काठमाडौं । नेपालको एक चिनारी कृषिप्रधान देश पनि हो । कृषिप्रधान देशमा अन्न, तरकारी तथा फलफूल प्रशस्त उत्पादन हुनुपर्ने हो । तर यथार्थमा यस्तो पाइँदैन । फलतः हरेक वर्ष छिमेकी मुलुकबाट अर्बौं मूल्य बराबरको तरकारी आयात गरेर माग धान्नु परेको छ ।
नेपालमै प्रशस्त तरकारी उत्पादन गर्ने सम्भावना रहे पनि सरकारले कृषकलाई आकर्षित गर्ने कार्यक्रम नल्याउँदा, यही पेशामा रहेकाले पनि व्यवसायिक खेती प्रणाली नअपनाउँदा, उन्नत जाउतको बीउ, मल, यान्त्रीकरणको व्यवस्था नहुँदा माग अनुसारको तरकारी उत्पादन हुन नसकेको हो ।
माग अनुसार उत्पादन हुन नसकेपछि भारतबाटै आयात गरेर माग धान्दै आइएको छ । नेपालमा भारतका साथै चीन, भुटान, बंगलादेश लगायत मुलुकबाट तरकारी आयात हुँदै आएको छ । जसमा भारतको वर्चश्व रहेको छ ।
पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा औषतमा कुल मागको ४२ प्रतिशतबढी तरकारी भारतबाट आयात हुँदै आएको छ । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा भारतबाट कुल आयातको ४०.५४ प्रतिशत तरकारी आयात भएको छ ।
गत वर्ष कुल १ लाख ६० हजार मेट्रिकटन तरकारी आयात भएकोमा भारतबाट मात्रै ६४ हजार मेट्रिकटन तरकारी आयात भएको छ । गत वर्ष विदेशबाट तरकारी आयातका क्रममा ७ अर्ब रुपैयाँ रकम बाहिरिएको विभागले जनाएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा २ लाख ४६ हजार १९३ टन तरकारी आयात भएकोमा भारतबाट मात्रै ४४.२७ प्रतिशत तरकारी आयात भएको देखिन्छ ।
त्यसैगरी आर्थिक वर्ष २०७५/७६ मा कालीमाटी तरकारी बजारमा आयात भएको कुल २ लाख ८३ हजार ८९२ टन तरकारी मध्ये भारतबाट ४१.४० प्रतिशत तरकारी आयात भएको थियो ।
चालू आर्थिक वर्षको पहिलो एक महिनामा कालीमाटी बजारमा भित्रिएको २२ हजार ३६० टन तरकारी विदेशबाट आयात भएको छ । सोमध्ये भारतबाट ८ हजार ५७२ टन तरकारी आयात भएको छ ।
कालिमाटीमा कुन जिल्लाबाट कति आउँछ तरकारी ?
देशकै प्रमुख कालिमाटी तरकारी तथा फलफूल बजारमा मुख्य गरी छिमेकी जिल्लाहरु धादिङ, मकवानपुर, काभ्रे, नुवाकोटका साथै तराइका जिल्लाबाट तरकारी आउने गरेको छ ।
कालिमाटी तरकारी बजार समितिका अनुसार मकवानपुरबाट कुल आयातको ७. ७२ प्रतिशत, काभ्रेबाट १०.३४ प्रतिशत, धादिङबाट ९.७६ प्रतिशत, चितवनबाट ६.१६ प्रतिशत तरकारी आउने गरेको छ ।
यसैगरी, उपत्यकाका भक्तपुरबाट ५.३५ प्रतिशत, काठमाडौंबाट ४.९८ प्रतिशत, र ललितपुरबाट १.१९ प्रतिशत तरकारी आउँछ । यस्तै, कालिमाटीमा तनहुँबाट शून्य.४३ प्रतिशत, सुनसरीबाट शून्य.२१ प्रतिशत, सिन्धुपाल्चोकबाट शून्य.८५ प्रतिशत, सिन्धुलीबाट शून्य.२० प्रतिशत, सर्लाहिबाट ३.९४ प्रतिशत, रोमछापबाट शून्य.३७ प्रतिशत तरकारी आउने गरेको छ ।
यस्तै, आयात हुने तरकारीको हिस्सामा पर्साबाट शून्य.८१ प्रतिशत, नुवाकोटबाट १.४५ प्रतिशत, नवलपरासीबाट शून्य.३४ प्रतिशत, मोरङ्बाट शून्य.३० प्रतिशत, प्रतिशत, झापाबाट शून्य.४० प्रतिशत, गोरखाबाट शून्य.६२ प्रतिशत, दोलखाबाट १.१३ प्रतिशत, प्रतिशत, बाराबाट शून्य.२९ प्रतिशत, अन्यबाट १.४३ प्रतिशतरहेको छ ।