भाटभटेनीले बनायो नेपालमै पहिलोपटक ११ तले पार्किङ, दशैंअघि नै संचालनमा आउने (फोटोफिचर)

काठमाडौं । काठमाडौं उपत्यकामा सवारीधनीले भोग्नु पर्ने सबैभन्दा ठूला समस्या हुन् जाम र पार्किङ । सवारीसाधनको बढ्दो चापका कारण एकातिर सडकमा लामो समय जाममा बस्नु पर्ने बाध्यता छ भने अर्कोतिर व्यवस्थित पार्किङ नहुँदा भौतारिनु पर्ने अवस्था छ ।

 

सवारीसाधन पार्किङ समस्यालाई लिएर बेलाबेला आवाज उठ्ने गरे पनि सरोकारवाला निकायहरु कानमा तेल हालेर बसेका छन् । पार्किङ समस्या समाधान गर्न काठमाडौं महानगरले बहुतले पार्किङ निर्माण गर्ने बताए पनि अहिलेसम्म काम अघि बढ्न सकेको छैन ।

यसैबीच, निजी क्षेत्रले भने आफ्नै लगानीमा नेपालकै पहिलो बहुतले पार्किङ निर्माण अन्तिम चरणमा पुर्याएको छ । खुद्रा व्यापारलाई आधुनिकीकरण गर्दै देशभर व्यवसाय विस्तारमा लागेको भाटभटेनी सुपर मार्केटले नक्शाल (पुरानो भाटभटेनी सुपर मार्केट)मा सुविधा सम्पन्न ११ तले पार्किङ निर्माण अन्तिम चरणमा पुर्याएको छ ।

 

भाटभटेनी आफ्नो आउटलेटमा पार्किङ समस्या भएपछि ग्राहकलाई सहजता दिलाउन ११ तले पार्किङ निर्माणलाई तीव्रता दिएको हो । ११ तले पार्किङको हरेक तलामा ४ वटाका दरले एकपटकमा ४४ वटा गाडी पार्किङ गर्न सकिन्छ ।

हालसम्म बहुतले पार्किङ निर्माणको ७० देखि ८० प्रतिशत हाराहारीमा काम सम्पन्न भएको भाटभटेनी सुपरमार्केट सिभिल विभाग साइट इन्जिनीयर विवेक घिमिरेले जानकारी दिए ।

 

भाटभटेनीले उक्त पार्किङ आउँदो दशैंअघि नै संचालनमा ल्याउने गरी निर्माणलाई तीव्रता दिइएको उनले बताए । ‘पार्किङ निर्माणको काम हालसम्म ८० प्रतिशत हाराहारी सम्पन्न भएको छ, चाडपर्वमा ग्राहक उल्लेख्य मात्रामा आउने भएकाले दशैं अघि संचालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिएका छौं, दशैं अघि हामी ह्याण्ड ओभर गर्छौं,’ घिमिरेले चाणक्य पोष्टसँग भने ।

उक्त पार्किङ निर्माणका लागि करीब ३ करोड ५३ लाख रुपैयाँ खर्च हुने उनले जानकारी दिए । चिनियाँ कम्पनीले डिजाइन गरेको उक्त बहुतले पार्किङ इण्डियन कम्पनी ओमेगा इन्जिनीयरिङले निर्माण गरिरहेको छ । ओमेगा कम्पनीसँगै नेपाली टोली स्पात कन्स्ट्रक्शनले पनि काम गरिरहेको छ ।

 

घिमिरेका अनुसार पार्किङ निर्माणको मेकानिकल काम लगभग सकिएको छ भने सिभिल,फेब्रिकेसनको पार्ट बाँकी छ । मेकानिकल पार्ट अन्तर्गत अटोमेटिक सिस्टम,फिक्स गर्ने, लिफ्ट, अटोमेशन, इलेक्ट्रिकलपार्ट, सेन्सर लगाएतको काम पर्दछन् । अबको एक महिना भित्रै सबै काम सकिएर पार्किङ संचालनमा ल्याउने गरी काम भइरहेको उनले बताए ।

 

सेयर बजारमा झिनो सुधार, यी हुन् धेरै मूल्य बढ्ने ७ कम्पनी Read Previous

सेयर बजारमा झिनो सुधार, यी हुन् धेरै मूल्य बढ्ने ७ कम्पनी

लगानी कोषका कर्मचारी र बचतकर्ताले आरोग्य डाइग्नोष्टिकमा ५५ प्रतिशतसम्म छुट पाउने Read Next

लगानी कोषका कर्मचारी र बचतकर्ताले आरोग्य डाइग्नोष्टिकमा ५५ प्रतिशतसम्म छुट पाउने