बीमाको पहुँच ४ वर्षमै दोब्बर, जीडीपीमा ३ प्रतिशत योगदान

काठमाडौं । नेपालमा बीमाको पहुँच उल्लेख्य रूपमा बढ्दै गएको छ । पछिल्लो ४ वर्षमा बीमाको पहुँच दोब्बरभन्दा धेरैले बढेको तथ्यांकले देखाएको हो ।

 

बीमा समितिका अनुसार आर्थिक वर्ष २०७३/७४ मा कुल जनसंख्याको ११ प्रतिशतमा मात्र बीमाको पहुँच रहेकोमा  गत आव २०७७/७८  चैतसम्म २४.०१ प्रतिशतमा पुगेको छ । उक्त अवधिमा वैदेशिक रोजगार म्यादी जीवन बीमालाई समेत समावेश गर्दा २६.२३ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको समितिको तथ्यांकले देखाउँछ ।

 

पछिल्ला २ वर्षमा मात्र नेपालमा बीमाको पहुँच ८ प्रतिशतले बढेको छ । आव २०७५/७६ मा कुल जनसंख्याको १९ प्रतिशत बीमाको पहुँचमा पुगेकोमा आव २०७७/७८ सम्म आइपुग्दा यो २७ प्रतिशत हाराहारी पुगेको छ ।

 

जीवन, निर्जीवन र पुनर्बीमा गरी २०७६/७७ मा २६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको छ भने आव २०७७/७८ मा २७ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको बीमा समितिको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७३/७४ मा कुल जनसंख्याको ११ प्रतिशतमा मात्र बीमाको पहँच पुगेको थियो । यसरी हेर्दा विगत ३-४ वर्षयता नेपालमा बीमाको पहुँच उल्लेख्य मात्रामा बढेको देखिएको छ ।

 

हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनी संचालनमा रहेका छन् । जसमा सरकारी लगानीको १, निजी लगानीका १६, विदेशी लगानीको १ र संयुक्त लगानीको १ वटा रहेका छन् ।

 

यस्तै, नेपालमा २० वटा निर्जीवन बीमा कम्पनीहरू रहेका छन् भने एउटा पुर्नबीमा कम्पनी पनि सञ्चालनमा रहेको छ । अर्को एउटा पुनर्बीमा कम्पनीले पनि लाइसेन्स पाइसकेको अवस्था छ । तर सञ्चालनमा भने आइसकेको छैन ।

 

विगत दुई वर्षयता कोरोनाको महामारीले लकडाउन तथा निषेधाज्ञा जारी रह्यो । यस्तो अवस्थामा पनि बीमामा आम मानिसहरूको पहुँच बढ्दै गएको नै देखिन्छ ।

 

जीडीपीमा बीमा क्षेत्रको ३.२१ प्रतिशत योगदान

 

बीमाको पहुँच बढेसँगै कुल ग्रार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान पनि बढ्दै गएको छ । आव २०७५/७६ को तुुलनामा ०.६१ प्रतिशतले बढेर आव २०७६/७७ कुल ग्राहस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान ३.२१ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७५/७६ मा कुल ग्राहस्थ उत्पादनमा बीमाको योगदान २.६ प्रतिशत रहेको थियो ।

 

बीमा समितिले गत आर्थिक वर्षमा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको कुल ग्रार्हस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान बढ्दै गएको देखिन्छ । विगत लामो समयसम्म मुलुकको कुल गार्हस्थ उत्पादनमा बीमाको योगदान १ प्रतिशतको हाराहारीमा रहँदै आएको थियो । गत आव २०७७/७८ को अन्त्य सम्ममा कुल ग्रार्हस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान ३.७५ प्रतिशत पुग्ने अनुमान गरिएको थियो ।

 

जीवन बीमाशुल्क ५१ प्रतिशतले वृद्धि

 

नेपाली बीमा बजारमा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरूले एक वर्षमा बीमाशुल्क संकलन कुल ५१.२९ प्रतिशतले बढाएका छन् । समितिको तथ्यांक अनुसार २०७७ चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले कुल ९३ अर्ब ८६ करोड बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

 

यस्तै, जीवन बीमा कम्पनीहरूले कुल ७६ लाख ६१ हजार ३५० बीमालेख विक्री गरेका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.६६ प्रतिशतले बढी हो । बीमा कम्पनीहरूबाट विक्री भएका कुल जीवन बीमालेखहरू मध्ये ६ लाख ७३ हजार १८४ बैदेशिक रोजगार म्यादी जीवन बीमालेख रहेका छन् ।

 

निर्जीवन बीमाशुल्क संकलन १७ प्रतिशतले बढ्यो

 

हाल सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरूले एक वर्षकको अवधिमा १६.९७ प्रतिशतले बीमाशुल्क संकलनमा वृद्धि गरेको समितिको तथ्यांकले देखाएको छ ।

 

२०७७ चैत मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल २३ अर्ब २ करोड बीमाशुल्क संकलन गररेका हुन् । यस्तै, सोही आर्थिक वर्षमा बीमालेख विक्री २८.४० प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा कुल २२ लाख ४४ हजार ६१६ वटा बीमालेख विक्री गरिएको देखिन्छ ।

 

देशका ७५० पालिकामा पुगे बैंकका शाखा, यी हुन् बैंक पुग्न बाँकी ३ गाउँपालिका Read Previous

देशका ७५० पालिकामा पुगे बैंकका शाखा, यी हुन् बैंक पुग्न बाँकी ३ गाउँपालिका

काठमाडौंका ३ नगरवासीे ‘नयाँ सहर’को विरोधमा, भन्छन्-प्लटिङ गर्दा कृषि जमीन सकिन्छ Read Next

काठमाडौंका ३ नगरवासीे ‘नयाँ सहर’को विरोधमा, भन्छन्-प्लटिङ गर्दा कृषि जमीन सकिन्छ