काठमाडौं । कमलविनायक–नगरकोट सडक खण्ड निर्माणको काममा समस्याका भण्डार जम्मा भएका छन् । शुक्रबार संघीय संसद अन्तर्गतको विकास तथा प्रविधि समितिको टोलीले गरेको स्थलगत भ्रमणका क्रममा समस्याका चाँङ भेटिका हुन् ।
निर्माणको ठेक्का सम्झौता भएको ६ वर्ष बितिसक्दा समेत निर्माण व्यवसायीले ६० प्रतिशत मात्र काम सम्पन्न भएको तथ्यांक देखाएको छन् । २८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त सडक खण्डको काम ६ वर्ष बित्दा समेत सम्पन्न हुन् नसकेको हो ।
सन् २०१४ जुन ५ मा सम्झौता भई २०१६ जुन १८ सम्म सम्पन्न गर्ने योजनामा सरकारको थियो । ५ वर्षसम्ममा निर्माण सम्पन्न नहुनुमा निर्माण व्यवसायीको चरम लापरवाही रहेको समितिको टोलीले औँल्याएको छ ।
खरिपाटी स्थित मुहान पोखरीमा रहेको कल्भर्ट अत्यन्त जीर्ण र जोखिमयुक्त अवस्थामा रहेको पाइएको हो । सो सडक खण्डको निर्माण पूरा नहुँदा वर्षेनी वर्षमा हिलाम्य हुने र गर्मिमा धूलाम्य हुने गरेको स्थानीयको गुनासो रहेको छ ।
सडकको दाँया बाँया बनाइएका नालीहरु माटोले पुरिएकाले सडकबाटै पानीको भेल बग्ने गरेकोले सडकमा क्षती पुगेको पाइएको थियो ।साथै ठाउँ–ठाउँमा निर्माण भएका कल्भटहरु थुनिएको अवस्थामा पाइएको थियो ।
निर्माण कम्पनी प्रारम्भिक अध्ययन नै नगरी काम सुरु गरेको हुनाले सडक निर्माणमा समस्या देखिएको समितिले निष्कर्ष निकालेको हो । ३० महिनासम्म सडकभित्र पर्ने रुख कटान गर्ने अनुमति सरकारी पक्षले नदिएको भन्दै निर्माण कम्पनीले पन्छिन खोजेको समितिले जनाएको छ ।
२०२० को पर्यटन वर्षलाई मध्य नजर गर्दै समेत सो सडक खण्ड निर्माण सक्दो चाँडो पूरा गर्न समितिले निर्देशन दिएकोे छ ।सडकको दुरावस्थाले नगरकोटामा जाने पर्यटकको संख्यामा दिनानुदिन कमि आएको नगरकोटका होटल व्यवसायीहरुको भनाई छ ।
सो सडकम निर्माणमा सरकारी र व्यवसायीको उत्तीकै लापरवाही देखिएकाले त्यसमा सक्दो चाँडो छानबिन गरी दोषीलाई कानून बमोजिम कारवाहीको प्रकृया अघि बढाउनुपर्ने भएको छ ।
साथै खरिपाटी स्थित मुहान पोखरीमा हाल रहेको अत्यान्त जीर्ण र जोखिमयुक्त कल्भर्ट हटाउन तुरुन्त नयाँ निर्माण गर्नुपर्ने समितिले निशकर्ष निकालेको छ ।
कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्मको सडक खण्ड निर्माण गर्न नेपालको तर्फबाट शैलुङ कन्स्ट्रक्सन कम्पनी र भारतीय निर्माण कम्पनी आरावली इन्फ्रा पावरलाई जिम्मा दिइएको थियो ।
सो सडक नेपालको ४९ प्रतिशत र भारतको ५१ प्रतिशत लगानीमा निर्माणाधिन अवस्थामा रहेको छ । ३१ करोड ५२ लाख रुपैयाँमा निर्माण हुने भनिएको सो सडक खण्डको लागत बढेर हाल ३५ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
४ पटक म्याद थप, सडकको अवस्था उस्तै
सो सडक निर्माणका क्रममा ४ पटक म्याद थप भइसकेको छ । निर्माण सुरु हुँदा सम्पन्न मिति सन् २०१६ जुन १८ सम्ममा सम्पन्न गर्ने सम्झौता भएको थियो । सो अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि २०१६ अक्टुबर २० सम्म सम्पन्न मिति तोकिएको थियो ।
त्यसपछि २०१७ नेभेम्बर ४ लाई निर्माण सम्पन्न गर्ने मिति तोकिएको थियो भने त्यस अवधिमा समेत निर्माण सम्पन्न नभएपछि २०१८ जुन १४ सम्ममा निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई म्याद दिइएको थियो ।
यसरी पटक पटक म्याद थप्दा समेत निर्माण पूरा नभएपछि हाल आएर सो निर्माण पूरा गर्न २०२० को मार्च २० सम्मको म्याद थप गरिएको छ ।
सो सडक खण्ड १५.६६० किलोमिटर लम्बाई रहेको छ । बिहानको सूर्योदय हेर्न उक्त सडक हुँदै जाने पर्यटनको घुँइचो हुने गर्छ । सो सडकलाई २०२० पर्यटन वर्षलाई सफल बनाउनका लागि समेत निर्माण पूरा गर्न आवश्यक ठानिएको हो ।