के ‘लोभ र सपना’को व्यापार गर्ने ‘जुवाको खाल’ बन्दैछ सेयर बजार ?

काठमाडौं । यससाता सेयर बजारमा निकै उतारचडाव देखियो । पछिल्ला तीन दिनमा करिब १२३ अंकले घटेको बजारमा साताको अन्तिम कारोबार दिनमा करिब १८ अंकको सुधार आयो ।

 

नेपाली सेयर बजारमा विगत ४–५ महिनायता उस्तै खाले ट्रेण्ड देखिएको छ । बढेको समयमा वित्त कम्पनी, विकास बैंक र हाइड्रो सेक्टरका कम्पनीहरू बढ्ने । बढाइ फेरि थोरैतिनो होइन, सिङ्गै १० प्रतिशत । अनि घटेका बेला पनि यिनै ३ सेक्टरका कम्पनीहरू घट्ने । उसैगरी, अर्थात १० प्रतिशतले ।

 

मुलुकका सबै क्षेत्रका प्रबुद्ध वर्गहरू माझ यो बजारले स्वीकार्यता प्राप्त गर्न सक्दैन, यस्तै पारा हो भने । यो विचार गर्नुपर्ने हो सेयर बजारका ‘नेता’हरूले । तर यी नेताहरूको काम बजार घटे अनशन बस्ने, बढे थपडी बजाउने बाहेक केही देखिएको छैन । आफ्नो क्षेत्रको इज्जत बढाउने आफैंले हो । उनीहरूलाई यसको वास्ता छैन ।

 

यो समयमा सेयर बजारमा अन्य सेक्टरहरू पनि छन् भन्ने देख्न पाइएको छैन । अरू सेक्टरहरू चलिहाले पनि १ दिन । कहिलेकाहीँ मुश्किलले २ दिन । किन यस्तो मात्र भइरहेको छ भन्ने प्रश्न उठाएको छ ।

 

यसको सोझो उत्तर छ, बजार खेलाइएको छ । मनपरी खेलाइएको छ । लगानी ग्रुप भनेर खुफिया ढंगले मानिसहरू जम्मा भएका छन् । २०–५० करोड रुपैयाँ जम्मा पारेका छन् अनी खेलाएका छन् ।

 

नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेका उच्च पदाधिकारीहरू आफैं श्रीमती र छोरीका नाममा सेयरको मोलमोलाइमा व्यस्त रहँदा यस्ता लोकमारा र अन्ततः बजारमारा खेल रोक्ने तदारुकता नहुनु स्वभाविक हो ।

 

किराना पसलमा सेयर गफ चल्दै थियो । सायद नयाँ लगानीकर्ता हुँदा हुन् । एउटाले भन्यो, ‘मैले मेगा बैंक र कुमारी बैंकको सेयर किनें आज, ५००–५०० कित्ता ।’ अर्काले तुरुन्तै जवाफ फर्कायो, ‘धत् ! फाइनान्स वा हाइड्रो किन्नुपर्छ पैसा कमाउने हो भने । अरू किनेर काम छैन ।’

 

अहिले अवस्था कस्तो भएको रहेछ त भन्दा पैसा कमाउनु छ भने हाइड्रो, फाइनान्स र विकास बैंक नै किन्नुपर्छ । न्याय पाउन गोरखा नै जानुपर्छ भने झैं ।

 

४–५ महिनादेखि यी ३ सेक्टर मात्र चलेपछि साना र नयाँ लगानीकर्ता भुलभुलैयामा पर्ने भइहाले । यो के भएको ? उत्तर सहज छ । बैंकबाट ऋण लियो अनी सस्ता र थोरै कित्ता सेयर भएका सेक्टर च्याप्यो, मूल्य उचाल्यो अनि साना लगानीकर्तालाई भिरायो । फेरि एकाध हप्ता पछि उही खेल शुरु गर्यो ।

 

बैंक सस्ता छन् । तर बजारमा सेयर संख्या र आपूर्ति धेरैै छ । बीमा र माइक्रोफाइनान्स कम्पनीहरूको पनि सेयर संख्या थोरै छ । तर यी सेक्टरका कम्पनीहरूको सेयर मूल्य उच्च छ ।

 

त्यसैले बैंकको ऋण लिएर र एकाध दर्जन मानिसहरूको समूह बनाएर बजार ‘म्यानुपुलेट’ गर्नेहरूको लागि विकास बैंक, फाइनान्स र हाइड्रो रोजाइमा परेका छन् ।

 

यिनीहरूको यस्तो क्रियाकलापको निगरानी माथि भने झैं नियामकले गर्नुपर्ने हो । तर, नियामक निकायका उच्च नेतृत्व आफ्नै छोरी र श्रीमतीका नाममा धन थुपार्न व्यस्त रहेको कुरा माथि नै भनियो । त्यसैले बजार म्यानुफुलेटरहरू खुल्ला साँढे जस्ता भएका छन् ।

 

यसको दीर्घकालीन असर बजारमा पर्छ । यो बजार पुँजी एकत्रित गर्ने र मुलुकको अर्थतन्त्रलाई टेको दिने प्रभावकारी बजारको रुपमा विकास हुन सक्दैन । बैंकको पैसामा पहुँच हुनेहरूले लोभ र सपनाको व्यापार गर्ने र जुवाको खाल बन्ने दिशातर्फ अग्रसर हुँदैछ यो बजार ।

 

मुलुकका सबै क्षेत्रका प्रबुद्ध वर्गहरू माझ यो बजारले स्वीकार्यता प्राप्त गर्न सक्दैन, यस्तै पारा हो भने । यो विचार गर्नुपर्ने हो सेयर बजारका ‘नेता’हरूले । तर यी नेताहरूको काम बजार घटे अनशन बस्ने, बढे थपडी बजाउने बाहेक केही देखिएको छैन । आफ्नो क्षेत्रको इज्जत बढाउने आफैंले हो । उनीहरूलाई यसको वास्ता छैन ।

 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक जनाले एउटा संस्थाबाट बढीमा ४ र कुल १२ करोड रुपैयाँभन्दा बढी सेयर कर्जा लिन नपाउने व्यवस्था गरेको छ । सैद्धान्तिक रुपमा यो हावादारी नीति हो । मानिसले आफ्नो हैसियत अनुसार कर्जा लिन पाउनुपर्छ । सेयर बजारका ‘नेता’हरू यसको वकालत पनि गर्दैछन् ।

 

तर, १२ करोड रुपैयाँभन्दा बढी कर्जा किन चाहियो ? ग्याङ बनाएर झण्डुमार कम्पनीहरूको सेयर किनेर सर्वसाधारणलाई ‘टोपी’ लगाइदिनलाई ? भनेर कसैले प्रश्न गर्यो भने ठूला भनिने लगानीकर्ताहरू र ‘नेता’हरूले के जवाफ देलान् ?

 

महासंघद्धारा ‘५० स्टार्टअप-५० लगानीकर्ता’ कार्यक्रमको आवेदन पुनः सुचारू Read Previous

महासंघद्धारा ‘५० स्टार्टअप-५० लगानीकर्ता’ कार्यक्रमको आवेदन पुनः सुचारू

भायानेटको पर्पल प्याक अफर : इन्टरनेट जोड्दा टीभी प्याकेज र एनसेलको ४८ जीबी डेटा सित्तैमा Read Next

भायानेटको पर्पल प्याक अफर : इन्टरनेट जोड्दा टीभी प्याकेज र एनसेलको ४८ जीबी डेटा सित्तैमा