहेरो अंकको वृद्धि, यी ७० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट