एक महिनामै डेढ खर्बको आयात, सबैभन्दा धेरै पेट्रोलियम पदार्थ

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा साढे १ खर्ब बढीको आयात गरिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालू आव (२०७८/७९) को पहिलो महिनाको तथ्याङ्कअनुसार १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको हो ।

 

गत आव २०७७/०७८ को पहिलो एक महिनामा ८५ अर्ब ८० करोड ७९ लाख बराबरको आयात गरिएको थियो । सो अवधिका तुलनामा चालू आवमा ७५.६६ प्रतिशतले आयातमा वृद्धि भएको हो ।

 

यस्तै चालू आवको पहिलो एक महिनामा २० अर्ब ७६ करोड ५१ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । अन्य आवका तुलनामा चालू आवको एक महिनामा निर्यातमा उच्चरुपमा वृद्धि भएको हो । गत आवको सोही अवधिमा ९ अर्ब ६२ करोड बराबरका स्वदेशी सामग्री निर्यात गरिएको थियो । तथ्याङ्कअनुसार गत वर्षको तुलनामा निर्यात् ११५.८५ प्रतिशतले बढेको हो ।

 

गत आव २०७७/७८ को पहिलो एक महिनाको तुलनामा चालू आवको पहिलो एक महिनामा निर्यातसँगै आयातमासमेत वृद्धि भएको छ ।

 

त्यस्तैगरी नेपालले साउनमा मात्रै १ खर्ब २९ अर्ब ९६ करोड ६६ लाख बराबरको व्यापार घाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा ७६ अर्ब १८ करोड ७९ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो । गत वर्षको तुलनामा चालू आवमा ७०.५९ प्रतिशतले व्यापार घाटा बढेको हो ।

 

सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात

 

विभागले सार्वजनिक गरेको एक महिनाको तथ्याङ्कअनुसार नेपालमा सबैभन्दा धेरै आयात हुने सामग्रीको उच्च स्थानमा पेट्रोलियम पदार्थ रहेको छ । एक महिनामा १८ अर्ब १३ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थको आयात भएको छ ।

 

आयातको उच्च स्थानमा रहेको तेल निर्यातको पहिलो स्थानमा रहेको छ । नेपालमा तेस्रो देशबाट तेलका लागि आवश्यक कच्चापदार्थ आयात गरी नेपालमा प्रशोधन गरी पुनःतेस्रो मुलुक पठाइने गरिएको छ । एक महिनामा नेपालबाट ११ अर्ब ९३ करोड बढीको तेलजन्य वस्तुको निर्यात गरिएको छ ।

 

एक महिनाका अवधिमा १०२ देशबाट रु एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्याङ्कअनुसार एक महिनाको अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।

 

भारतबाट ८९ अर्ब ४८ करोड ६३ हजार बराबरको आयात भएको छ । भारतपछि ठूलोमात्रामा आयात चीनबाट भएको छ । चीनबाट एक महिनामा २० अर्ब ९७ करोड ६६ लाख बराबरको आयात भएको छ । एक महिनाको अवधिमा भारतमा १६ अर्ब ८३ करोड ६९ लाख र चीनमा ८ करोड बराबरको निर्यात भएको छ ।

चापागाउँ-सुनाकोठी सडक कालोपत्र गरेको ६ महिनामै उप्कियो, जताततै खाल्डैखाल्डा Read Previous

चापागाउँ-सुनाकोठी सडक कालोपत्र गरेको ६ महिनामै उप्कियो, जताततै खाल्डैखाल्डा

निर्यात प्रवद्र्धनका लागि तत्काल यी काम गर्न महासंघको सुझाव Read Next

निर्यात प्रवद्र्धनका लागि तत्काल यी काम गर्न महासंघको सुझाव