काठमाडौं । गत आर्थिक वर्षमा सबैभन्दा धेरै नाफा कमाउने वाणिज्य बैंक बनेको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई पनि सहायक कम्पनी खोलेर धितोपत्र दलाल (ब्रोकर)को काम गर्न बाटो खुल्ला भएको छ ।
बैंकको बिहीबार सम्पन्न विशेष साधारण सभाले सहायक कम्पनी खोलेर धितोपत्र दलालको काम गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको हो । यसैगरी, धितोपत्र व्यापारी तथा बजार निर्माताको काम गर्न पनि साधारण सभाले अनुमति दिएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने प्रस्ताव प्रस्तुत गर्दै बैंकले विभिन्न सहायक कम्पनी मार्फत व्यवसाय गरी आर्थिक सवलीकरणमा सहयोग पुर्याउने बताएका थिए।
बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले १ खर्व ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४४ अर्व रुपैयाँ ऋण प्रवाह गरेको छ।
बैंकले हाल देशका सातै प्रदेशका ७७ जिल्लामा रहेका २२२ वटा शाखा कार्यालय, १७८ वटा एटिएम, ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ।