काठमाडौं । गत वैशाख ४ मा हावाहुरीले चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशूली नदीमा माथिको निर्माणाधीन पुल भत्कायो । यस्तै, जेठ १३ मा वर्षायाम शुरु नहुँदै सुनकोशीमा आएको सामान्य बाढीले ओखलढुंगाको पलालु र सिन्धुलीको नवलपुरघाट जोड्ने निर्माणाधीन पुल बगायो ।
वर्षायाम शुरु भएसँगै आएको बाढीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित चीन जोड्ने तातोपानी नाकाको लिपिङ पुल (घट्टेखोला पुल), सिन्धुपाल्चोककै मेलम्चीमा आएको बाढीले मेलम्ची पुल, हेलम्बु पुल, मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको चामे पुल, धनुषा र सिरहा जोड्ने कमला नदी पुल लगायत निर्माण पूरा भएका १ दर्जन पुल भत्कायो ।
पुल महाशाखाका तथ्यांक अधिकारी विमल बस्नेतका अनुसार वैशाख यता मात्रै ११ वटा निर्माणाधीन र १० वटा निर्माण सम्पन्न भएका गरी २१ वटा पुल भत्किएका छन् । ती पुलहरू भत्किँदा २ अर्बभन्दा बढीको क्षति भएको उनले बताए ।
यी त केही प्रतिनिधि घटना मात्र हुन् । वैशाख यता हावाहुरी र बाढी पहिरोका कारण निर्माणाधीन र निर्माण सम्पन्न भएका गरी झन्डै दुई दर्जन सडक पुल पूर्णरुपमा भत्किएका छन् । सडक विभागले पुल महाशाखाका अनुसार पछिल्लो ४ महिनामा मात्रै २१ वटा पुल भत्किएका छन् ।
पुल महाशाखाका तथ्यांक अधिकारी विमल बस्नेतले ११ वटा निर्माणाधीन र १० वटा निर्माण सम्पन्न भएका सडक पुल भत्किएको जानकारी दिए । ती पुलहरू भत्किँदा २ अर्बभन्दा बढीको क्षति भएको उनले बताए ।
सडक विभागको मातहतमा रहेका २१ पुल र स्थानीय र प्रदेशको मातहतमा रहेका अन्य पुलहरू पनि भत्किएको उनले बताए । विशेष गरी बाढीले पहाडी जिल्लामा निर्माण पूरा भएका र तराई क्षेत्रमा निर्माणाधीन पुलहरू भत्काएको उनले बताए ।
४ महिनाकै अवधिमा करिब २ दर्जन पुल भत्किएपछि विज्ञहरुले कतै पुलको डिजाइन वा निर्माणमै त्रुटी त छैन भन्ने शंकासमेत उब्जाएका छन् । यस्तै, कतै ठेकेदारको हेलचेक्र्याँइ वा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोगको परिणाम त होइन भन्ने प्रश्न पनि उठेको छ । केहीले भने आँकलन गरिएकोभन्दा ठूलो प्राकृतिक विपत्तिका कारण पनि पुलहरुमा क्षति पुगेको बताउँछन् ।
आखिर किन भत्किन्छन् त करोडौं खर्चिएर बनाएका पुल ?
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले यसपालि अनुमान गरेकोभन्दा ठूलो बाढीपहिरो आएकाले धेरै पुलहरूमा क्षति पुगेको बताए । उनले यसवर्ष पछिल्लो ३ दशक यताकै धेरै पानी पर्दा अनुमानभन्दा ठूलो बाढीपहिरो आएकाले पुलहरु भत्किएको बताए ।
‘५ वर्ष अघिदेखि मौसममा अस्वभाविक परिवर्तन हुन थालेको छ, ग्लोबल वार्मिङको असर देखिँदैछ । जसले हामीले गर्ने पूर्वानुमानभन्दा धेरै फरक परिणाम आइरहेको छ,’ शर्माले चाणक्य पोष्टसँग भने ।

पछिल्लो समय पुलको उचाइ बढाएर निर्माण गर्दासमेत बाढीले बगाउने गरेको उनले बताए । ‘५ वर्षअघि त्यसलाई मध्येनजर गरी पुलहरूलाई हाइप्लटको उचाइलाई ५० सेन्टिमिटर उठाउने निर्णय गर्यौं । र अहिले बन्न थालेका पुलहरू पहिलाकोभन्दा ५० सेन्टिमिटर अग्लो बनाउन थालियो । पुल बनाउँदा फ्री बोर्ड राख्ने गरिन्छ जुन विगतमा ५० सेन्टिमिटर मात्र थियो अहिले थप ५० सेन्टिमिटर थपेर १ मिटर पुर्याइएको छ । ५ वर्ष अघि ५० सेन्टिमिटर बढाएर टेक्निीकल्ली सच्याइँयो ।’
