नारामा मात्रै ‘मेड इन नेपाल’, व्यवहारिक ‘कठिनाइ’ बारे छैन चर्चा !

काठमाडौं । नेपालको कर्पोरेट क्षेत्रमा परिचित एकजना व्यवसायीले हालै एक पोडकास्टमा नेपालीहरूले नेपालमै उत्पादन भएका उपभोग्य वस्तुहरूको उपभोग गर्नुपर्ने र यसका लागि उनीहरूले आफ्नो सोच र दृष्टिकोणमा परिर्वतन ल्याउनु पर्ने विचार व्यक्त गरेका थिए ।

 

उनले उक्त विचार व्यक्त गर्ने क्रममा अघि सारेका उदाहरण नेपाली समाजको धरातलीय यथार्थसँग अलिक अमिल्दो देखिएका कारण उनी सामाजिक सञ्जालमा हाँसोका पात्र पनि बनेका थिए । उनको अभिव्यक्तिको शैली पनि अलिक रमाइलै थियो ।

 

अहिलेको विश्वमा जुन खाले अर्थ-राजनीतिक विचारले हैकम चलाएको छ त्यस्तो अवस्थामा नेपाल जस्तो सानो कमजोर मुलुकले आफैं उत्पादन गर्ने, उपभोग गर्ने र सके निर्यात पनि गर्ने भन्ने विषय त्यति सजिलो छैन ।

 

नेपालीहरूले नेपालमै बनेको सामानहरू उपभोग गर्नुपर्ने र यसले नेपालको आर्थिक विकासमा सहयोग पुर्याउन सक्ने भन्ने विषय माथि उल्लेखित व्यवसायीले मात्र उठान गरेका होइनन् । नेपालको आर्थिक क्षेत्रमा र विभिन्न खाले डबलीहरूमा यो विषय तारन्तार उठ्ने नै गरेको छ । र, यसका लागि उपभोक्ताहरूले आफ्नो उपभोग्य चरित्रमा र आफ्नो सोचमा परिर्वतन ल्याउनुपर्ने भन्ने विचार पनि नौलो होइन । ‘स्वदेशी सामानलाइ माया गरौं, प्रयोग गरौं’ भन्ने जस्ता नाराहरू पनि बजार चलिनै रहन्छन् बेलामौकामा ।

 

यद्यपि, यो त्यति सहज विषय भने होइन । अमेरिका लगायत अन्य ठूला र धनी पश्चिमा मुलुकहरूले नेतृत्व गरेको अहिलेको विश्वमा नव–उदारवाद भन्ने विचार हाबी छ । यो विचार मूल रूपमा बजार केन्द्रित विचार हो र यसले बजारलाई नै सर्वोपरि मान्छ । विश्वमा व्याप्त रहेका अधिकांश समस्याहरू बजार आफैंले हल गर्न सक्छ भन्ने यो विचारको प्रमुख मान्यता हो । यही विचार केन्द्रित भूमण्डलीकरण अहिले विश्वमा व्याप्त छ । भूमण्डलीकरणले विश्वलाई एउटा ठूलो बजारको रूपमा हेर्छ ।

 

यसै दृष्टिकोणका आधारमा नेपाल पनि एउटा सानो बजार हो । विश्वका ठूला उत्पादक मुलुकहरूको एउटा सानो बजार हो नेपाल । विश्व व्यापार संगठनको सदस्य राष्ट्र भएका कारण आयात र निर्यातको सन्दर्भमा नेपाल आफैंले निर्णय गर्न सक्ने दायराहरू पनि निकै साँघुरा छन् ।

 

नेपालको सन्दर्भमा अझ विशिष्ट अवस्था के छ भने नेपाल दुई ठूला र शक्तिशाली उत्पादक राष्ट्रहरूबाट घेरिएको छ । उनीहरूको उत्पादन शक्ति पूँजी र प्रविधिको दृष्टिकोणले नेपालको भन्दा धेरै गुणा बलशाली छ । उनीहरूको उत्पादन लागत पनि सस्तो छ । अधिकांश उपभोग्य वस्तुहरू आफैं उत्पादन गर्नुभन्दा उनीहरूको बाटै किनेर ल्याएर उपभोग गर्न सहज हुने अवस्था छ ।

 

यहाँ भन्न खोजिएको कुरा के हो भने अहिलेको विश्वमा जुन खाले अर्थ–राजनीतिक विचारले हैकम चलाएको छ त्यस्तो अवस्थामा नेपाल जस्तो सानो र कमजोर मुलुकले आफैं उत्पादन गर्ने, उपभोग गर्ने र सके निर्यात पनि गर्ने भन्ने विषय त्यति सजिलो छैन ।

 

दोस्रो विषय पनि महत्वपूर्ण छ । नेपालको आर्थिक संरचना उत्पादनमैत्री छैन । मुलुकका ठूला व्यवसायीक घरानाहरू व्यापारमा नै केन्द्रित रहेका छन् । उत्पादन मुलक कामको लागि कर्जा पाउन त्यति सजिलो छैन जति व्यापारको लागि छ । सेयर, घरजग्गा र गाडीको लागि त झन् ऋण लिन सजिलो छ ।

 

कमसेकम आफ्ना लागि खान पुग्ने खाद्य वस्तुहरू र केही आधारभूत आवश्यकताका सामानहरू उत्पादन गर्न सकिँदो हो । तर, यसमा पनि राज्यले ध्यान दिन सकेको छैन । व्यवसायिक कृषि र लघुउद्यमहरू राज्यले राम्रोसँग प्रर्बद्धन गर्न सकेको छैन । वित्तीय पहुँचको अवस्था नाजुक छ । जसले सबैभन्दा धेरै कृषिकर्म गर्छन् उनीहरूसँगै झन् जमिनको स्वामित्व नहुने समस्या छ । कृषिको लागि र अन्य व्यवसायिक प्रयोजनका लागि जमिनको वर्गीकरण पनि प्रभावकारी ढंगले गर्न सकिएको छैन ।

