काठमाडौं । दैनिक भान्छामा प्रयोग हुने तरकारीले आम उपभोक्तालाई सधैं चिन्तित बनाउने गरेको छ । एकातिर चर्को मूल्य वृद्धिले आहत बनाएको छ भने अर्कोतर्फ विषादीयुक्त तरकारी खनुपर्ने बाध्यता छ ।
सरकारले विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा हुने विषादीको प्रभावकारी परीक्षण नगर्दा र खुलेआम विषादीयुक्त तरकारीको विक्री वितरणमा रोक लगाउन नसक्दा उपभोक्ता मारमा परेका छन् ।
तरकारी तथा फलफूलमा विषादी प्रयोगको मात्रा वृद्धि भएको भन्दै सरकारले २०७१ सालबाटै विषादी परीक्षणको लागि देशका विभिन्न सात ठाउँमा विषादी परीक्षण एकाई गठन गरेको थियो । सरकारले कालिमाटी, बुटवल, नेपालगञ्ज, अत्तरिया, झापा, पोखरा र सर्लाहिमा फलफूल तथा विषादी परीक्षण एकाई गठन गरेको थियो । तर ती विषादी परीक्षण एकाई प्रभावकारी बन्न सकेको देखिँदैन ।
यसैबीच, कालीमाटी तरकारी बजार विषादी परीक्षण शाखाले दिएको जानकारी अनुसार सरकारले तरकारीको विषादी परीक्षण कार्यलाई निरन्तरता दिए पनि यसको प्रभावकारीता भने शून्य भएको देखिएको छ ।
कालिमाटी तरकारी बजार लगायत सरकारले देशका अरु ६ ठाउँमा परीक्षण गर्दै आएको र्यापिड बायोएसे अफ पेस्टिसाइड रेसिड्युअल परीक्षण (विषादी अवशेष विश्लेषण) अन्तर्गत मुख्य अर्गानो फस्फेट र कार्मामेन्ट दुई समूहको मात्र विषादी परीक्षण गरिएको छ ।
ती दुई समूह मध्ये कार्मामेन्ट नेपालमा प्रतिबन्धित विषादी हो । जुन नेपालमा प्रयोग तथा बेचबिखन गर्न पहिल्यै बन्द भएको थियो । तर विषादी परीक्षण शाखामा यी दुई बाहेकको विषादी परीक्षण भने गर्न सम्भव देखिएको छैन । जसले तरकारीमा कुन विषादी प्रयोग भएको छ भन्दा पनि (किट मेथर्डबाट ट्याली गरेर) विषादीको दर मात्र पत्ता लगाउने हो । जसको आधारमा कुन तरकारी खान योग्य छ, कुन क्वारिनटाइनमा राख्नु पर्ने र कुन नष्ट गर्नुपर्ने छ भन्ने मात्र पत्ता लगाउन सकिन्छ ।
कालिमाटी विषादी परीक्षण शाखा प्रमुख प्रकाश घिमिरेलेका अनुसार यो दुई विषादीको मात्र परीक्षण गरेर स्वच्छ तरकारी खान सम्भव छैन । ‘विषादी परीक्षण गर्न जुन अर्गानो फस्फेट र कार्मामेन्टको मात्र परीक्षण गरिँदै आएको छ,यसले स्वच्छ तरकारी खान सम्भव छैन, यो दुई बाहेक तरकारीमा धेरै प्रकारका विषादी प्रयोग गरिन्छ । त्यो बाहेक अरु विषादी प्रयोग भएको थाहा हुँदैन, हामीले नयाँ प्रविधिको प्रयोग गरेर मात्र स्वच्छ तरकारी खान सक्छौं,’ कालिमाटी विषादी परीक्षण शाखा प्रमुख प्रकाश घिमिरेले चाणक्य पोष्टसँग भने ।
बजारले विषादी परीक्षणको नमूनामा ३ वटा लेबल लगाउने गरेको छ । तरकारीको विषादी परीक्षण क्वारेन्टाइन तथा जीवनाशक विषादी परीक्षणको लेबल अनुसार विषादीको मात्रा ०–३५ पीपीएम (पार्टस् पर मिलियन अर्थात् प्रति १० लाखमा हिस्सा) भएको नमूनालाई हरियो लेबल लगाइन्छ । यस्तो तरकारीलाई खान योग्य मानिएको छ ।
त्यसैगरी, विषादीको मात्रा ३५-४५ पीपीएम भएको नमूनालाई पहेँलो लेबल लगाइन्छ । यस्तो तरकारीलाई केही दिन स्टक गरेर पुनः विषादीको मात्रा परीक्षण गरेर प्रयोग गर्न सकिन्छ । तर, ४५ भन्दा बढी पीपीएम विषादी भएको तरकारी खानका लागि अयोग्य मानिन्छ उच्च विषादी हुने यस्तो तरकारी नष्ट गरिने गरिएको छ ।
विषादी प्रयोगको मात्रा घट्दो
कालिमाटि तरकारी बजार लगायत देशका अन्य ६ ठाउँमा गरिएको विषादी परीक्षणको आधारमा तरकारीमा फस्फेट र कार्मामेन्ट विषादीको प्रयोग कम देखिएको छ । तर यसैको आधारमा तरकारीमा विषादी प्रयोगको मात्रा कम भएको भने मान्न सकिँदैन ।
केन्द्रीय कृषि प्रयोगशालामा बाली संरक्षण अधिकृत समेत रहेका घिमिरेका अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा पछिल्लो वर्ष गरिएको परीक्षणमा विषादी प्रयोगको मात्रा घटेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा सात वटै स्थानमा कुल ७३ हजार १७४ नमूनो परीक्षण गरिएकोमा सोमध्ये ४९ वटा तरकारीमा ४५ भन्दा बढी पीपीएम विषादी प्रयोग भएकाले नष्ट गरिएको थियो । जसमध्ये ४२ तरकारीमा विषादीको मात्रा ३५–४५ पीपीएम भएकोले यस्तो तरकारीलाई केही दिन स्टक गरेर पुनः विषादीको मात्रा परीक्षण गरेर प्रयोग गरिएको थियो ।
तर, पछिल्लो वर्ष २०७७/७८ मा विषादी प्रयोगको मात्रा भने अलि कम देखिएको छ । कुल ७९ हजार ५७३ नमूनामध्ये २७ वटा नमूना नष्ट गरिएको छ । त्यसैगरी, ५५ वटा नमूना केही दिन स्टक गरेर प्रयोग गर्न योग्य मानिएको थियो ।