काठमाडौं । नबिल इन्भेष्टमेन्टले भदौ २५ गतेदेखि ‘नबिल ब्यालेन्स्ड फण्ड ३’ को इकाई विक्रीमा ल्याउने भएको छ । फण्डले प्रतिइकाई १० रुपैयाँ दरलो १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो ।
विक्रीमा आउने कुल १० करोड इकाईमध्ये बिज पूँजीबापत १ करोड ५० लाख इकाई नबिल बैंक र नबिल इन्भेष्टमेन्टलाई छुट्याइएको छ । त्यसमध्ये कोष प्रवर्धक नबिल बैंकलाई १ करोड ४० लाख र १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई सुरक्षित गरिएको छ ।
बाँकी रहेको ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । लगानीकर्ताले भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै इकाई विक्री नभएमा ढिलोमा असोज ८ गतेसम्म आवेदन दिन सकिने छ ।
फन्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । १० वर्ष अवधिको यस बन्दमुखी फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ नबिल बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।