काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । आज बिहान ९ बजे सेयर निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टमा आइपीओ बाँडफाँट भएको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट ३६ हजार ८५९ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने तीमध्ये भाग्यमानी ३ जनाले थप एकएक कित्ता अर्थात ११ कित्ता सेयर पाएका छन्।
कम्पनीको आइपीओमा आवेदन दिएका २३ लाख १७ हजार ९२५ जनाको भने हात रित्तो भएको क्यापिटलले जनाएको छ ।
लघुवित्तले साउन २७ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।
जसमा २३ लाख ६१ हजार ८२७ जनाले २ करोड ९६ लाख ५५ हजार ४६० कित्ताका लागि आवेदन दिएका थिए । सोमध्ये ७ हजार ४३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
हाल ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशनपछि चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टको वेबसाइट र मानुषी लघुवित्त वेबसाइटबाट पनि नतिजा हेर्न पाइनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।