काठमाडौँ । सरकारले औषधी उत्पादन गर्ने स्वदेशी उद्योगलाई बेवास्ता गरेका कारण सिटामोलको समेत अभाव हुन थालेको छ । औषधीभन्दा कच्चा पदार्थको मूल्य बढी पर्ने भएपछि उद्योगहरूले कम उत्पादन गर्न थालेका छन् । जसकारण बजारमा अहिले सिटामोलको समेत अभाव हुन थालेको हो ।
सिटामोलको अभाव औैषधी उत्पादकका कारण नभइ सरकारका कारणले भएको नेपाल औषधी उत्पादक संघका वरिष्ठ उपाध्यक्ष महेश प्रधानले बताए ।
‘सिटामोलको अभाव औैषधी उत्पादकले गरेको होइन । यो सरकारको कारणले भएको हो,’ प्रधानले चाणक्य पोष्टसँग भने, ‘पहिले कच्चा पदार्थको मूल्य (प्रति २०० ग्राम) १ देखि १.५ डलरसम्म पर्थ्यो। अहिले कच्चा पदार्थको मूल्य बढेर ५ देखि ७ डलरसम्म पुगेको छ । तर, सिटामोल १३ वर्ष देखि अहिले सम्म १ रुपैयाँमै बेच्नु परेपछि घाटा खाएर उद्योगीले किन उत्पादन गर्छन् ?’
नेपालमा वार्षिक ५६ देखि ६० अर्ब रुपैयाँको औषधी खपत हुने गरेको छ । यो मध्ये ४५ देखि ५० प्रतिशत माग स्वदेशी उद्योगहरूले धानेका छन् ।
सरकारले कच्चापदार्थ आयातमा कुनै सहजता नगरेको प्रधान बताउँछन् । औषधीको भाउ बढाउन पनि सरकारले नमानेको उनको भनाइ छ । ‘यो त औषधी नेपालमा नबनाएर बाहिरबाट ल्याउने सरकारको नीति ठहरियो,’ उपाध्यक्ष प्रधानले थपे, ‘ फेरि बाहिरबाट ल्याउ भन्दा पनि सक्दैनन् । नेपाल भन्दा सस्तोे औषधी अरु देशमा पाइँदैन ।’
नेपालका औषधी उद्योगहरू आवश्यकताको ८० प्रतिशत औषधी उत्पादन गर्न सक्षम रहेको उनको दाबी छ । उनका अनुसार नेपाल भित्र २५० देखि ३०० प्रकारका औषधी उत्पादन गरिन्छन्।
हाल नेपालमा ६३ वटा औषधी उद्याोगहरू संञ्चालनमा रहेका छन् भने केही खुल्ने क्रममा छन् । अबको दुई वर्ष भित्र हाल बनिरहेका समेत गरेर १०२ वटा राष्ट्रिय औषधी उद्योग पुग्ने आौषधी उत्पादक संघले जनाएको छ ।
क्षमताको २५ प्रतिशत मात्र उत्पादन
हाल नेपालमा रहेका औषधी उद्योेगहरूले पूर्ण क्षमताको २० देखि २५ प्रतिशत मात्र उत्पादन गरिरहेको उपाध्यक्ष प्रधानले बताए । सामान्य अवस्थामा पनि उद्योगहरू पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका थिएनन् । सबैभन्दा बढी उत्पादन गर्ने कतिपय उद्योगहरूले पनि क्षमताको ४५ देखि ५० प्रतिशत मात्र उत्पादन गरिरहेका छन् ।
नेपालमा वार्षिक ५६ देखि ६० अर्ब रुपैयाँको औषधी खपत हुने गरेको छ । यो मध्ये ४५ देखि ५० प्रतिशत माग स्वदेशी उद्योगहरूले धानेका छन् । बाँकी विदेशबाट आयात गरेर आपूर्ति गर्ने गरिएको छ ।
‘नेपाली उद्योगलाई सरकारले प्राथमिकता दिएन’
सरकारले स्वदेशी औषधी उद्योगलाई प्राथमिकता नदिएका कारण पूर्ण क्षमतामा उद्योगहरूले उत्पादन गर्न नसकेको उत्पादकहरूको गुनासो छ ।