यत्रो तयारी बाबजूद पनि यसपालि बाढी पहिरोले धेरै पुल बगाएको छ । शर्माले यसपालि वर्षाको प्याटन नै परिवर्तन भएको बताए । उनले उदाहरण दिँदै भने ‘पहिले हिमाल पारी पानी पर्दैनथ्यो, त्यहाँ हिउँदमा हिउँ पर्थ्यो वर्षामा पानी नै पर्दैन्थ्यो । तर, मनाङ, मुस्ताङमा यसपालि पानी परेर त्यहाँ ठूलो बाढी आयो ।’
अर्को तर्फ मेलम्चीको बाढीको कुरा गर्ने हेर्ने हो भने २०१५ को भूकम्पले सबै ठाउँमा चिरा परी मुख खुल्ला भएको हुन सक्ने उनले बताए ।
‘मेलम्चीमा पहिले नै भूकम्पले चिरा परेको थियो कि थाहा छैन, त्यो कसैले अध्ययन गरेनन्, सडक विभागले पुल बनाउदा अध्ययन गर्ने भनेको ५० मिटरदेखि २ सय मिटर परसम्म गएर हेर्ने हो । जब की त्यो खोला शुरू हुन्छ पचासौं किलोमिटरबाट,’ शर्माले भने त्यो खोलामा आउने स–साना खोलाहरू धेरै हुन्छन् । ती ठाउँमा भुकम्पले पारेको चिरा परेको हुनुपर्छ र बाढी आउँदा त्यो खोलाले त्यो लेदो समेत बगायो ।’
खोलाको लेदो बगाएर आउँदा लेदोले गर्दा खोलाको सतह नै बढाइदियो र माटो धेरै ल्यायो । उक्त खोलाको बेड नै माथि गएपछि पानी जाने ठाउँ नहुँदा पुल समेत बगाएको हो । मेलम्चीको केस सबै धेरै माटो आए, खोलाको बेस (सतह) बढ्यो र जुन ठाउँबाट पानी जाने हो त्यो हाइटबाट जान सकेन, र त्यसले पुल समेतलाई धकालेर बगायो ।
त्यसो त तराईक्षेत्रमा जग नै भासियर पुल भत्किएका थिए । खोलाको लेदो पानी बग्दै जादा तराईसम्म पुग्दा खोला बांगिदा (मेन्डर) एकठाउँमा लेदो छोड्दै गएको थियो । उनले तराईतर्फ १० वटा पायर पिल्लर पुलको पानी त्रियुगा नदीमा ८ वटाबाट बग्न नसकेर त्यो त्यहाँ थुप्रिएको २ वटा ओपनीङबाट भएभरको पानी बग्दा भासिन गएको बताए ।
‘हामीले त्यो पानी १० वटा ओपनीङबाट फैलिएर जान्छ भनेर हिसाब गरेको थियाँै तर, २ वटाबाट मात्र चरम बाढीको पानी बग्यो, जसले पिलरको जगलाई खोतालेर त्यहीँ भासियो,’ शर्माले भने ।
उनले बाढीले पुल भत्किनुका कारण ‘डिजाइन फेलियर’भन्दा पनि अबको समयमा यस्तो पनि हुन्छ भनेर पाठ सिकाएको बताए । विगतमा खासै नभएको घटन यसपालि भएको उनले बताए ।
यता, केही पुल भत्किनुमा भने ठेकेदारको लापारबाही र गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग हुन लगायत कारण पनि रहेको पाइन्छ । इन्जिनीयर तथा ठेकेदार सुनिल चौधरी अपवादमा कुन पुलमा हेलचेक्र्याइँका कारण भत्किएको पाइए पनि अधिकांश पुलहरु भवितव्य (आकष्मिक दुर्घटना)का कारण भत्किएको बताउँछन् ।
‘ठेकेदारले शतप्रतिशत मापदण्ड बमोजिम नै निर्माण गरेका छन् भन्ने त होइन । केहीले कतै बदमासी पनि गरेका होलान, ’ चौधरीले चाणक्य पोष्टसँग भने, ‘तर पछिल्लो समय जुन संख्यामा पुलहरु भत्किएका छन्, त्यसको मुख्य कारण हामीले आँकलन गरेकोभन्दा ठूलो प्राकृतिक विपत्ति नै रहेको देखिन्छ ।’
नयाँ प्रविधिमा बन्दै पुल