 

नेपालको आर्थिक संरचना उत्पादनमैत्री छैन । मुलुकका ठूला व्यवसायीक घरानाहरू व्यापारमा नै केन्द्रित रहेका छन् । उत्पादन मुलुक कामको लागि कर्जा पाउन त्यति सजिलो छैन जति व्यापारको लागि छ । सेयर, घरजग्गा र गाडीको लागि त झन् ऋण लिन सजिलो छ ।

 

यहाँ भन्न खोजिएको मुख्य कुरा के हो भने नेपालले केही बाह्य कारणले गर्दा केही आफ्नै आन्तरिक संरचनागत समस्याका कारणले गर्दा आफैं उपभोग्य वस्तुहरूको उत्पादन गर्न र तिनको उपभोग गर्न त्यति सजिलो छैन । यो हल्लाफुल्का ढंगले व्यक्तिको रुची, सोच र दृष्टिकोणको आधारमा मात्र बुझ्ने विषय होइन ।

 

तर, यसो भन्दै गर्दा नेपालले अहिलेकै जस्तो सम्पूर्ण वस्तुहरूको आयात गर्नैपर्छ र नेपालको व्यापार घाटा सुधार्ने कुनै उपाय नै छैन भन्ने चाहिँ पक्कै पनि होइन ।

 

अहिलेको विश्व निकै जटिल छ । मानिसहरूका आवश्यकताहरूको कुनै सीमा छैन । समाजहरू जटिल भएका छन् । अहिलेको विश्वको अवस्था कस्तो छ भने आफूलाई चाहिने सबै उपभोग्य वस्तुहरू सबै आफैंले कसैले पनि उत्पादन गर्न नसक्ने अवस्था छ । त्यसैले कुनै एउटा सामानमा एउटाको ‘एक्पर्टिज’ हुन्छ भने अर्कोमा अर्कैको ।

 

नेपालले एउटा राज्यको रूपमा गर्नुपर्ने काम भनेको यही हो । अर्थात्, आफ्नो प्रतिस्पर्धात्मक क्षमता भएको वस्तु वा सेवा आफ्ना लागि र निर्यात प्रयोजनका लागि उत्पादन गर्ने प्रयास गर्ने । सबै वस्तुहरू आफैं उत्पादन गर्ने भनेर हावादारी गफ नगर्ने । नीतिगत छलाङहरू लगाउने र राष्ट्रिय अभियान चलाउने ।

 

उदाहरणको लागि नेपालले बिजुली बेच्न सक्ला । वा, ठूला चिनियाँ र भारतीय उत्पादकहरूलाई उनीहरूको उत्पादनमा प्रयोग हुने कुनै साना पार्टपुर्जाहरूको उत्पादन गर्न सक्ला । अथवा एकाध ठूला कम्पनीहरूलाई नेपालमा कारखाना खोल्न प्रेरित पनि गर्न सक्ला । युवाहरूलाई कृषि कर्ममा आकर्षित गरेर र त्यसका लागि चाहिँदो पूँजीको व्यवस्था गरिदिएर आफ्नो लागि खाद्य सामग्रीहरू आफैं उत्पादन गर्ने नीति अवलम्बन गर्न पनि सकिएला ।

 

सेवाको कुरा गर्दा नेपालको पर्यटनलाई बहुआयामिक र प्रभावकारी ढंगले प्रर्बद्धन गर्न सकिएला । ठूला बहुराष्ट्रिय कम्पनीहरूको कम्तीमा ‘कल सेन्टर’ यहाँ खोल्न प्रेरित गरेर रोजगारी सृजना गर्ने प्रयास पनि गर्न नसकिने होइन ।

 

यी सबै कामहरू गर्नका लागि आफ्नो प्रतिस्पर्धात्मक क्षमता चिन्नुपर्छ र व्यापक जनसहभागीताको पनि आवश्यकता पर्छ । नीतिगत छलाङहरू लगाउनु पर्छ र नेतृत्वको इच्छाशक्तिको पनि आवश्यकता पर्छ ।

 

होइन भने ‘राष्ट्रवादी बनौं’, ‘देशलाई माया गरौं’, ‘स्वदेशी उत्पादनहरूको प्रयोग गरौं’ भन्ने खाले नारा लगाउँदै बसे हुन्छ । तर पक्का कुरा के हो भने यस्ता नाराले केही पनि सकारात्मक नतिजा दिँदैनन् । बरु उदाहरण कमशल पर्दा उल्टो हाँसोको पात्र बनिने जोखिम अधिक हुन्छ ।

 

मानिस विवेकशील प्राणी हो । उसले आफ्नो क्षमता, आवश्यकता र रुचीका आधारमा उपभोग्य वस्तुहरूको छनौट गर्छ । देशको आर्थिक विकासका खातिर होइन ।

 

नेप्सेको वर्गीकरण :  ‘ए’ समूहमा जम्मा २८ कम्पनी, अधिकांश 'जेड' समूहमा (नामसहित) Read Previous

नेप्सेको वर्गीकरण : ‘ए’ समूहमा जम्मा २८ कम्पनी, अधिकांश 'जेड' समूहमा (नामसहित)

इम्बोस्ड नम्बर प्लेट : चर्चा धेरै काम अति थोरै, अहिलेसम्म कतिले गरे जडान ? Read Next

इम्बोस्ड नम्बर प्लेट : चर्चा धेरै काम अति थोरै, अहिलेसम्म कतिले गरे जडान ?