काठमाडौं । नुवाकोट–धादिङ जिल्ला स्थित बन्चरेडाँडामा सेनेटरी ल्याण्डफिल साइट निर्माण दशैँ अघि सम्पन्न हुने भएको छ ।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन साइट निर्माण गर्न मन्त्रिपरिषदले शहरी विकास मन्त्रालयलाई २०७५ मंसिर १७ गते जिम्मा दिएको थियो ।
मन्त्रालयले कामलाई तीव्र गतिमा अघि बढाउँदै पहिलो चरणमा ठेक्कापट्टाको काम सम्पन्न गरिसकेको छ । मन्त्रालयले ३४ करोड ६८ लाख ४७ हजार रुपैयाँमा बन्चरे डाँडा साइट निर्माणको ठेक्का दिएको हो । ठेक्का लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीले पाएको छ । ठेकका सम्पन्न गर्न १ वर्ष म्याद दिइएको छ ।
ल्याण्ड फिल निर्माणमा फोहोर व्यवस्थापनको लागि आवश्यक स्थान निर्माण,ड्रेनिङको प्रवाहसहितको जमिन तयार गर्ने, फोहोरबाट निस्किने ग्यास विसर्जनको व्यवस्थापन लगायतका कार्यहरु समावेश गरिएका छन् ।
साइट निर्माणका क्रममा कोल्पु पुल ३ बाट सडक विभागले निर्माण गरिसकेको सडकको अन्तबाट बन्चरे डाँडाको फोहोर डम्पिङ साइटको १ सय ७० मिटरसम्म ग्राभेल एप्रोच सडक निर्माण गर्नुपर्ने छ ।
यस स्थानमा भवन निर्माण, कार्यालय निर्माण, ग्यारेज, वेग ब्रिज, गाड हाउस लगायतका भौतीक पूर्वाधार समेत निर्माण गर्नुपर्ने छ ।
ठेक्का सम्झौताको समयावधिको ६ महिना सकिसकेको छ भने अबको ६ महिना निर्माण सम्पन्न गर्नुपर्ने छ । शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले आउदो दशैँ अघिनै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताए ।
उनले विकास समितिको बैठकमा बोल्दै दशैँ अघिनै साइट निर्माणको काम सक्ने बताएका हुन् । ‘हामीले साइट निर्माणको काम तीव्र गतिमा गरिरहेका छौँ, आफ्नो क्षमताले र श्रोतले भ्याएसम्मको काम भइरहेको छ, दशै अघिनै काम सक्ने तयारीमा छौँ,’ मन्त्री राईले भने ।
साइट निर्माणको काम दुई खण्डमा भइरहेको छ । पहिलो खण्ड निमार्णको लागि जमिन तयार पार्ने काम भईरहेको र जियो मेम्रान्स खरिदको प्रक्रिया अगागि बढाउन निर्देशन दिइसकेको छ ।
हाल निर्माणाधीन ल्याण्डफिल साइट निर्माणका लागि सरकारले एक हजार ७१९ रोपनी जग्गा तयार गरेको छ । हाल निर्माण गर्न लागिएको विसर्जनस्थलमा धादिङ जिल्लाको धुनीबेंसी – १ का केही भाग र नुवाकोट जिल्लाको ककनी गाउँपालिका २ र ३ का केही भू–भाग पर्छन् ।
हाल काठमाडौं उपत्यकाबाट दैनिक १ हजार मेट्रिक टन र काठमाडौं महानगरपालिकाबाट मात्र दैनिक ५०० मेट्रिक टन फोहर निस्कने गरेको छ । काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।
सिसडोलमा २०६२ सालमा दुई वर्षको फोहर व्यवस्थापन गर्न सकिने क्षमताको फोहर फाल्ने ठाउँ निर्माण गरिएकामा चार पटकसम्म विस्तार गरेर अहिलेसम्मको फोहर व्यवस्थापन गरिँदै आएको छ ।