नेपालमा अहिले राष्ट्रिय उद्याोगलाई पेल्ने अनि विदेशबाट आएका वस्तुलाई प्राथमिकता दिने खुल्ला नीति रहेकोे उद्योगीहरू बताउँछन् । ‘नेपालको अहिलेको खुल्ला नीति कस्तो छ भने राष्ट्रिय उद्योगलाई पेल्ने अनि भारत, बंगलादेशबाट आाएका उत्पादनलाई प्राथमिकता दिने काम भइरहेको छ,’ प्रधानले भने, ‘त्यसैले हामीले पूर्ण क्षमतामा औषधी उत्पादन गर्न सकिराखेका छैनौं ।’
केही समयअघि मन्त्रिपरिषदबाट ३० प्रकारका औषधी नेपालका ५ देखि ७ वटा कम्पनीले उत्पादन गर्न पाउने निर्णय गरिएको भए पनि त्यसको कार्यान्वयन अझै नभएको उनले बताए ।
स्वदेशी उत्पादनलाई बेवास्ता गर्दै विदेशबाट आयात
सरकार स्वदेशी उद्योगहरूले उत्पादन गरेका औषधीको बेवास्ता गरेर विदेशबाटै आयात गर्न लागि परेको व्यवसायीहरू बताउँछन् । देशमा उत्पादन भएका औषधीको भाउ विदेशको भन्दा १० प्रतिशत बढी भएपनि स्वदेशी औषधीकै प्रयोग गर्नु भन्ने सरकारकै परिपत्र छ । तर, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुभन्दा गुणस्तरहीन विदेशी औषधीको आयात कायमै रहेको उनीहरूको भनाइ छ ।
‘हामीसँग भएका करिब ३ सय प्रोडक्ट मध्ये कम्तीमा १०० वटा नेपाली उत्पादन कहिल्यै नसड्ने क्षमता भएका छन् । फेरि ती औषधी पनि भारतबाटै आयात गरिन्छन्,’ उपाध्यक्ष प्रधानले भने, ‘स्वदेशी उत्पादनकोे बेवास्ता गरेर भारत र बंगलादेशबाट आयात गर्छन् । त्यसपछि मरेन राष्ट्रिय उद्योग ?’
उनले अघि थपे, ‘भारतीय उद्योगहरूले कागजमा यो गुणस्तरको होे भनेर भन्दिए पुग्ने अनी हाम्रा उद्योगहरूमा चाहिँ दश जना गएर निरीक्षण गर्दा पनि यो भएन, त्यो भएन भन्ने ?,’
विदेशी उद्योगहरूले देखावटिको लागि सस्तो औषधी बजारमा छरिदिएर गुणस्तरहीन औषधीको व्यापार गर्ने गरेको आरोप उनले लगाए ।
यस्तो छ नेपालको औषधी आयात निर्यातको अवस्था
नेपालको औषधी आयात/निर्यातको अवस्था हेर्ने हो भने निर्यातभन्दा आयात दोब्बर बढी रहेको देखिन्छ । चालु आर्थिक वर्षको साउन मसान्त सम्ममा ३ अर्ब लाख १९ करोड रुपैयाँको औषधी आयात गरिएको छ । सो अवधिमा ११ करोड ९४ लाख रुपैयाँको औषधी निर्यात गरिएको भन्सार भिागको तथ्यांक छ ।
गत आव २०७७ /७८ मा ३६ अर्ब ३७ करोेड १४ लाख ८८ हजार रुपैयाँको औषधी आयात गरिएको छ । सो अवधिमा १७ करोड ११ लाख ६६ हजार ६७ रुपैयाँको औषधी निर्यात गरिएको छ ।
यस्तै, आव २०७६/७७ मा नेपालले २८ अर्ब १८ करोड २५ लााख १८ हजार रुपैयाँको औषधी आयात गरेकोे छ भने १ अर्ब २ करोड २४ लाख ५ हजार रुपैयाँको औषधी निर्यात गरेको छ ।
आव २०७५/७६ मा ३० अर्ब १ करोड १८ लाख औषधी आयात गरिएको तथ्यांक छ । सोही समयमा ८ करोड ८९ लाख ८५ हजार रुपैयाँको औषधी निर्यात गरिएको छ ।
आव २०७४/७५ मा नेपालले २७ अर्ब २७ करोड ७ लाखको औषधी आयात गरेको छ । भने सोही अवधिमा ८ करोड २१ लाख ४ हजार रुपैयाँको औषाधि निर्यात गरिएको छ ।