पछिल्लो समय पुल निर्माणको प्रविधि परिवर्तन हुँदै आएको छ । विगतमा ढलान गरेर सीधै पुल बनाइन्थ्यो भने अहिले कंक्रिटिङ गरेर प्वाल बनाई त्यसमा स्टिलको मुट्ठा राख्ने गरिन्छ । विगतमा डन्डी राख्ने गरिन्थ्यो । त्यसलाई प्रि–स्ट्रेस कंक्रिट भनिन्छ । कंक्रिको पुल बनाउँदा २५ मिटरभन्दा लामो भयो भने यसरी बनाउने गरिन्छ ३०र४० मिटरका पुल चाहिँ हामी प्रि–स्ट्रेस कंक्रिट हालेर बनाइन्छ ।
शुरूमा टेका लगाएर ढलान गरेको प्रि–स्ट्रेस (यानी स्टिलका साना मुट्ठा) १४ दिन नभई निकाल्न पाइँदैन । १४ दिनपछि त्यो मुट्ठा एक पटक तान्नु पर्छ र दोस्रो पटक २८ दिन पछि फुल तानेर निकालिन्छ । ढलानको २८ दिनपछि लोड सबै मुट्ठाले लिन्छ र त्यो निकाल्दा पनि दह्रो भएर पुल बस्छ तर, यो वर्ष जेठको ३१ मानै पानी पर्न थाल्यो । उनीहरूले ढलान गरेर राखेको मुट्ठा २८ दिनपछि मात्र निकालिने हुँदा कतिपय १४ दिन नपुग्दै बाढीले बगाएको थियो भने कतिपय ढलान गरेको एक सातामै बाढीपहिरोले बगाएका थिए ।
सहसचिव शर्माले निर्माणगर्दा समय अवधिभित्र राख्न नसक्दा पुलले लोड थाम्न नसकेर, टेका बगाएको बताए । ‘यसरी बन्दै गरेका पुलहरू पनि ४/५ वटा बगाए, त्यो स्ट्रेस हुनै पाएको थिएन,’ उनले भने । उनले डेडगाउँको पुल, रुकुमको पुल, त्रिशूलीको पुलहरू त्यसरी बगाएको बताए ।
स्टिलको ट्रस हालेर बनाइने फलामे पुलहरू पनि केही भत्किएका थिए । उनले त्यसमा ‘स्टेपवाइज ’ नटबोल्ट कस्दै जानु पर्ने हुँदा त्यस अघि फिट गर्नुपर्ने हुँदा काम पूरा नहुँदै केही पुल बगाएको बताए । ‘एकै चोटी सबै नटबोल्ट कस्न मिल्दैन, सबै मिलाएर एकरएक गरी नटबोल्ट कस्दै जानुपर्छ, त्यसमा पहिला फिट गर्ने अनि दाँयाको नट बोल्ट कसेपछि फेरि परको नट कस्न जानु पर्छ, यसरी गर्दा एकपटि मात्र नट कसिएका बाढीले सजिलै बगाएका हुन् ।
कुनै भर्खर फिट मात्र गरिएका पुलहरू पानीको वाहवका कारण हावाले समेत बगाए । ८ मिटरमा बन्ने यस्ता पुलहरू एउटा र अर्को गर्दै नट कस्नु पर्ने र फिट गरेर नटबोल्ट नकस्दै खोलाको करिडोरमा हावाको बेग बढी भएर ढलेका छन् । ‘मान्छेहरू कमशल निर्माण भनेर उडाउँछन् । हावाले ढल्ने पुल पनि कस्तो बनाको भनेर टिप्णी गर्छन । तर, त्यसले स्ट्रेन्थ पकडेको हुँदैन । हावाले धक्का दिएपछि एउटा पार्टलाई धकाल्दा अर्को पार्टबाट नट फुस्किन्छ । बोल्ट कसिसकेको हुँदैन अनि एक/एक गरी बटारिएर त्यो ढल्छ,’ शर्माले भने ।
इन्जिनीयर चौधरी कंक्रिटको पुलहरू पछिल्लो समय नयाँ प्रविधिको बन्ने क्रममा रहेको बताउँछन् । विगतमा २५ मिटरभन्दा बढी लामो पुल बनाउन सकिँदैन्थ्यो । तर, अहिले विश्व भरिनै नयाँ प्रविधिको पुल विकास हुँदै आएको छ । नयाँ प्रविधिले बनेका पुलहरू ३०र५० मिटर फरकमा बनाउन थालियो त्यो गर्दा हेबि कंक्रिट ढलान गरेर राख्नु पर्ने उनले बताए ।
नयाँ प्रविधि अपनाउँदै गर्दा त्यसलाई नेपालको भौगोलिक स्थितिले पनि समस्या सृजना गरेको उनको भनाइ छ । उनले निर्माण कम्पनीले बीमा गरेका हुँदा १०र२० प्रतिशत बाहेक अन्य बीमा कम्पनीले समेत बेहोर्ने बताए । ‘यो पटक बाढीले भत्केका पुलहरू नबन्ने नै भन्ने हुँदैन तर, अलि निर्माण समय बढ्छ,’ चौधरीले भने ।